डिल्ली शाही ,कोहलपुर, २७ मंसिर / कोहलपुर नगरपालिका वडा नम्बर ११ को वडा कार्यालयले वडाको सरसफाईलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने निर्णय गरेको छ । मंगलबार वडा कार्यालयमा वडा अध्यक्ष कर्ण बहादुर थापाको अध्यक्षतामा बसेको वडा समितिको बैठकले कोहलपुर नगरपालिकाको वडा नम्बर ११ कोहलपुर नगरपालिकाको मुटु र सिङ्गो पश्चिम नेपालकै प्रवेशद्वारको रुपमा रहेको वडा भएकाले यस वडालाई विशेष महत्वका साथ सरसफाई गरिने निर्णय गरेको अध्यक्ष थापाले बताए ।
वडाको क्षेत्र भित्र रहेका फ्रेसहाउस, मासु पसल , बाटोमा राखिएका फलफूल पसल, ठेला व्यवसायी लगायतले उत्पादन गरेका फोहरलाई कडाइका साथ व्यवस्थापन गर्न सर्वप्रथम ती व्यवसायीहरुलाई एक÷दुई दिन भित्रै वडा कार्यालयमा बोलाई फलछल गरिने र उनीहरुको रायसुझाव समेत सुनी कडाइपूर्वक कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
साथै ११ नम्बर वडामा रहेका सम्पूर्ण गैरसरकारी संघसंस्था ,उद्योग, सहकारी लगायतलाई वडा कार्यालयमा सूचिकृत हुन सार्वजनिक सूचना जारी गर्ने तथा वडा कार्यालयमा सूचिकृत नगरी आफू खुशी कार्याक्रमहरु सञ्चालन गर्ने संस्थाहरुलाई कडाका साथ नियन्त्रण गर्ने समेत निर्णय गरेको अध्यक्ष थापाले जानकारी दिए ।
त्यस्तै बैठकले वडामा मूख्य बजार क्षेत्र रहेकाले बजारलाई सफा राख्न व्यापारीहरुको संस्था कोहलपुर उद्योग वाणिज्य संघसँग पनि छलफल गरी कार्यान्वयन गराउने निर्णय गरेको छ ।
प्रकाशित मिति : २०७४ मंसिर २७ गते बुधबार









प्रतिक्रिया दिनुहोस्