नेपाल संघीय समाजवादी पार्टी उम्मेदवार मिश्र एमालेमा प्रवेश



नेपालगञ्ज, १७ मंसीर/  नेपाल संघीय समाजवादी पार्टीका उम्मेदवार नेकपा एमालेमा प्रवेश गरेका छन् । बाँके क्षेत्र नं. २ प्रदेश सभा ‘क’ की उम्मेदवार रेखादेवी मिश्र एमालेमा प्रवेश गरेकी हुन ।

चुनाव प्रचार प्रसारमा सक्रिय रहेकी मिश्रले पार्टीको रणनीति र नेताहरुको व्यवहार मन नपरेका कारण पार्टी परित्याग गरेको घोषणा गरिन् । नेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य दिनेशचन्द्र यादव, जिल्ला पार्टी अध्यक्ष अशोक कोइराला, सचिव रत्न खत्री, जिल्ला सदस्य एवं प्रचार विभाग प्रमुख किस्मतकुमार कक्षपति, रविन्द्र लम्साललगायतका नेताले अबिर लगाएर मिश्रलाई पार्टी प्रवेश गराएका थिए ।

जिल्ला अध्यक्ष कोइरालाले मिश्रलाई एमालेको सदस्यता प्रदान गरे । पार्टी प्रवेश पश्चात मिश्राले ‘म उम्मेदवार भएर आफ्नो प्रचार प्रसारमा निस्किए । पार्टीकै नेताहरु अर्को पार्टीको उम्मेदवारको पछि लागेको देखियो, जब पार्टीको रणनीति र नेताहरुको व्यवहार राम्रो छैन भने त्यस्तो पार्टीमा बस्नुको औचित्य नरहेको भन्दै मिश्रले देशमा वामपन्थीको स्थायी सरकार बन्ने निश्चित नै भएकाले जिल्लाको विकासमा हातेमालो गर्न आफू एमालेमा प्रवेश गरेको बताइन् ’।

एमालेका बैकल्पिक केन्द्रीय सदस्य यादवले अरु पार्टीका उम्मेदवार नै आफ्नो पार्टीमा प्रवेश गर्नु शुभलक्षण भएको बताउदै उनले े पार्टीको विधि पद्धति अनुरुप मिश्रलाई व्यवस्थापन गरिने आश्वस्त पारे ।

जिल्ला अध्यक्ष कोइरालाले वामगठबन्धनले देशको विकास गर्छ भन्नेमा आम जनता सचेत हुँदै गएको बताए । ‘अहिले वामगठबन्धनको लहर नै छ । देशको माहोलले पनि दुई तिहाई जित्ने लक्षण देखाएको छ, कोइरालाले भने, अब देशको विकास वामगठबन्धनले गर्छ ।’

मिश्रसँगै एक दर्जन बढी नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरुमा पिछडा वर्ग संघका अध्यक्ष राधेश्याम मौर्य, नरेश सिंह, मोहन सिंह, रमेश सिंह, प्रल्हाद कोरी, गितादेवी कनौजिया, अन्नुदेवी खटिक, रिनादेवी खटिक, कवुतरादेवी, खटिक, केशरानी रैदास, गोविन्द सिंह, राम बौर्य, लोकेन्द्र वोगटी, लिलावती धोवी लगायत रहेका छन् ।

यसैबीच, चुनावको मिति नजिकिदै गर्दा उम्मेदवारलाई भ्याइनभ्याई भएको छ । उम्मेदवारहरु टोलटोलका कोण सभा र विशेष–विशेष ठाउँमा घरदैलो गरिहेका छन् । मौन अवधि शुरु हुन केही एक दुई दिन मात्र बाँकी रहेकाले सबै पार्टीका उम्मेदवारहरुको प्रचार प्रसार अन्तिम चरणमा पुगेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर १७ गते आइतबार