रावन बिश्वकर्मा : बर्दिया, १५ मंसिर/ बर्दियाका आम सञ्चार माध्यमलाई निर्वाचनलाई सफल बनाउन सहयोगी भूमिका निर्भाह गर्न आग्रह गरिएको छ ।
बर्दियाका सञ्चारकर्मीहरुसँग शुक्रबार गुलरियामा भएको आम सञ्चार र पत्रकार आचार संहिता सम्बन्धी मिडिया संवाद कार्यक्रममा बोल्ने वक्ताहरुले यही मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन राष्ट्रिय निर्वाचन भएकाले निर्वाचनलाई सफल पार्न सहयोगी भूमिका निर्वाह गर्न सञ्चारकर्मीहरुलार्ई आग्रह गरेका छन् ।
कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका सदस्य खिलबहादुर भण्डारीले निर्वाचन आयोग र पत्रकारको आचार संहितामा रही सामाचार सम्प्रेषन गर्न सहभागी सञ्चारकर्मीहरुलाई आग्रह गरे । उनले राजनितिक मुदालाई भन्दा विकास र आर्थिक समृद्धिका मुद्धालाई उठान गर्नु पर्ने कुरामा जोड दिए ।
त्यस्तै कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासँघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले नेपालमा पत्रकारहरुको सुरक्षाको जोखिम यथावत रहेकाले कुनै राजनीतिक आग्रह पूर्वाग्रहमा नभई पत्रकार आचार संहिता भित्र रहेर पत्रकारिता गरे सुरक्षित हुन सक्ने बताए ।
नेपाल पत्रकार महासँघ बर्दिया शाखाका अध्यक्ष राजेन्द्र प्रसाद धितालको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासँघ बर्दिया शाखाका पुर्व अध्यक्ष तथा गैर सरकारी संस्था महासँघ बर्दियाका अध्यक्ष बिष्णु प्रसाद तिमेल्सेना, पत्रकार महासँघ मलेसिया शाखाका प्रमुख रमेश तिवारी लगायत विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्