कोहलपुरमा ९औं क्रिसा खेलकुद महोत्सव शुरु



भीम रावत : कोहलपुर, १५ मंसिर/  कोहलपुर क्षेत्रमा रहेका निजी स्तरका विद्यालयहरुको संगठन क्रिसाको आयोजनामा ९औं क्रिसा खेलकुद महोत्सव शुक्रबार देखि कोहलपुर नगरपालिकाको तेह्र विगाह मैदानमा शुरु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले महोत्सवको उद्घाटन गर्दै कोहलपुरलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा चिनाउन खेलकुद क्षेत्रबाट महत्वपूर्ण काम भएको र त्यो काम क्रिसाले आयोजना गर्ने खेलकुद प्रतियोगिताहरुबाट क्षमता विकास भएका खेलाडिहरुबाट भएको भन्दै खुसी व्यक्त गरेका छन् ।

रावतले कोहलपुरमा खेलकुदका प्रतियोगिताहरुलाई सहज बनाउनका लािग यसै तेह्र विगाह मैदानमा कवर्डहल बनाउन चालु आर्थिक वर्षमा नै कोहलपुर नगरपालिकाले बजेट विनियोजन गरिसकेको बताए । सबै क्षेत्रबाट सहयोग भएमा पाँच वर्षभित्रमा कोहलपुरमा खेलकुद क्षेत्रको विकासका लािग चाहिने पूर्वाधारहरुको निर्माण गरिसक्ने रावतले आस्वस्त पारे ।

त्यस्तै महोत्सवको उद्घाटन समारोहमा शुभकामना दिदै कोहलपुर नगरपालिकाकी उप–प्रमुख सञ्जु कुमारी चौधरीले कोहलपुर क्षेत्रमा छरिएर रहेका नीजि विद्यालयहरुलाई संगठित स्वरुप दिएर स्व.टिकाराम सुवेदीले क्रिसालाई यो स्थानसम्म ल्याई पु¥याएको स्मरण गर्दै खेलकुदको क्षेत्रमा क्रिसा स्थापना भएपछि कोहलपुरमा उल्लेख्य काम भएको बताइन् ।

कोहलपुर नगरपालिका शिक्षा विभाग प्रमुख मनप्रसाद रेग्मीले स्थानीय नीजि विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि हुनुमा क्रिसाले गर्ने खेलकुद प्रतियोगिता सहितका अतिरिक्त क्रियाकलापहरुले महत्वपूर्ण योग्दान पु¥याएको बताए ।

यस्ता प्रतियोगिताहरुमा विद्यालय, शिक्षक, कर्मचारी र विद्यार्थीहरुमा स्वच्छ प्रतिस्पर्धा गर्ने प्रेरणा प्राप्त हुने र त्यसले सबैको क्षमता वृद्धि हुने भएकाले यसको निरन्तरताको आवश्यकता रहेकोमा जोड दिए ।

त्यस्तै प्याब्सनका केन्द्रीय सदस्य अर्जुन सिग्देलले यतिबेला आसन्न प्रादेशिक र संघिय निर्वाचनको समयलाई ध्यानमा राखेर क्रिसाले आफ्ना कार्यक्रमहरु परिमार्जन सहित महोत्सव सुरु गरेको जानकारी गरेको बताए ।

त्यस्तै नेशनल प्याब्सनका केन्द्रीय सदस्य कुसुम रानाभाट, कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक निरज चलाउने लगायतले क्रिसा खेलकुद महोत्सवको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

वि.सं.२०६६ सालदेखि क्रिसाले वार्षिक रुपमा कोहलपुर क्षेत्रमा रहेका क्रिसा आवद्ध विद्यालयहरुको विचमा प्रतियोगिता गराउँदै आएको छ । यस पटकको प्रतियोगितामा ३५ वटा विद्यालयहरु सहभागी भएको भन्दै यस प्रतियोगितामा क्रिकेट, फुटवल र भलिवल विधामा प्रतिस्पर्धा गराइने क्रिसाका अध्यक्ष दिनेश सिग्देलले जानकारी गराएका छन् ।

क्रिकेटमा मावि छात्रतर्फ, फुटवलमा आधारभूत तह छात्रतर्फ, भलिवलमा आधारभूत तह र मावि तहमा छात्रातर्फ प्रतियोगिताहरु खेलाइने छन् । शुक्रबार क्रिकेट तर्फ ग्रिनपिस मावि र तक्षशिला तथा नोवेल एकेडेमी र गोर्खा मावि, फटवलमा हिमालय विद्या निकेतन र ग्रिनपिस मावि तथा लिटिल एन्जल्स् र भृकुटी मावि वित खेल भएका छन् ।

क्रिसाको उद्घाटन समारोह क्रिसाका अध्यक्ष दिनेश सिग्देलको अध्यक्षता तथा क्रिसाका सचिव शिव डाँगीको सञ्चालनमा समापन भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर १५ गते शुक्रबार