कोहलपुर, ११ मंसिर/ विवेकशील साझा पार्टीका केन्द्रीय संयोजक रविन्द्र मिश्रले यस पटकको निर्वाचनमा सचेत मतदाताहरुले आफ्नो विवेक सही ढङ्गले प्रयोग गर्न आग्रह गरेका छन् ।
आइतबार विवेकशील साझा पार्टीले कोहलपुरको न्यूरोड मैदानमा आयोजना गरेको चुनावी कार्यक्रमलाई सम्वोधन गर्दै मिश्रले मतदाताहरुलाई ठुला पार्टीका ठुला नेतालाई होइन असल उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।
पद्धती, पादर्शिता, इमान्दारिता र उत्कृष्टता विवेकशील साझा पार्टीको साझा धारणा भएको भन्दै आजसम्म कायम रहेको संस्कार र प्रवृत्तिलाई नतोडेसम्म संवृद्ध नेपाल बन्न नसक्ने मिश्रको दावी छ । ‘आजको नेपाली राजनीतिक संस्कारमा मन्त्री वा प्रधानमन्त्रीसँग सम्वन्ध छ र चाकडि गर्न सकेको छ भने मात्र त्यसको काम हुन्छ, अरुको काम हुदैन ।’
देश संवृद्ध र नागरिक सचेत भएका मुलुकहरुमा नागरिकलाई राजनीतिको रङ लगाउनु पर्दैन र नागरिकहरुले त्यहाँ राजनीति पनि गर्दैनन् । जब निर्वाचनको समय आउँछ आफूलाई राम्रो र इमान्दार लागेको नेतालाई मतदान गर्दछन् भन्दै मिश्रले यस्तो दिन नेपालमा देख्नलाई आफ्नो विवेकलाई इमान्दारिताको तराजुले तौलेर मतदान गर्न आग्रह गरे ।
चुनावी सभालाई सो पार्टीका केन्दीय नेता किशोर थापाले आफूले धेरै मन्त्रालयको सचिव भएर रहँदा नेपालका धेरै मन्त्रीहरुसँग काम गरेको र आफूले काम गर्दा कसैमा पनि इमान्दारिता नपाएको दावी गरे ।
कार्यक्रममा बाँके क्षेत्र नं.१ प्रतिनिधिसभा सदस्य उम्मेदवार कुशल अधिकारी, प्रदेश सभा ‘क’ र ‘ख’ का उम्मेदवार दया थारु र ज्योति परियारले विवेकशील साझा पार्टीका उम्मेदवारहरुलाई आग्रह गरेका थिए ।








प्रतिक्रिया दिनुहोस्