किसानका लागि सहुलिय तरुपमा मल विउ उपलब्ध गराउन बाम उम्मेदवारको प्रतिवद्धता



नेपालगञ्जर, ११ मंसिर/   बाँके क्षेत्र नम्बर ३ मा वाम गठबन्धनका उम्मेदवारहरुले किसानका लागि सिचाईको सुविधा र मल बिउमा सरकारी अनुदान हुनुपर्नेमा आफुहरुको जोड रहने बताएका छन् ।

खजुरा गाउँपालिकाको सीतापुर, जानकी गाउँपालिकाको बेलभार र साईगाउँ तथा बैजनाथ गाउँपालिकाको परसुरामपुरमा आईतबार भएको कार्यक्रममा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार नन्दलाल रोकाय, प्रदेशसभा १ का उम्मेदवार आईपी खरेल र प्रदेशसभा २ का उम्मेदवार बाबुराम गौतमले निर्वाचन पछि बन्ने वाम गठबन्धनको सरकारले किसानका समस्या समाधान गर्ने बताए ।

ती कार्यक्रममा प्रतिनिधिसभाका उम्मेदवार रोकायले किसानका समस्या समाधानका लागि वामपन्थिहरुको बहुमतको सरकार आवश्यक भएको बताए । उनले भने–‘स्थिर सरकारको अभावमा अहिलेसम्म वामपन्थीहरु सरकारमा गएपछि सोचे जस्तो काम गर्न सकेका छैनन, यसपटक मौका दिनुहोस ।’
प्रदेशसभा २ का उम्मेदवार गौतमले सीतापुर क्षेत्रमा देखाउनका लागि मात्रै बोरिङ भएको भन्दै आफुले सोलारमार्फत बोरिङ संचालनका लागि पहल गर्ने बताए ।

यसैगरी बिउबिजन र मलखादमा सरकारी अनुदानको पक्षमा आफुहरु रहेको भन्दै उनले सुकुम्बासी समस्या समाधान आफनो प्राथमिकताभित्र रहेको बताए । गरिब विपन्न समुदायलाई निशुल्क उपचारको ब्यवस्थासँगै औद्योगिकीकरण र बेरोजगारी समस्या हल गर्ने र बस्तीमा उच्च शिक्षालयसँगै कालेपत्रे सडक पु¥याउने योजना रहेको उनले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचन परिचालन कमिटि क्षेत्र नम्बर ३ का संयोजक दलबहादुर सुनारले वाम गठबन्धनको अगुवाईमा सुरु भएको विकास निर्माण कार्यले आगामी दिनमा थप सक्रियता पाउने बताए । उनले सडक कालोपत्रे, सिचाई सुविधा, किसानलाई,सहुलियतका लागि वाम गठबन्धनलाई भोट दिन अपिल गरे ।

यसैगरी बैजनाथपुरको परसुरामपुरमा भएको कार्यक्रममा बाम गठबन्धनका उम्मेदवार आईपी खरेलले आफनो क्षेत्रमा सडक कालोपत्रे, पुल निर्माण, किसानका लागि सिचाई र मल बिउमा अनुदान आफनो र गठबन्धनको प्रमुख एजेण्डा भएको बताए । खरेलले आईतबार बैजनाथको एचगाउँ, बनियाभार, गाभर र बाजुरेलीटेलमा समेत भेटघाट गरिएको बताए ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर ११ गते सोमबार