नियमित विद्यालय जादैनन् खटिक समुदायका बालबालिका



कविन्द्र परियार : कोहलपुर, ५ मंसिर/  कोहलपुर नगरपालिका–१४ ढोरपुरमा रहेको खटिक समुदायका अधिकांश बालबालिका नियमित रुपमा विद्यालय नजाने गरेको पाइएको छ ।

कोहलपुर नगरपालिकाकी उप–प्रमुख सञ्जु कुमारी चौधरी सहित कोहलपुरका पत्रकारहरुको सयुंक्त टोलीले अध्ययन गर्दा उक्त तथ्य बाहिर आएको हो ।
श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय ढोरपुरमा अध्ययनरत १ सय ९६ जना विद्यार्थी मध्ये दैनिक जसो ४० देखि ५० विद्यार्थी अनुपस्थित हुने गरेको विद्यालयका प्रधानाध्यापक शिषराम यादवले बताए ।

यो विद्यालयमा अध्ययन गर्ने विद्यार्थी मध्ये ८५ प्रतिशत बालबालिका खटिक समुदायका छन् तर अभिभावक अशिक्षित र विपन्न भएका कारण बालबालिका विद्यालय आउदैनन्, उनले भने । कहिलेकाही गाँउघरमा विवाह, भोज हुँदा त विद्यार्थीहरु स्कुल नै आउदैनन् यादवले थपे । घरमै बसिरहेकी कक्षा ३ मा अध्ययनरत रिना खटिकले विद्यालय जानु भन्दा घरमै बसेर खेल्न र काम गर्न रमाइलो लाग्ने गरेको बताइन् ।

अर्का कक्षा ५ मा अध्ययनरत विक्रम खटिकले घरको काम गर्नुपर्ने भएका कारण विद्यालय जान छोडेको बताए । ‘घरको काममा सहयोग गर्नुपर्छ, त्यसैले विद्यालय जान छोडेको हुँ’ उनले भने । अभिभावक मुन्नु खटिकले छोराछोरीलाई स्कुल जाउ भन्दा नजाने गरेको बताए । अर्की अभिभावक हेमा खटिकले खटिक समुदायका अभिभावक अशिक्षित भएका कारण छोराछोरीलाई पढाउनुपर्छ भन्ने थाहा नपाएका कारण पनि बालबालिकाहरुलाई नियमित विद्यालय नपठाउने गरेको बताइन् ।

खटिक समुदायका पुर्व शिक्षक सन्तसारुन खटिकले अभिभविकहरु अशिक्षित र विपन्न भएर दैनिक जस्तो मजदुरी गर्न जानु पर्ने बाध्यता भएको कारण बालबालिकाहरुलाई नियमित विद्यालय नपठाउने गरेको बताए । बाँकेका जिल्ला शिक्षा अधिकारी भिम बहादुर साउदले मधेशी समुदायका बालबालिका सुरुमा शत प्रतिशत भर्ना हुने र बिचमा विद्यालय नगएर फेरि वार्षिक परीक्षामा सहभागी हुने समस्या रहेको बताए ।

‘मधेशी समुदायका अभिभावक अशिक्षित भएका कारण र छोराछोरीलाई व्यापार तथा अन्य काममा लगाउने गर्दा पनि यस्तो समस्या देखिएको छ’ उनले भने । विद्यालले अभिभाकहरु सँग पटक पटक छलफल गर्दा पनि सो समस्या समाधान गर्न नसकिएको विद्यालयले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर ५ गते मंगलबार