मंसिर ५ मा नेपालगञ्ज म्याराथुन हुने



कोहलपुर, ३ मंसिर/   क्रेटिभ ह्याण्डस् ग्रुपको आयोजनामा यही मंसिर ५ गते नेपालगञ्ज म्याराथुन प्रतियोगिता हुने भएको छ ।

हरेक वर्षको मंसिर ५ गते हुने यस म्याराथुन “शान्ति, सद्भाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिवद्धता” भन्ने नाराका साथ आयोजना गरिने नेपालगञ्ज म्याराथुनलाई नेपालमा शान्तिको प्रतिविम्वको रुपमा स्मरण गरिदै आएको छ ।

२०६३ साल मंसिर ५ गते शसस्त्र द्वन्द्वमा रहेको तत्कालिन नेकपा माओवादी र नेपालको राज्यपक्ष विच शसस्त्र द्वन्द्वलाई अन्त्य गर्ने विस्तृत शान्ति सम्झौता भएको थियो । सोही दिनको सम्झनामा नेपालमा विभिन्न कार्यक्रम हुने गरेपनि बाँकेको नेपालगञ्जमा ३ वर्ष अगाडिदेखि शान्ति सम्झौता भएको दिनलाई शान्तिको सन्देश स्वरुप नेपालगञ्ज म्याराथुन गरिदै आएको आयोजक संस्थाका अध्यक्ष टिएस ठकुरीले जानकारी दिए ।

यस म्याराथुन अन्तर्गत ५ किलोमिटरको विद्यालय स्तरीय छात्र÷छात्राहरु सहभागी हुनेछन् भने २१ किलोमिटर हाफ म्याराथुन महिलाहरुको खुला प्रतिस्पर्धा हनेछ । त्यस्तै ४२ दशमलव १९५ (४२.१९५) किलोमिटर खुला पुरुष म्याराथुन प्रतियोगिता हुनेछ ।

यो नेपालमा हुने सर्वाधिक पुरस्कार राशीको खुला म्याराथुन प्रतियोगिता समेत हो । यस प्रतियोगितामा पहिलो वर्ष ३ सय धावकहरुको सहभागिता रहेकोमा गत वर्ष ४ सय ५० जना धावकको सहभागिता रह्यो र यस वर्ष ६ सय बढी धावकको सहभागिता रहने अनुमान रहेको अध्यक्ष ठकुरीले बताए ।

नेपालगञ्ज म्याराथुनलाई नेपालगञ्ज र कोहलपुरलाई जोड्ने र यहाँका समुदायका विचमा भावनात्मक एकतालाई बढाउने उद्देश्यका साथ ३ वर्षदेखि नै यस म्याराथुनको नेपालगञ्जमा शुरु गर्ने र मंसिर ५ गते साँझ कोहलपुरको चौराहमा दीप प्रज्वलन गर्दै आएको क्रेटिभ ह्याण्डस् ग्रुपका परामर्शदाता जनक नेपालले बताए ।
शनिबार आयोजक संस्था क्रेटिभ ह्याडस् ग्रुप नेपालगञ्जले कोहलपुर नगरपालिकाका प्रमुख र उप–प्रमुख दुबैसँग प्रतियोगिताको बारेमा कोहलपुरमा छलफछ समेत गरेको छ । कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत र उप–प्रमुख सञ्जु कुमारी थारुले नेपालमा शान्ति स्थापनाको लागि महत्वपूर्ण दिनको सम्झनामा गरिन लागेको म्याराथुन प्रतियोगितालाई नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने धारणा ब्यक्त गरे ।

धावकहरुलाई सडकमा स्वागत र हौसला प्रदान गर्न कोहलपुर क्षेत्रमा रहेका नीजि विद्यालयहरुले आ–आफ्ना विद्यालयको पायक पर्ने स्थानहरुमा विद्यार्थीहरु राखेर राष्ट्रिय झण्डा राखेर धावकहरुलाई हौसला प्रदान र स्वागत गर्ने कार्यक्रम बनाइएको प्याब्सन बाँकेका सचिव यम रावतले बताए ।

नगरपालिकाले नेपालगञ्जबाट कोहलपुरतर्फ आउने धावकहरुलाई कोहलपुर नगरपालिकाको सिमाना शुरु हुने स्थानमा राष्ट्रिय झण्डा सहित विभिन्न सांस्कृतिका भेषभूषा झल्किने गरी स्वागत गरिने उप–प्रमुख सञ्जु कुमारी चौधरीले बताइन् ।

कोहलपुरमा भएको छलफल कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख, उप–प्रमुख, पूर्व राष्ट्रिय क्रिकेट खेलाडि एल.बी.क्षेत्री, खेलप्रेमी चिन्तामणि धिताल, गोविन्द पौडेल, पत्रकार भीम रावत, राजेश आचार्य, जयसिंह केसी,प्याब्सनका यम रावत लगायतको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर ३ गते आइतबार