स्वास्थ्य शिविरबाट ४ सय बढी लाभाम्बित



नेपालगञ्ज, ३० कात्तिक/  नेपाल रेडक्रस सोसाइटी र संघीय गणतन्त्र जर्मनीको नेपाल स्थित राजदुतावासको संयुक्त आयोजनामा एक दिने स्वास्थ्य शिविर खजुरा गाउँपालिका–५ र ६ को उढरापुरमा सम्पन्न भएको छ ।

शिविरको शुभारम्भ गर्दै खजुरा गाउँपालिका–५ का वडा अध्यक्ष देवेन्द्रमान श्रेष्ठले उढरापुर बाढी प्रभावित क्षेत्र भएकोले नेपाल रेडक्रस सोसाइटीले बाढी प्रभावित समुदायलाई लक्षित गरी यो शिविर संचालन गरेकोमा आयोजक निकायलाई दिएका थिए ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य निरीक्षक राम बहादुर चन्दले विगतमा उढरापुरमा झाडापखालाको महामारी भएको स्मरण गर्दै जिल्ला जनस्वास्थ्य, रेडक्रस, संघीय गणतन्त्र जर्मनीको संयुक्त सहभागितामा आँखा, कान र जनरल स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधी वितरण कार्यक्रम आयोजना गरिएको बताए ।

खजुरा गाउँपालिका–५ को वडा कार्यालयमा आयोजित शिविरमा भेरी अञ्चल अस्पातलकी डा.रजनी केसी (शाह), फत्तेवाला आँखा अस्पताल, सामुदायिक व्रिनोज उपचार केन्द्र, स्वास्थ्यचौकी उढरापुरका प्राविधिकहरुले विरामीहरुको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधी वितरण तथा शिविरमा उपचार हुन नसकेका विरामीलाई थप उपचारका लागि सम्बन्धी स्वास्थ्य संस्थामा रिफर गरिएको थियो । उक्त शिविरमा ४ सय ९ जना विरामीहरुले सेवा प्राप्त गरेका थिए ।

यस्तै डुडुवा गाउँपालिका–१ होलियाचौफेरी गाउँमा बिहीवार एक दिने आँखा, कान र जनरल स्वास्थ्य शिविर आयोजना हुनगइरहेको कुरा नेपाल रेडक्रस सोसाइटी बाँके शाखा कार्यालय प्रमुख निरञ्जना मल्लले बताइन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक ३० गते बिहीबार