भूकम्पपीडित भन्छन्-नोट दिनेलाई भोटः सीमाबासी भन्छन्-नाका खुलाउनेलाई भोट
२९ कात्तिक, कोदारी (सिन्धुपाल्चोक) भूकम्पबाट सबैभन्दा धेरैले ज्यान गुमाएको साविकको बरुवा गाउँ विकास समितिको बरुवामा पुग्दा जस्ताको टहरोको बाहिर बामगठबन्धन र लोकतान्त्रिक समूह दुवै उमेदवारहरुको पोष्टर टाँसिएको थियो । पोष्टर नजिकै थिए ६५ वर्षीय सोनाम लामा र उनकी श्रीमती ६४ वर्षीय लरर्की लामा ।
सडकको तल टहराका बाहिर वामपन्थी गठबन्धनका युवाहरु पोस्टर टाँस्ने र झण्डा फहराउने काममा व्यस्त थिए । केही स्थानीयहरु घर बनाउने जग खन्दै थिए । पुसभित्रै घर बनाइसक्नुपर्ने चटारोमा थिए उनीहरु ।मुस्किलले भित्र पस्न सकिने त्यो टहरोको एउटा कुनामा बच्चाको स्याहार गर्दै थिइन् बुहारी । घरभन्दा केहीमाथि भर्खरै खनेको सडकमा ५०/६० वटा मोटरसाइकलमा युवाहरु लोकतान्त्रिक गठबन्धन जिन्दावादको हाम्रो नारा घन्काउँदै माटेरसाइकलमा ओहोर-दोहोर गरिरहेका थिए ।
सडकको एक छेउमा केही स्थानीयहरु दुईवटा खसी खुइलाउन व्यस्त भेटिए । उनीहरु लोकतान्त्रिक गठबन्धनका उम्मेदवार र कार्यकर्ताको खाजाका लागि मासुको व्यवस्थापन गर्दै रहेछन् ।
कतिपय भूकम्पपीडितहरु भूकम्पबाट भत्केका घरको भग्नावशेष पन्छाएर घर बनाउने सुरुसारमा थिए त कोही कोदो, सिलाम चुट्न व्यस्त थिए ।
सोनामको घरनजिकै ठूलो आवाजमा चुनावी गीत घन्किरहे पनि सोनाम परिवार भने त्यही टहरोमा काठमाडौबाट भर्खरै गाउँमा आएकी बुहारी र नातिसँग गफिएर बसेका थिए ।
यहाँका जनतालाई पनि चुनावले छोएको छैन । मसलीले भनिन्-जसले जिते पनि यो नाका खोल्ने होइन होला । यता चुनाव भन्दा पनि तातोपानी नाका कहिले खुल्ला भन्ने चासो छ
जसको नोट, उसलाई भोट
अनलाइनखबर टिम सोनामको टहरोमा पुग्दा उनी निहुरिँदै बाहिर निस्के अनि भने- खै जसलाई भोट हाले पनि केही नहुने रहेछ । भूकम्पमा घर लड्यो, पहिलो किस्ता लिएँ, त्यो पैसाले त घडेरी खन्न नै ठीक्क भयो । यसपालि त जसले घर बनाउन नोट दिन्छ, उसलाई दिन्छाैं हामी त भोट ।
उनले यसो भने पनि घर बनाउन कसैले सघाउँछ भन्ने विश्वास चाहिँ सोनामलाई पनि छैन । तर, पनि राजनीतिक कार्यकर्ता र उम्मेदवारलाई घुर्क्याउने मेलो चाहिँ बनेको छ ।
साढे दुई वर्ष कष्टसँग टहरोमा बसिरहेका सोनाम जस्तै बरुवाका प्रायःको एउटै भनाइ छ- भूकम्पबाट भत्किएको घर बनाउन सहयोग गर्नेलाई दिन्छाैं हामी भोट ।
सिन्धुपाल्चोक जिल्लाको अन्तिम मानव बस्ती यो ठाउँमा मुस्किलले ७/८ महिना मात्रै उब्जनीले खान पुग्छ । चुनाव आउन थोरै समय भए पनि यहाँ कुनै चुनावी रौनक नै छैन । कोही धान थन्काउनै व्यस्त छन् त कोही अन्य खेतीपातीमा ।
दलका नेता कार्यकर्ताहरुलाई छपक्कै चुनावले छोपे पनि मतदाताहरुलाई अहिलेसम्म चुनावी रौनकले छोएकै छैन । छ महिना अघि मात्रै स्थानीय निर्वाचन सकिएकाले पनि हुनुपर्छ, मतदाता स्तरसम्म चुनावी माहौलले छुनै सकेको छैन ।
नेता र कार्यकर्तालाई मात्र लाग्यो चुनाव
एमालेको चुनावी सभा चलिरहेका बेला सभास्थलबाट करीव सय मिटर पर स्थानीय सुन्तली लम्साल आफ्नै घरधन्दा र बस्तुभाउको काममा व्यस्त थिइन् । ‘चुनाव त नेताहरुलाई लागेको होला, हामीलाई केही छैन । पैसा पाउनेहरु नारा लाउँदै हिड्ने हुन्’ उनले अनलाइनखबरसँग भनिन् ।
हेलम्बु ४ की १८ वर्षीया समिता सुनारले यसपालि पहिलो पटक चुनावमा मतदान गर्दैछिन् । कसलाई भोट हाल्ने भन्ने निधो नगरेकी समिताले भनिन्- ‘यहाँ जनतालाई चुनाव लागेको छैन, नेता कार्यकर्ताहरु हिँडिरहेका छन् ।
दलहरुका चुनावी सभामा पनि जनताको भन्दा पनि कार्यकर्ताहरुकै बाहुल्य देखिन्छ । स्थानीय सर्वसाधारण जनता भने खेतबारीमै भेटिन्छन् ।
चुनावी माहौल जनतासम्म नलागेको कुरा उम्मेदवार पनि स्वीकार्छन् । ‘खेतिपाती र लगातारको चुनावले पनि होला, जनतासम्म चुनाव लागि सकेको छैन’ सिन्धुपाल्चोक २ का एमाले उम्मेदवार शेरबहादुर तामाङले भने ।
‘चुनाव होइन, नाका खुलाउने कुरा गरौं’
बरुवाबाट हामी चीनको सीमाना तातोपानीको विकट थामी गाउँमा पुग्दा पनि अवस्था उस्तै देखियो । भूकम्पले घर भत्केको छ, त्यही भत्केको घर टालाटुल गरेर बसेका छन् यहाँका थामी समुदाय ।
र, त्यही टालटुल पारेको घरको बाहिर नै टाँगिएको छ दलको झण्डा ।
उच्च हिमाली क्षेत्रमा पर्ने यो बस्तीबाट चीनको खासा बजार नजिकै देखिन्छ । डाँडामा रहेको बस्ती भएकाले तातोपानी नाका यहाँबाट प्रस्टै देखिन्छ ।
भूकम्प र भोटेकोशीको बाढी पहिरोले क्षतविक्षत भएको नाकाको दृश्य माथिबाटै हेर्दै स्थानीय भन्छन्- ‘कस्तो थियो, खै कस्तो भयो कस्तो भयो, दैव पनि हामीलाई नै लाग्यो ।’
तातोपानी नाका सञ्चालन हुदाँ व्यापारीको भारी बोकेर दैनिक हजार/पन्ध्र सय कमाएर गुजारा चलाउँदै आएका यहाँका थामी परिवारको नाका बन्दसँगै दैनिक रोजोरोटी पनि खोसिएको छ । विगत दुई वर्षदेखि उनीहरु कष्टसँग दैनिकी गुजारा गरिरहेका छन् ।
चुनावी प्रचारका क्रममा पहिलो पटक यो गाउँमा यसपाली नेता पुगे । बामपन्थी गठबन्धनका उम्मेदवार अग्नि सापकोटा र अरुण नेपाललाई देखेपछि मसली थामीले भनिन्- ‘यहाँ त भोट माग्न पनि नेताहरु आउँदैनथिए, यसपालि देखियो ।’
यहाँका जनतालाई पनि चुनावले छोएको छैन । मसलीले भनिन्-जसले जिते पनि यो नाका खोल्ने होइन होला । यता चुनाव भन्दा पनि तातोपानी नाका कहिले खुल्ला भन्ने चासो छ ।
नेताहरुलाई स्वागत गर्न हातमा माला लिएर बसेकी अर्की स्थानीय चमेली थामीले भनिन्- ‘नाका जसले खुलाउँछ, उसलाई दिन्छौं हाम्रो भोट ।
चमेलीको भनाइ लगत्तै अग्नि सापकोटा र अरुण नेपाल दुवैले वामपन्थी गठबन्धनले जितेमात्रै चीनसँग कुरा गरेर नाका खुलाउन सकिने भन्दै स्थानीयसँग मत मागे । उनीहरुले नाका खुलाउने जिम्मा आफूहरुको रहेको आश्वासन दिए ।
कान्लाबाट हामफाल्दै नेतासँग गुनासो !
सीमाको यो थामी बस्ती यस क्षेत्रकै अन्तिम बस्ती हो । धुले सडकमा नेताहरु पुग्दा खासाका मतदाताहरुमा चुनावप्रति कुनै उत्साह नै देखिएको थिएन । भूकम्पले भत्किएको घर मर्मतपछि ताला ठोकेर स्थानीय काममा लागेका थिए ।
गाउँमा नेताहरु आएको थाहा पाएपछि एक झोला माला बोकेर लड्दै, आए स्थानीय बुद्धीबहादुर तामाङ । माला लिएर आउने क्रममा उनी बाटोमा पछारिए, तर, स्वागत गर्न आए पनि नेताहरु गाडी लिएर हिँडेपछि उनी कान्लाबाट हामफालेर आए ।
उनले भने- अहिले त तपाईहरुले हामीलाई भेट्नुपर्ने होइन र ! म यसरी आउँदा पनि झण्डै भेटिनँ’ एकै वाक्यमा उनले आफ्नो गुनासो सुनाए ।
वामपन्थी उमेदवार अग्नि सापकोटा, अरुण नेपाल लगायतका नेताहरुलाई माला लगाएर स्वागत गरेपछि उनले भने- ‘हामीलाई अरु केही गर्नु पर्दैन, नाका खोलिदिनुहोस कमरेड !’
नाकाबन्द छ, सग्लो सडक कतै पनि छैन । जसोतसो जीवन गुजारिरहेका यहाँका स्थानीय बासिन्दा भोटेकोशीमाथि रहेको पुल पहिरोले भत्काएपछि थप पीडामा छन् ।
स्थानीय अगुवा अमृत खडका भन्छन्- ‘यहाँको समस्या सबै पार्टीका नेताहरुले नै देख्नुभएको छ, अनि के चुनावका बेलामा यो गरिदिनुपर्यो भनेर माग राख्नु र ?
एकसरो आफ्नो निर्वाचन क्षेत्रका प्रायः सबै गाउँमा पुगिसकेका क्षेत्र नम्बर १ अन्र्तगत प्रदेश सभा १ का बाम उम्मेदवार अरुण नेपाल भन्छन्- ‘खै किन हो, यसपालि विगतको जस्तो गाउँमा चुनावी माहौल नै छैन ।’
कांग्रेस उम्मेदवार मन्त्री मोहनबहादुर बस्नेत पनि जनताको तहमा चुनाव नलागेको बताउँछन् ।
दलका नेता कार्यकर्ताहरु पनि खासै गाउँमा गएर भोट मागिरहेका छैनन् । प्रमुख बजारकेन्द्रमा बसेर दलको कुपन लिँदै होटलमा गएर भात खाने, सडकमा बसेर दुवै पक्षको चुनावी कुरा सुन्ने र बेलुकी त्यहीँ जम्मा गरेको कुपनबाट न्यानो भएर घरमा जाने भन्दा खासै दलका कार्यकर्ताहरु पनि जमेर चुनावी माहौल सुरु गर्न सकेको नै देखिएन सिन्धुपाल्चोकका गाउँबस्तीमा । onlinekhaber
प्रतिक्रिया दिनुहोस्