होटल व्यवसायी संघ बाँकेले घाइते विद्यार्थीलाई सहयोग



कोहलपुर ।  बाँकेको कोहलपुरमा रहेको होटल व्यवसायी संघ बाँकेले घाइते विद्यार्थीलाई आर्थिक सहयोग गरेको छ । त्रिभुवन माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थी नारायण खत्रीको उपचारको लागि संघले ६४ हजार ७ सय २१ रुपैयाँ आर्थिक सहयोग गरेको हो । आइतबार एक कार्यक्रमका बिच उक्त रकम आमा जयान्ता खत्रीलाई प्रदान गरिएको थियो ।

गत मंसिर २२ गते सोही विद्यालयमा अध्ययनरत छात्रा प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि विद्यार्थीहरु आन्दोलित भएका थिए । आन्दोलन उग्र भएपछि नियन्त्रणमा लिनको लागि सुरक्षाकर्मीले चलाएको रबरको गोली लागेर खत्रीसहित अन्य विद्यार्थी तथा स्थानीयहरु खत्री भएका थिए । होटल व्यवसायी संघ बाँकेका अध्यक्ष एकनारायण चापागाईले खत्रीको अण्डकोषको अप्रेशन गर्नुपर्ने भएकोले आर्थिक सहयोग गरिएको जानकारी दिए ।

‘उनको पिसाब नलीमा रबरको गोली लागेको रहेछ’ उनले भने, ‘उक्त रबर गोली निकाल्नका लागि ७÷८ लाख रुपैयाँ रकम लाग्ने भएको छ ।’ उनले सहयोग गर्नका लागि सबै विद्यालय प्रशासन तथा संघ–संस्थाहरुलाई समेत आग्रह गरे । होटल व्यवसायी महासंघका उपाध्यक्ष विश्वराज खनालले सर्वपक्षिय बैंठकबाट ६ बुँदे भएको सहमति अनुसार कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

‘आन्दोलनमा घाइते भएका विद्यार्थीहरुलाई औषधि खर्च र उपचारको व्यवस्था सरकारले गर्नुपर्ने हो’ उनले भने,‘ अहिलेसम्म आर्थिक सहयोग गरेको देखिएको छैन ।’ होटल व्यवसायी संघ बाँकेका सचिव खेमराज शर्माले विद्यार्थीमाथि गोली चलाउनु दुःखत घटना भएको बताए । ‘स–साना बालबालिकाहरु भविष्यका कर्णधार भनिन्छ तर यहाँ यसो देखिएन’ उनले भने । गम्भिर घाइते खत्रीको अहिले काठमाडौंको शिक्षण अस्पताल महारागंजमा उपचार भइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ पुस २१ गते सोमबार