कोहलपुर,२८ कार्तिक/ संयुक्त वाम गठवन्धनमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कोहलपुर नगरपालिका स्तरको जन वर्गिय संगठनहरुको संयुक्त भेला सम्पन्न भएको छ । सोमबार कोहलपुरमा सम्पन्न भेलाले आगामी निर्वाचनमा वाम गठवन्धनका उम्मेदवारहरुलाई विजयी गराउन सबै जन वर्गिय संगठनहरुलाई परिचालन गर्ने निर्णय गरेको छ ।
भेलामा जन वर्गिय संगठन महिला, विद्यार्थी, युवा, मजदुरका नेता कार्यकर्ताहरुको सहभागिता रहेको संयुक्त महिला परिचालन समितिकी सह–संयोजक रेणुका खड्का (सामना) ले बताइन् । भेलाका प्रमुख अतिथि माओवादी केन्द्रका नेता तिलक परियारले आगामी निर्वाचनमा वाम गठवन्धनका उम्मेदवारहरुले जित्नु पर्ने बताउदै, वामपन्थीले जिते मात्र स्थिर सरकार बन्ने र देशको आर्थिक सम्वृद्धि हुने दावी गरे ।
भेलामा बाँके क्षेत्र नं.१ प्रतिनिधिसभाका उम्मेदवार महेश्वर गहतराज (अथक) ले यस क्षेत्रमा वामपन्थी मतदाताहरुको बाहुल्यता रहेको र त्यो जनमतलाई आगामी मंसिर २१ हुने निर्वाचनमा मतदानको रुपमा प्रयोग गर्दा वामपन्थी उम्मेदवारहरुको विजयी सुनिश्चित देखेर विरोधी शक्तिहरु तिरमिराउन थालेको बताए । साथै उनले सबै जन वर्गिय संगठनहरु आत्मविश्वास सहित परिचालित हुन र वाम गठवन्धनका उम्मेदवारहरुको पक्षमा जनमत सृजना गर्न आग्रह गरे ।
क्षेत्र नं.१ प्रदेशसभा ‘ख’ की प्रत्यक्षे उम्मेदवार आरती पौडेल र समानुुपातिक उम्मेदवार मञ्जु कोइरालाले आफूहरु महिला उम्मेदवार भएको र महिलाहरुलाई राज्यको निर्णायक तहमा प्रतिनिधित्व गराउन यस निर्वाचनमा विजयी गराउनु पर्ने बताउदै सबै जन वर्गिय संगठनहरु सक्रियतापूर्वक निर्वाचनमा लाग्न आग्रह गरिन् ।
संयुक्त भेला रेणुका खड्का (सामना) को अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस्