राष्ट्रिय गौरवका आयोजनाहरुमा विश्व बैंकले सहयोग गर्ने



मिसन सामाचारदाता, बर्दिया, २७ कार्तिक / बाँके, बर्दिया, सुर्खेत, कैलाली लगायत पश्चिम क्षेत्रमा निर्माणाधिन अवस्थामा रहेको भेरी बबई डाईभर्सन सहितका राष्ट्रिय गौरवका आयोजनाहरुलाई एकिकृत आयोजनाको रुपमा अघि बढाउन विश्व बैंकले सहयोग गर्ने भएको छ ।
सिचाईमन्त्री सञ्जय कुमार गौतमसँग सिचाई मन्त्रालयमा भएको भेटवार्ताका क्रममा मन्त्री गौतमको आग्रह अनुसार विश्व बैंकका ग्लोबल प्राक्टीस डाइरेक्टर मार्टेन भान निउकुपले सिंचाइलाई कृषि, उर्जा र पर्यटनसँग जोडेर एकीकृत आयोजनाको रुपमा विकास गर्न सहयोग गर्न विश्व बैंकले सहयोग गर्न सक्ने बताएको भेटमा संलग्न मन्त्रालयका सचिव रामानन्द प्रसाद यादवले बताए ।
विश्व बैंकका डाईरेक्टर निउकुपसंगको भेटवार्तामा मन्त्री गौतमले नेपालको समग्र सिंचाइ क्षेत्रको विकासको साथै पश्चिम क्षेत्रमा निर्माणका क्रममा रहेका सिंचाइका राष्ट्रिय गौरवका आयोजनाहरुलाई एकिकृत आयोजनाको रुपले अघि बढाउन मन्त्री गौतमले विश्व बंैकको टोली समक्ष अनुरोध गरेका थिए ।
जवाफमा डाइरेक्टर निउकुपले नेपाल सरकारले एकीकृत आयोजना गर्न चाहे विश्व बैंकले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक २७ गते सोमबार