सहकारी नीति,विधि र प्रविधिमा चलाउन सुवेदीको सुझाव्



कोहलपुर,२६ कात्तिक/  कोहलपुर नगरपालिका–२ स्थित कृष्णनगरमा रहेको श्रृष्टि बहुुउद्देश्यीय सहकारी संस्था लिमिटेडको साधारण सभामा प्रमुख अतिथि जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम प्रसाद सुवेदीले सहकारीलाई नीति, विधि र प्रविधिमा चलाउनु पर्ने सुझाव दिएका छन् । सुवेदीले शनिबार सहकारीको १०औं साधारण सभाको उद्घाटन गर्दै यस्तो सुझाव दिएका हुन् ।

सुवेदीले सहकारीको नयाँ ऐन अनुसार जिल्लास्थित सहकारी संघमा दर्ता हुनलाई र सहकारी ऐन अनुसार सञ्चालन हुन कम्तीमा ५ सय जना शेयर सदस्य र ५० लाख बराबरको शेयर पूँजी भएका सहकारीलाई मात्र मान्यता दिने व्यवस्था गरेकोले त्यसतर्फ ध्यान दिन आग्रह गरे ।

सहकारीले साधारण सभाको अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरेको थियो । सम्मानित हुनेहरुमा कार्यसमितिमा रही सहकारीको कामलाई व्यवस्थित गर्न उत्कृष्ट काम गरेको भन्दै संस्थाका उपाध्यक्ष बल बहादुर खड्कालाई सम्मान गरेको थियो ।

त्यस्तै कर्मचारीतर्फ व्यवस्थापन र सहकारीको कामलाई चुस्तदुरुस्त राखेको भन्दै संस्थाका व्यवस्थापक उदय बहादुर बुढाक्षेत्रीलाई सम्मान गरेको थियो । उत्कृष्ट वचतकर्ता प्रेम रावत, मासिक नियमित उत्कृष्ट वचतकर्ता याम प्रसाद पौडेललाई समेत सभामा सम्मान गरिएको थियो ।

वि.सं.२०६४ सालमा ३६ जना सदस्यबाट शुरु गरिएको सहकारीमा हाल ३ सय ६० जना शेयर सदस्य रहेको रहेका छन् । साधारण सभामा अध्यक्ष कर्ण बहादुर बुढाक्षेत्रीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र लेखा संयोजक लेखनाथ बगालेले वार्षिक लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साथै आर्थिक वर्ष २०७४÷७५ का लागि रु १ करोड ६६ लाख ४० हजार १ सय ८२ रकमको अनुमाणित आयव्यय र चालु आ.व.मा रु १ करोड ५३ लाख ८५ हजार ४ सय लगानी गर्ने र रु ९९ लाख १८ हजार ८ सय ८५ निक्षेप संकलन गर्ने समेत लक्ष्य रहेको व्यवस्थापक उदय बहादुर बुढाक्षेत्रीले बताएका छन् ।

१०औंसाधारण सभामा कोहलपुर नगरपालिका–१ र २ वडाका वडाध्यक्ष द्वय गोपी खनाल र कर्णसिहं विसी, मनकामना सहकारीकरी संस्थाकी अध्यक्ष सतीदेवी ढकाल, नरेन्द्र न्योपाने लगायतले सभाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

साधारण सभाको वन्द सत्रबाट सञ्चालक समिति सदस्य कोपिला जैसी र संगिता योगीलाई थप गरी ७ जनाको कार्यसमितिलाई पूर्णता दिइएकोछ ।
साधारसण सभा संस्थाका अध्यक्ष कर्ण बहादुर बुढाक्षेत्रीको अध्यक्षता र व्यवस्थापक उदय बहादुर बुढाक्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक २६ गते आइतबार