निर्वाचनमा सजकता अपनाउन पाठकको आग्रह



नेपनलगञ्ज, २३ कात्तिक/  राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त सुदिप पाठकले चुनावी अभियानमा सवै जनाले सजकता अपनाउन जरुरी रहेको बताएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जको आयोजनामा भएको वातावरण प्रदुषण र वातावरण मैत्री विकासको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै आयुक्त पाठकले देशको विकासका लागि कुन ठाउँ विकासको लागि उपयुक्त छ भनेर पहिल्यै छनोट गरेमात्र देशको विकासले गति लिने बताए ।

वातावरण प्रदुषण र वातावरण मैत्री विकासका लागि मानव अधिकारकर्मीले मात्र गरेर केही नहुने बताउदै पाठकले मानव अधिकारलाई एक्सन प्लान गरेर लगेमात्र देशको वातावरण मैत्रीमा विकास हुने कुरा उल्लेख गरे ।
वातावरण प्रदुषण रोक्न वातावरण प्रदुषण नियन्त्रण गरे पुग्ने र वातावरण प्रदुषण रोक्न जनचेतना जगाउन आवश्यक रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले बताए ।
सवैका लागि घरघरमा मानव अधिकार शान्ति र विकासको आधार भन्ने मुल नाराका साथ सुरु भएको अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेल, प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसी, बाँकेका प्रहरी प्रमुख टेक बहादुर तामाङ, कोहलपुर नगरपालिकाका उपप्रमुख सन्जु कुमारी चौधरी, इन्सेक नेपालगन्जका क्षेत्रिय संयोजक भोला महत, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७४ कात्तिक २३ गते बिहीबार