वाम गठबन्धनले राष्ट्रिय राजनीतिमा तरङ्ग : थापा



नेपनलगञ्ज, २३ कात्तिक/ उपप्रधानमन्त्री कमल थापाले नेकपा एमाले र माओवादी केन्द्रका बिचमा भएको चुनावी तालमेल र पार्टी एकताको घोषणाले राष्ट्रिय राजनीतिमा तरङ्ग पैदा गरेको बताएका छन् ।
लोकतान्त्रिक गठबन्धन बाँकेले नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री थापाले एमाले र माओवादी केन्द्रको तालमेल तथा पार्टी एकताका कारण मुलुकको प्रजातन्त्रको भविश्य राजनीति स्थायित्व र मुलुकको समग्र आर्थिक विकासमा पनि शंका र आशंका देखा परेको बताए ।

राप्रपा अध्यक्ष समेत रहेका थापाले आगामी मंसिर १० र २१ गते हुने निर्वाचन धाधली रहित रुपमा सम्पन्न गर्नका लागि सरकारले सम्पूर्ण तयारी गरेको बताए । सरकारको तर्फबाट निर्वाचन आयोगलाई हुनुपर्ने सबै सहयोग भैरहेको बताउँदै थापाले निर्वाचनमा उत्साह पूर्वक सहभागी हुनका लागि सबै मतदातालाईआव्हान समेत गरे ।

आफु पार्टी विभाजनको पीडामा भएकोले एमाले र माओवादी केन्द्रको पार्टी एकताको निर्णयमा आफुले सकारात्मक रुपमा लिएको बताउँदै थापाले अप्रत्यासित रुपमा भएको चुनावी तालमेल र एकताको घोषणा पछि नेपाललाई कम्युनिष्ट देश बनाउने उदघोषले स्वभाविक रुपमा आशंका पैदा गर्ने खालको भएको बताए ।

देशैभर नेपाली काँग्रेस र राप्रपाको बीचमा चुनावी तालमेल गर्ने सहमती भएपनि झापा–३ मा नेपाली काँग्रेसको आपसी विवादका कारण आफनो पार्टीले अपवादका रुपमा उम्मेदवारी दिएको समेत बताए ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक २३ गते बिहीबार