23 July 2024  |   मङ्लबार, साउन ८, २०८१

गणतन्त्रात्मक नेपालको जग बसाल्न नेपाली कांग्रेसलाई मतदान : सिचाईमन्त्री

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, कार्तिक २२, २०७४  

बर्दिया, २२ कात्तिक/  सिचाईमन्त्री तथा नेपाली काँग्रेस बर्दियाका सभापति एंव बर्दिया क्षेत्र नं.१ बाट प्रतिनिधिसभाका उम्मेदवार सिचाइँमन्त्री सञ्जयकुमार गौतमले लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको जग बसाल्न मंसिर १० र मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभाका निर्वाचनमा नेपाली काँग्रेसलाई जिताउन आग्रह गरेका छन् ।
बर्दियाका विभिन्न स्थानमा आयोजित प्राध्यापक, कर्मचारी, संचारकर्मी, शिक्षक र कार्यकर्ताहरुको भेलालाई सम्वोधन गर्दै सिचाईमन्त्री गौतमले काँग्रेसको नेतृत्वमा बन्ने केन्द्र सरकारले मात्र संविधानको कार्यान्वयन, संघीयताको मर्म अनुसारको शासन–प्रबन्ध मिलाउन सक्ने दावी गरे ।
नेपाली काँग्रेसको सरकार बनेमा स्थानीय, प्रदेश र संघ गरी तीनै तहको सरकारसँग सहयोग र समन्वयात्मक रुपमा आर्थिक विकासका लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।
निर्वाचन पछि नेपाली काँग्रेसको नेतृत्वमा बन्ने सरकारले आर्थिक विकासलाई तिव्रताका साथ अघि बढाउने, पछाडि परेका क्षेत्र र गरिबीको मारमा परेका जनतालाई आय आर्जनका अवसर दिलाउने, रोजगारी सिर्जना गर्ने र सामाजिक न्याय स्थापित गर्ने सिचाईमन्त्री गौतमको दावी छ ।
सिचाई मन्त्री गौतमले कांग्रेसले जितेमा केन्द्रमा स्थिर, बलियो र भरपर्दो लोकतान्त्रिक सरकार निर्माण भई तीव्र गतिमा आर्थिक विकास हुनुका साथै र प्रादेशिक स्वायत्त शासन पनि बलियो एंव संस्थागत हुने बताए ।

सात दशकदेखि जनताले लोकतन्त्रका लागि गरेको संघर्ष र त्यसका उपलब्धि जोगाउन, माओवादी हिंसात्मक द्वन्द्व, मधेश–पहाडका विभिन्न आन्दोलनका घाउमा मलहम लगाउने काम नेपाली काँग्रेसको प्राथमिकतामा रहेको बताउदै काँग्रेस नेता गौतमले राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता र सार्वभौमसत्ताको दृढतापूर्वक रक्षा गर्दै छिमेकी देशहरु, मित्रराष्ट्रहरु र अन्तर्राष्ट्रिय संस्थाहरुसँग सन्तुलित र भरपर्दो सम्बन्ध कायम राख्न सक्ने विश्वासिलो शक्ति नेपाली काँग्रेस मात्र भएको दावी गरे ।

प्रकाशित मितिः बुधबार, कार्तिक २२, २०७४     7:28:05 AM  |