भैरहवामा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउने समयसम्ममा आयोजनको लागत झन्डै ३५ अर्ब रुपैयाँ पुग्ने देखिएको छ । नागरिक उड्डयन प्राधिकरणको पछिल्लो अध्ययनले यस्तो देखाएको हो ।
सरकारले एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माण सुरु गरेको राष्ट्रिय गौरवको आयोजना निर्माणको लागि ८ अर्ब ५५ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पिक विमानस्थलको रूपमा हेरिएको उक्त विमानस्थलको काम समयमा सम्पन्न नहुँदा तथा दोस्रो चरणको विस्तारका लागि मुआब्जा वितरण तथा अन्य लागत खर्च बढ्दा लागत चार गुणाभन्दा बढी पुग्ने देखिएको हो ।
कति जग्गा कुन आयोजनालाई चाहिने हो भन्ने विषय विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डीपीआर)मै आउनुपर्ने भए पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि धावनमार्ग र टर्मिनल भवनको विषयमा मात्रै अध्ययन गरेको पाइएको छ । जहाजको लागि पम्प कहाँ राख्ने विषयसमेत डिजाइनमा उल्लेख नगरेको पाइएको छ ।
प्राधिकरण स्रोत भनछ, “नेपालका आयोजनामा कतिसम्म लापरबाही हुन्छ भन्ने प्रमाण हो यो । अन्य थुप्रै विषयहरू छुटेका छन् ।”
विमानस्थल निर्माणका लागि चाहिने जग्गाको मुआब्जाका लागि पहिलो चरणमै ३ अर्ब रुपैयाँ थपिएको छ, जुन चालू आर्थिक वर्षमा नै निकासा दिने गरी प्राधिकरणले बजेट तयार गरेको छ । पहिलो चरणको काम सम्पन्न गर्न नै ११ अर्ब ५५ करोड लागत पुग्ने भएको छ । जबकि यसअघिको अध्ययनमा ७ अर्बमा धावनमार्ग र टर्मिनल भवन तथा डेढ अर्बमा अन्य काम गर्ने गरी चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनलाई ठेक्का दिइएको थियो ।
अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न विमानस्थल निर्माण गर्ने भएकाले क्षेत्र धेरै आवश्यका पर्छ तर, हालसम्म पनि जग्गा अधिग्रहण गरिएको छैन । अत्यन्न महँगो भइसकेको उक्त क्षेत्रमा अब मुआब्जा वितरण गर्दा २३ अर्ब रुपैयाँ छुट्याउनुपर्ने प्राधिकरणको एक अध्ययनले देखाएको प्राधिकरण स्रोतले जानकारी दिएको छ । विमानस्थल वरपर ठूला भवन, घर तथा संरचना निर्माण भइसकेकोले अब मुआब्जा वितरण गर्दा आयोजनाको लागत महँगो पर्ने भएको हो । “अहिलेको संरचना र डिजाइनमा मात्रै विमानस्थल निर्माण गर्ने हो भने आन्तरिक उडानमात्रै भर्न मिल्छ,” प्राधिकरण स्रोतले भन्यो ।
विमानस्थललाई काठमाडौं आउने अन्तर्राष्ट्रिय उडानका जहाज अवतरणको वैकल्पिक व्यवस्थाका रूपमा प्रयोग गर्न सकिने गरी निर्माण गरिएको दाबी प्राधिकरणले गर्दै आएको छ । स्तरोन्नतिपश्चात् गौतमबुद्ध विमानस्थलमा एयरबसको ए ३४० र बोइङको ७७७ सम्मका ठूला जहाज अवतरण गराउन सकिन्छ । यस विमानस्थलको स्तरोन्नतिसँगै सन् २०२० सम्ममा ६० लाख यात्रु धान्न सक्ने गरी गुरुयोजना निर्माण भएकोे छ ।
विमानस्थलका लागि चाहिने अन्य इक्युप्मेन्ट तथा रेडारको विषयमा अझै अध्ययन जारी छ, जसको लागि हालसम्म बजेट छुट्याइएको छैन । “सबै हिसाब गर्दा विगतमा ७ अर्बको आयोजना भनेर चर्चा गरिएको विमानस्थलको लागत ३५ अर्ब नाघ्ने निश्चित भएको छ,” प्राधिकरण स्रोतले भन्यो ।
प्राधिकरणका प्रवक्ता विरेन्द्र श्रेष्ठले भने आयोजनाको लागत बढ्ने प्रारम्भिक अध्ययनले देखाएको भए पनि कति बढ्छ भन्ने अझै तथ्यांक नआएको बताए ।
दुई वर्षमा २६ प्रतिशतमात्रै काम
चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले कामग सुरु गरेको दुई वर्षमा २६ प्रतिशतमात्रै काम सम्पन्न गरेको छ । सन् २०१८ को मार्चभित्र काम सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म प्रगति उत्साहजनक छैन ।
चिनियाँ ठेकदार कम्पनीले ९० प्रतिशत काम सम्पन्न गर्नुपर्नेमा २६ प्रतिशतमात्रै काम सम्पन्न गरेको छ । प्राधिकरणले ठेक्का तोड्ने जनाउ दिएसँगै काममा पछिल्लो समय तिव्रता दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । karobar
प्रतिक्रिया दिनुहोस्