काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । भक्तपुरको सल्लाघारीमा महाधिवेशन उद्घाटन हुनेछ । महाधिवेशन तीन दिनसम्म सञ्चालन हुनेछ । महाधिवेशनको मूल नारा ‘राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल र सुखी, नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने रहेको छ । महाधिवेशनको उद्घाटन पूर्वप्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।
महाधिवेशन उद्घाटनका अवसरमा सांस्कृतिक कार्यक्रमसहित स्थानीय झाँकी तथा भेषभूषामा सज्जित कलाकारले प्रदर्शन गर्नुहुने कार्यक्रम छ। महाधिवेशनमा शुभकामना दिन विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नेसहित १६ राष्ट्रिय दलका प्रमुख र प्रतिनिधिलाई आमन्त्रण गरिएको छ । भारत, चीन, क्युबालगायत मुलुकका विभिन्न पार्टीबाट शुभकामना सन्देश प्राप्त भएको छ ।
यस्तै नेपालस्थित कूटनीतिक मिसनलाई महाधिवेशनमा बोलाइएको छ । एमालेको संगठन विभागका प्रमुख काशीनाथ अधिकारीका अनुसार महाधिवेशनमा निर्वाचित, विशेष क्षेत्र र पदेन गरी दुई हजार १५४ प्रतिनिधि रहनेछन् । सो संख्याको पाँच प्रतिशतसम्म प्रतिनिधि मनोनीत गर्न सकिने व्यवस्था रहेको छ । पार्टीको केन्द्रीय सल्लाहकार परिषद्का ३०९ सदस्यले पनि महाधिवेशनमा सहभागी हुँदैछन् ।
एमालेका उपमहासचिव एवं जनपरिचालन समितिका संयोजक प्रदीपकुमार ज्ञवालीले महाधिवेशनको तयारी पूरा भएको बताए । भक्तपुरको तीनकुनेस्थित सल्लाघारीको खुला मैदानमा मञ्च निर्माण तथा व्यवस्थापनलगायत काम सकिएको उनले बताए । महाधिवेशन सफलतपूर्वक भव्य रुपमा सम्पन्न गर्न गठित स्वयंसेवक परिचालन, आवास, खाद्यान्न, यातायात, प्रचारप्रसार, सांस्कृतिक, आर्थिक, प्रतिनिधि व्यवस्थापनलगायत समितिहरू दिनरात खटिएका छन् ।
मुलुकमा विकसित विषम राजनीतिक परिवेशका बीच आगामी पाँच वर्षका लागि नेतृत्व चयन गरिने गरिनेछ । महाधिवेशनमार्फत पार्टी अध्यक्ष केपी शर्मा ओली तेस्रो कार्यकालका लागि अध्यक्षमा दोहोरिन चाहेका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्षको लागि यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् । नेतृत्वमा पुस्तान्तरण, हस्तान्तरणसहित रुपान्तरण हुनुपर्ने माग वरिष्ठ उपाध्यक्ष पोखरेल पक्षको छ ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले जेनजी आन्दोलनपछिको अवस्थालाई समीक्षा गर्नुपर्नेगरी आफ्नो अवधारणापत्र पार्टीका महासचिव शंकर पोखरेललाई हस्तान्तरण गरिसकेका छन् । महाधिवेशनको प्रतीक चिन्ह (लोगो)मा काठमाडौँ उपत्यकाका ऐतिहासिक एवं सांस्कृतिक सम्पदा धरहरादेखि, रञ्जना लिपी, न्यातपोल दरबार र शान्तिको प्रतीक पनि समावेश गरेर नेवाः संस्कृति र ऐतिहासिकतालाई महत्व दिन खोजिएको छ।









प्रतिक्रिया दिनुहोस्