23 July 2024  |   मङ्लबार, साउन ८, २०८१

खड्काको उम्मेदवारीले वाम गठबन्धनलाई चुनौती

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, कार्तिक १८, २०७४  

रावन बिश्वकर्मा कोहलपुर, १८ कार्तिक/ एमालेका प्रभावशाली नेता वामदेव गौतम उम्मेदवार रहेको बर्दिया क्षेत्र नम्बर १ को ‘क’ मा प्रदेश सभाको लागि नेकपा एमालेकै खड्क बहादुर खड्काले स्वतन्त्र उमेद्धारी दिएका छन् । वाम गठबन्धनलाई चुनौती दिदै नेकपा एमालेका पुर्व भेरी अञ्चल सदस्य खड्क बहादुर खड्काले नेकपा एमाले बाँसगढी नगर उपसचिव देवबहादुर भण्डारीको प्रस्तावक र नगर सदस्य सुर्य लामिछानेको सर्मथनमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
उनले आफ्नो र पार्टीका कार्यकर्ताहरुको दाबी हुँदाहँुदै पनि पार्टीले नितान्त केही गुटगत स्वार्थबाट प्रेरित भई आफूलाई राजनीतिबाट पाखा लगाउने हिसावले टिकट नदिएको बताएका छन् ।
बर्दियाली जनताको सम्वृद्धि र बर्दियाको विकासको लागि आफ्नो उम्मेदवारी रहेको खड्काले बताए । उनले भने–‘वास्तममा बर्दियाली जनताको उम्मेदवार भएन, जसले पनि जित्ने जिल्ला छोडेर जाने माथि बस्ने जनताको निम्ति कसैले चासो देखाएन, त्यस कारण जनताको सम्वृद्धि र बर्दियाको विकासको निम्ति अगाडि बढ्ने मान्यता र पार्टीका कार्यकर्ताहरुले पनि खड्क बहादुरलाई उम्मेदवारी दिएमा जित्छ र बर्दियाको लागि केही गर्छ भन्ने भावनका कारण मैले उम्मेदवारी दिएको हुँ’ । उनले आफुलाई मतदान गरे जनताले खोजेको र चाहेको न्याय र समानता स्थापित हुने र बर्दिया जिल्लाको समृद्धि र बिकास अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् । उनले आफुलाई विजयी बनाए पछि मैले मतदान गरेर बर्बाद गरेछु भन्ने ठाँउ आउन नदिने प्रतिवद्धता समेत जनाए । खड्काको दावी छ, ‘म सबैको शिर ठारो बनाउने छु’ ।
बर्दियाको क्षेत्र नम्बर १ को ‘क’ मा वाम गठबन्धनको तर्फबाट एमालेका कविराम थारुको उम्मेदवारी परेको छ भने काँग्रेसको तर्फबाट सोदे बिष्टको उम्मेदवारी परेको छ । खड्काको उम्मेदवारीले यस क्षेत्रमा प्रदेश र केन्द्र दुवैमा एमालेलाई अप्ठ्यारो पर्न सक्ने विश्लेषण गर्न थालिएको छ । यस क्षेत्रका अधिकांश मतदाताको साथ र सहयोग रहेकाले आफूले चुनाव जित्ने दाबी समेत उनले गरेका छन् ।

प्रकाशित मितिः शनिबार, कार्तिक १८, २०७४     2:11:59 PM  |