23 October 2021  |   आइतवार, कार्तिक ७, २०७८

सिक्टा सिँचाइको नहर सञ्चालन नहुँदै ठाउँ-ठाउँमा भत्कियो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, कार्तिक १२, २०७४  

नेपालगञ्ज, १२ कात्तिक/ राष्ट्रिय गौरवको सिक्टा सिँचाइको मूल नहर सञ्चालनमा नआउँदै ठाउँ-ठाउँमा चर्केको छ ।

बाँकेस्थित राप्ती नदीमा उक्त नहर निर्माणाधीन छ, जसका कारण सयौं घर डुबान तथा कटानमा परेका छन् । बाँके राष्ट्रिय निकुञ्ज र पूर्व-पश्चिम राजमार्गसँग समानान्तर निर्मित नहरले आसपासका बस्ती जोखिममा छन् । निर्माणको गुणस्तर परीक्षण गर्न स्थानीय बासिन्दाले माग गरेका छन् । गुणस्तरहीन निर्माण सामग्रीको प्रयोगका कारण मूल नहर नै संकटमा परेको दाबी स्थानीयवासीको छ ।

जिल्लाको मुहार फेर्ने उद्देश्यका साथ निर्माणाधीन नहर जोखिममा पर्नु दुर्भाग्यपूर्ण रहेको राप्तीसोनारी गाउँपालिका २ का वडाध्यक्ष मदनकुमार ओली बताउँछन् । भन्छन्, ‘यसको यसको डिजाइन र निर्माणको गुणस्तर परीक्षण आवश्यक छ ।’

ओलीका अनुसार गोवारपुर, मदुई, टिकुलीपुरलगायत बस्ती डुबान र कटानमा परेका छन् ।

बाँके राष्ट्रिय निकुञ्जको जंगल भएर बग्ने खहरे खोला थुनिनु र जंगलमा जम्मा हुने वर्षाको पानी स्वतन्त्र रुपले बग्न नपाउँदा नहरको साइफनले धान्न नसकेको ओली बताउँछन् । भन्छन्, ‘राष्ट्रिय गौरवको आयोजना स्थानीय बासिन्दाका लागि भने अभिसाप बन्दैछ ।’

नहरको डिजाइनमै त्रुटी हुनसक्ने स्थानीय बासिन्दाको भनाइ छ ।

आयोजना पूरा नहुँदै सामान्य वर्षाले ठाउँ-ठाउँमा नहर भत्किनुले गुणस्तरमा प्रश्न खडा भएको राप्ती सोनारी २ गोभारपुरका भीमबहादुर बुढाथोकी बताउँछन् । उनी भन्छन्, ‘ठेकेदार कम्पनीले बनाएर जान्छ, क्षति हामीले बेहोर्नुपर्छ ।’

नहरबाट बाहिरिएको पानीका कारण टिकुलीपुरमा मात्र तीन सयभन्दा बढी घर भत्किएका छन् । मदुईमा पाँच घरमा क्षति पुगेको छ । त्यस क्षेत्रमा तीन सयभन्दा बढी परिवार विस्थापित भइसकेका छन् । उनीहरु जंगलमा टहरा बनाएर बसेका छन् ।

‘नहरले उठिबास लगायो,’ टिकुलीपुरका इन्द्रबहादुर वली भन्छन्, ‘तीन दशकदेखि डुबानको समस्या थिएन, सिक्टाले दुई पटक डुबाइसक्यो ।’

गोभारपुरका तुलसीसिंह खत्रीका अनुसार खैरी, मुगुवा, द्वान्द्रा र सुखारजस्ता खहरे खोलाको प्राकृतिक प्रवाह नहरले रोकिदिएका कारण समस्या आएको हो । ती खोलाको सतह राजमार्गभन्दा उत्तर र दक्षिणमा निक्कै फरक रहेको उनको भनाइ छ ।

बाढीले नहरमा क्षति पुगेको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर प्रकाश कार्की बताउँछन् । नहरको उत्तर-दक्षिण भिरालो जमिन, खहरे खोलाको सतह बढेर जंगलसँगै बराबर हुनु र नहर पूर्वपश्चिम निर्माण भएको तथा पानीको निकास हुने ‘आउटलेट’ को क्षमता कम भएकाले नहरमा क्षति पुगेको उनको भनाइ छ ।

उक्त नहर दुई वर्षअघि नै पहिलो ३५ किलोमिटर खण्ड निर्माण भइसकेको छ । उक्त खण्ड गत वर्ष परीक्षणका लागि खोल्दा साविकको महादेवपुरी गाविसअन्तर्गत् झिझिरी खोलामा भत्किएको थियो । Onlinekhabar

प्रकाशित मितिः आइतवार, कार्तिक १२, २०७४     12:36:39 PM  |