25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

सय वर्षे वृद्धाले गरिन शिविरको उद्घाटन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, कार्तिक ११, २०७४  

भीम रावत, कोहलपुर, ११ कार्तिक/ कोहलपुर नगरपालिकाको आयोेजनामा शुक्रबार कोहलपुर नगरपालिका वडा नं.७, १४ र १५ को लागि श्रीराम मावि हवलदारपुरमा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविर स्वास्थ्य लाभ लिन आएकी सय वर्षिय गंगा थापाले विरामी चेकजाँच गर्ने पर्चा समातेर शिविरको उद्घाटन गरेकी थिइन् । सो शिविरमा ९४ महिला र १ सय २ जना परुष गरी १ सय ९६ जनाले आफ्नो स्वास्थ्य परीक्षण गराएका हुन् । शिविरमा ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुले निःशुल्क सेवा लिन पाउँदा खुसी व्यक्त गरेका छन् ।
कोहलपुर नगरपालिका–१५ हवलदारपुरकी १ सय वर्षिय लाई कोहलपुर नगरकार्यपालिका सदस्य शान्ति सुनारले विरामी चेकजाँच गर्ने पर्चा हस्तान्तरण गरेर शिविरको उद्घाटन गरिएको थियो । शिविरको उद्घाटन कार्यक्रममा नगरकार्यपालिकाका सदस्य डिल बहादुर परियारले नगरपालिकाले पहिलो पटक सबै वडाहरुका ७० वर्ष उमेर पूरा भएका जेष्ठ नागरिकहरुको सम्मान र सुविधाको लागि निःशुल्क स्वास्थ्य शिविर संचालन गरी स्वास्थ्य परीक्षण तथा औषधी वितरण गरिरहेकोले यसमा सबै जेष्ठ नागरिक सहभागी भएर लाभ लिन आग्रह गरे ।
सो शिविरमा नगरपालिकाका वडा नम्बर ७, १४ र १५ का जेष्ठ नागरिकहरुले आफ्नो निःशुल्क स्वास्थ्य परीक्षण गराउनुका साथै निःशुल्क औषधी समेत प्राप्त गरेका थिए ।
शिविरमा आफ्नो स्वास्थ्य परिक्षण गराउन आएकी कोहलपुर नपा–१५ चौधरीयाकी ८० वर्षिय छोटकिया थारु कान दुख्ने, आँखा दुख्ने समस्या लिएर आएको र डाक्टरले चेक गरी औषधी दिएको बताइन् । उनलाई केही समयदेखि कान चिलाउने समस्याले सताएको र त्यसको थप उपचारका लागि साधन स्रोत उपलब्ध हुने अस्पतालमा जानु भनि सल्लाह दिएको स्वावास्थ्य परीक्षणमा संलग्न डा.वृजेश पाण्डेले बताए ।
चौधरीयाकै अर्का ७६ वर्षिय मान्ठा थारु पनि आफ्नो खुट्टाको दाग देखाउदै उपचार गर्न आएको बताए । उनको खुट्टामा ३ वर्षदेखि दाद आएको औषधी खाँदासम्म राम्रो हुने खान छोडेपछि फेरि उस्तै हुने समस्याले पीडित भएको बताए ।
त्यस्तै वडा नं.१४ की स्वास्थ्य परीक्षण गराउन आएकी ७३ वर्षिय हरिकला सुनारले भनिन्–‘म कान चिलाउने र आँखा दुख्ने समस्याले साह्रै पीडित छु, त्यही देखाउन आएको तर यो जाँच गर्ने उपकरण यहाँ नभएकोले कोहलपुर मेडिकल कलेज जानु भनेर डाक्टरले भन्नु भयो, अहिलेलाई सामान्य औषधी खानुहोस् भनेर दिनु भएको छ’ ।
वडा नं.१४ कै ८० वर्षिय नरबहादुर थापाले टाउँको दुख्ने, पेट फुल्ने, खुट्टाका जोर्नीहरु दुख्ने र प्रेसर पनि बढी हुने समस्या भएर स्वास्थ्य परीक्षण गराउन आएको बताए । उनले भने–‘हामी गाउँघरमा बस्ने मान्छे बुढापाका भइयो, भनेको बेला अस्पताल जान सकिदैन, आफ्नै वडामा नगरपालिकाले निःशुल्क स्वास्थ्य शिविर चलाएकोमा नगरपालिकालाई धन्यवाद छ, यस्तो शिविर नगरपालिकाले सधै चलाई दिए हामीलाई धेरै राम्रो हुने थियो’ । शिविरमा आएका अधिकांश जेष्ठ नागरिकहरुमा एकै प्रकारको स्वास्थ्य समस्या पाइएको परीक्षणमा संलग्न चिकित्सकहरुले बताएका छन् । स्वास्थ्य परीक्षण गराएका प्रायः जेष्ठ नागरिकहरुमा बुढेसकालमा देखिने समस्याहरु–पेट दुख्ने, टाउँको दुख्ने, आँखा कान चिलाउँने, दम, ग्याष्ट्रिक भएको पाइएको परीक्षणमा संलग्न डा.राम कुमार दासले बताए ।
कोहलपुर नगरकार्यपालिका सदस्य शान्ति सुनारले भनिन्–‘ शिविरमा आएका जेष्ठ नागरिकहरुको आँखा, कान दुख्ने र छाला चिलाउँने बढी पाइयो, आँखा र कानको छुट्टै शिविर चलाउनु पर्ने आवश्यक देखियो, यसको लागि हामीले नगरकार्यपालिकाको बैठकमा कुरा राख्छै सम्भव भएसम्म आँखा र कानको मात्रै शिविर चलाउँन पहल गर्छौ ।
स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सक डा.राम कुमार दास र वृजेश पाण्डेले जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरेका थिए भने कोहलपुर नगर स्वास्थ्यका संयोजक धन रेग्मी, सह–संयोजक विद्यासागर मैनाल, गौरी शंकर मण्डलले शिविरको संयोजन गरेका थिए ।

प्रकाशित मितिः शनिबार, कार्तिक ११, २०७४     12:21:07 PM  |