18 September 2021  |   शनिबार, अशोज २, २०७८

वाम एकता र मदनको ‘जबज’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, अशोज २६, २०७४  

भीम रावत

माक्र्स,लेनिन र माओको पाला देखि संसारका कम्यूनिष्टहरुमा सर्वमान्य बनेको विचार थियो –‘क्रान्तिको बाटो बल प्रयोग÷हिंसात्मक’ नै हुन्छ भन्ने । नेपालका सबै
कम्यूनिष्ट पार्टीहरुले यही मान्यतालाई आतमसाथ गरिरहेका थिए ।

 

नेपालमा हाल वामपन्थी आन्दोलनलाई लोकतान्त्रिक मार्गबाट अगाडि बढाउने समाजवादी राज्य व्यवस्थाका आधार निर्माण गर्ने दृढतासहित प्रमूख वाम पार्टी नेकपा एमालेले र नेकपा (माओवादी केन्द्र) चुनावी तालमेल गर्दै प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन पश्चात मार्टी समेत एकता गरी नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउने उद्देश्य सहित वाम एकता गरेको बताइरहेका छन् । नेकपा एमालेले करिब तीन वर्ष अघि मात्रै आफ्नो नवौं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्दा उसले जनताको बहुदलीय जनवादलाई आफ्नो मार्गदर्शन सिद्धान्तका रुपमा पारित गरेको थियो । माओवादीले पनि समाजवादी क्रान्तिको कार्यदिशा भने पनि उसको कार्यनीति ठोस र मुर्त नभई अमुर्त थियो ।
नेकपा एमालेमा हाल नेतृत्व तहको नजिक पुगिरहेको युवा पुस्ता मदन भण्डारीले २०४९ सालमा पाँचौं राष्ट्रिय महाधिवेशनमा ‘जनताको बहुदलीय जनवाद’ तत्कालिन कार्यक्रमका रुपमा प्रस्ताव गर्दा विद्यार्थी राजनीतिमा सक्रिय थियो । ततकालिन परिस्थितिमा मदनको त्यो प्रस्ताव अधिकांश युवा पुस्ताले समर्थन गरे पनि पार्टीका नेताहरु विभाजीत थिए । बहुदलीय जनवादलाई नेकपा एमालेका नेताहरुले त्यति बेला सम्म नेपालको वाम आन्दोलनमा भन्दै आएको ‘नौलो जनवाद’ को कसैले पुच्छर भने , कसैले शरीर भने त कसैले टाउको भने । आ–आफ्नो बुझाई अनुसार नामाकरण गरे । सिपी मैनाली,टंक कार्की र घनश्याम भुषालहरुको समूहले उक्त प्रस्ताव दक्षिणपन्थी भएको भन्दै ‘परिमार्जीत नौलो जनवाद’ को फरक दस्तावेज अगाडि सारे । झलनाथ खनालहरु ‘बहुदलीय जनवाद’ लाई ‘दक्षप्रजापतिको टाउको’ नामाकरण गरे । केपी,माधव,वामदेव र विद्यार्थी नेता शंकर पोखे्रलहरु ‘बहुदलीय जनवाद’लाई यो ‘नौलो जनवाद’ कै ‘शरीर(प्राण)’ भएकाले यो दक्षिणपन्थी संशोधनवाद नभएको जिकीर गरे ।
‘बहुदलीय जनवाद’ को थप व्याख्या आवश्यक परिरहेको समयमा अर्थात मदन भण्डारी आफूले अगाडि सारेको तत्कालिन कार्यक्रमको व्याख्या र पुष्ट्याइँ गर्न नपाउँदै उनको हत्या गरियो । उनको मृत्यु हत्या थियो वा दुर्घटना यो अझै सम्म ‘इतिहासको कैद’ मा बन्द छ । मदनकै धर्मपत्ति गण्नतन्त्र नेपालको राष्टपति छिन र नेकपा एमालेले धेरै पटक सरकारको नेतृत्व समेत गरिसकेको छ । तर मदनको हत्याको कुरा उच्चारण समेत गर्न चाहदैन । एमालेकै भावी पुस्ताले यसलाई त्यो ‘इतिहासको कैद’ बाट मुक्त गराउने अभिभारा सम्झनु पर्ने छ । मदनको ‘बहुदलीय जनवादी’ कार्यक्रम लागु गर्ने
समय थोरै अर्थात करिब एक वर्ष मै कार्यनीतिक प्रस्तोताको मृत्यु भयो । उनको मृत्यु पश्चात अब ‘बहुदलीय जनवाद’ को श्रेय कसले लिने ? भन्नेमा आन्तरीक खिचातानी भएकै हो । ‘बहुदलीय जनवाद’ लाई शरीर मान्नेहरुले मूखमा जननेता भन्दै मदन भण्डारीको नाम जपिरहे तर मदनको विचार ‘जबज’लाई पिठ्युँमा बोकेर ।
पिठ्युँमा बोके पछि आफै सँग रहेको ‘भान’ भइरहने त भयो तर त्यो कस्तो छ आफैले देख्न नसकिने भयो । ‘बहुदलीय जनवाद’ लाई पुच्छर वा टाउको सम्झनेहरुले त मदनको मृत्यु पछि ‘किनारामा बसेर खिचिउँ’ गरे नै । छैठौं महाधिवेशन सम्म आउँदा पार्टी नै विभाजीत भयो । त्यसपछि बहुदलीय जनवाद ‘बाँदरले बारीबाट मकै चोरेर लिदा ’ जस्तै भयो । खास गरेर त्यस्तो वामदेव पक्षलाई भयो । ‘दाना÷गेडाको लोभले बारीबाट चोरेको मकैको खोका खोसल्दा दाना÷गेडा नै नभए जस्तो ’ भयो । वामदेवले नेतृत्व गरेको मालेमा उनी सँग रहेका सिपी मैनालीले ‘बहुदलीय जनवाद’ को व्याख्या गर्ने कुरै भएन । त्यसैले वामदेव आफैले ब्याख्या गरे ‘बहुदलीय जनवाद भनेकै प्रजातान्त्रिकरण हो’ भनेर । यो भनेको ‘घाँसमा भेटिने सबै सर्पहरु हरिया हुन्छन्’ भने जस्तै थियो । तर वास्तविकता त्यस्तो हुँदैन र भएन पनि । अत्तः बामदेव व्याज त परै जाओस साँवा मात्रै पनि ल्याउन सकिन भन्दै एमालेमा विलय भए ।
‘बहुदलीय जनवाद’ नेपालमा वामपन्थी आन्दोलनको लोकतान्त्रिकरण गर्ने उद्देश्यले मात्र मदनले अगाडि सारेका थिएनन् । ‘बहुदलीय जनवाद’ यी कारणहरुले अगाडि सारिएको थियो ः एक, दुनियाँमा कम्यूनिष्ट पार्टी भने पछि तानाशाही, नोकरशाही र एकमनावादी मात्र हुन्छन् र उनीहरुले प्रतिस्पर्धात्मक राजनीतिक प्रणालीलाई आत्मसाथ गर्नै सक्दैनन् भन्ने साम्राज्यवादीहरुको प्रचारलाई झुटो सावित गर्न आवश्यक थियो र त्यसको निम्ति नेकपा एमाले बहुदलीय तिस्पर्धात्मक राजनीतिक प्रणालीलाई खात्मसाथ सहित स्वीकार्ने पार्टी हो भनेर पुष्ट्याइँ गर्नु थियो ।
दुई, नेपालमा २०४६ सालको परिवर्तनले बहुदलीय प्रतिस्पर्धात्मक राज्य व्यवस्थाको स्थापना गरेको थियो र नेकपा एमाले परिवर्तन पश्चातको राजकीय सत्तामा सक्रिय सहभागिता जनाई सकेको थियो । राजकीय सत्तामा सहभागी भई त्यसलाई जनताको पक्षमा प्रयोग गर्नका निम्ति
पार्टीको सांगठानिक संरचनाहरु पनि त्यही अनुरुपको नबनाउन्दा पार्टीले राजकीय सत्ताका निर्वाचित हुने निकायहरुमा आफ्नो विजय सुनिश्चित गर्न सक्दैन्थ्यो । त्यसका निम्ति पनि पार्टीको तत्कालिन कार्यनीति राजकीय सत्ताको संरचनाहरुमा मेल खाने गरी निर्धारण गर्नु आवश्यक थियो ।
तीन, माक्र्स,लेनिन र माओको पाला देखि संसारका कम्यूनिष्टहरुमा सर्वमान्य बनेको विचार थियो –‘क्रान्तिको बाटो बल प्रयोग÷हिंसात्मक’ नै हुन्छ भन्ने । नेपालका सबै कम्यूनिष्ट पार्टीहरुले यही मान्यतालाई आतमसाथ गरिरहेका थिए । यस्तो मान्यताले जबरजस्त कम्यूनिष्ट पार्टीका नेताहरुको दिमागलाई गाँजिरहेको अवस्थामा मदन भण्डारीले ठूलो आत्मविश्वासका साथ नेपाली क्रान्तिको बाटो ‘बल प्रयोग÷हिंसात्मक’ मात्र होइन ‘शान्तिपूर्ण’ पनि हुन सक्छ र नेपालमा त्यो संभव छ भन्ने मान्यतालाई स्थापित गराउन ‘बहुदलीय जनवाद’ अगाडि सारेका थिए । यो तत्कालिन परिस्थितिमा विश्वमा कम्यूनिष्ट सत्ताहरु धरासायी भइरहेकाले हतोत्साहित मनोविज्ञानबाट अगाडि सारिएको नभई एक्काइसौं शताब्दीमा विकास भएको सामाजिक परिवेश, संरचना र मानव चेतनाको विशिष्ठतामा अबको ‘क्रान्तिको बाटो शान्तिपूर्ण’ हुन सक्छ भन्ने आत्मविश्वास सहितको नयाँ विचार थियो ।
यी प्रमूख कारणहरुले गर्दा मदनले ‘जबज’ को कार्यक्रम अगाडि सारेका थिए । तर एमालेको नेतृत्वले ‘जबज’ लाई त्यही रुपमा व्याख्या गर्न सकेन । क्रान्तिको बाटो ‘बल प्रयोग÷हिंसात्मक मात्रै हुन्छ भन्ने कम्यूनिष्टहरुको सदावहार पुरानो मान्यतालाई चिर्न सकेन र त्यसैको परिणाम नेकपा माओवादीले २०५२ साल देखि शुरु गरेको क्रान्तिको बल प्रयोगको बाटोमा एमालेका मात्र होइन ,नेपालमा वाम आन्दोलनको पक्षमा रहेका हजारौं नेता कार्यकर्ताहरु माओवादीको त्यो हिंसात्मक बाटोमा लागे । जुन बाटोले नेपालमा क्रान्ति सम्पन्न नगर्दै दशौं हजार नेपालीलाई मृत्युवरण गरायो भने हजारौं नेपालीहरुको जीवन वा मृत्युको कुनै पत्ता छैन । लाखौं नेपालीहरु प्रत्यक्ष वा अप्रत्यक्ष रुपले नकारात्मक रुपमा अझै सम्म प्रभावित भैरहेका छन् । तर यसको सकारात्मक पक्ष माओवादीको त्यही जनयुद्धको जगमा बाह्र बुँदे सहमती हुँदै नेपालमा जनक्रान्ति सम्पन्न भयो र नेपालमा लोकतान्त्रिक गणतन्त्र समेत आयो ।
मदनको मृत्यु पश्चात एमालेले शुरुमा कार्यक्रमको रुपमा र पछि सातौं महाधिवेशन देखि सिद्धान्तका रुपमा ‘जबज’ लाई ‘पिठ्युइँ’ मा बोकिरहयो । मदन भण्डारीलाई ‘आत्मिक नेतृत्व¬’ मान्ने सम्मका विचारहरु नेताहरुले व्यक्त गरे । किनभने ‘आत्मिक’ भनेपछि ‘पुकारे’ भइहाल्छ । पुकारे पछि अर्थात पुकार्न थालेपछि ‘व्राहमणले गायत्रीमन्त्र जप गर्छ, व्याख्या गर्दैन’ भने जस्तै भयो एमालेमा ‘जबज’ । २०६२÷०६३ को परिवर्तन पछि नेपाल एकात्मक र शाहवंशीय केन्द्रिकृत सामन्ती राज्यबाट संघीय गणतन्त्रात्मक लोकतान्त्रिक राज्यमा रुपान्तरण भयो । त्यही सन्दर्भमा सम्पन्न एमालेको आठौं राष्ट्रिय महाधिवेशनले ‘जबज’ को व्याख्या नयाँ ढंगले अगाडि सा¥यो । त्यस बेला पूर्ण रुपमा त्यसलाई आत्मसाथ नगरिएको भए पनि नवौं महाधिवेशन सम्म आइपुग्दा एमालेले ‘नेपालको पूँजीवादी जनवादी क्रान्ति’ सम्पन्न भएको र अब ‘समाजवादी क्रान्ति’को तयारीको निम्ति राष्ट्रिय पूँजीवादको विकास गर्ने र त्यसको निम्ति राष्ट्रिय उत्पादन सम्बन्ध स्थापीत गर्ने कार्यक्रम अगाडि सारेको छ । त्यो भनेको अब नेपाली सामजवादी क्रान्तिको बाटो ‘बहुदलीय जनवाद’ को मार्गदर्शक सिद्धान्तममा आधारित अर्थात ‘शान्तिपूर्ण बाटो’ बाट नेपाली जनतालाई सम्वृद्ध गराउने भन्ने तय गरेको छ । त्यसैले अब मूखमा मदनको नाम जपेर मात्र होइन , विगतमा पिठ्युइँमा बोकेको ‘जबज’ लाई अगाडि दर्शन अर्थात बाटो बनाएर नेपाली समाजवादी क्रान्ति सम्पन्न गर्नु नेकपा एमालेको निम्ति सबै भन्दा ठूलो चुनौती बनेको छ । यो चुनौतीमा एमालेसँग एकिकरण हुने आफूलाई क्रान्तिको प्रतिबिम्व ठान्ने नेकपा माओवादी केन्द्रले कुन विचारको बाटोमा आफूलाई समाहित गर्ने हो त्यो सोचनिय नै छ । क्रान्तिको बाटो फेरेको माओवादीले ‘जबज’को बाटोलाई आत्मसाथ गर्छ कि गर्दैन ? अब समाजवादी क्रान्तिको बाटो ‘जबज’ बाहेक अरु केही देखेको छ र माओवादी केन्द्रले ?
विगतमा एमाओवादीले पनि उसको हटौडा महाधिवेशनबाट केही नयाँ मान्यता अगाडि सारेको थियो । उसले ‘नेपाली समाज अर्धसामन्ती आर्थिक अवस्थाबाट पूँजीवादी आर्थिक अवस्था तर्फ अग्रसर समाज, औपनिवेशिक अवस्थाबाट पूर्ण राष्ट्रिय स्वाधिनताको अवस्थातिर अग्रसर राष्ट्रिय आन्दोलन एवं संक्रमणकालिन राजनीतिक परिस्थितिमा सर्वहारा वर्गीय राजनीतिक नेतृत्वको बलियो उपस्थितिको ठोस परिस्थितिमा जनवाद र समाजवाद बीचको दुरी पुरै घट्न गएको कुरा प्रति पार्टी स्पष्ट हुँदै यस दृष्टीले जनवादी क्रान्तिको बाँकी कार्यभार पुरा गर्ने रणनीति स्वतहः समाजवादी क्रान्तिको तयारीको रणनीति बन्न पुग्छ र त्यसको तयारीको निम्ति राष्ट्रिय पूँजीको विकास गर्नु पर्ने तथा त्यो कार्यको लागि उत्पादन सम्बन्धमा विशेष जोड दिनु आवश्यक छ ’भनेर उल्लेख गरेको थियो । तर आजको दुनियाँमा सैद्धान्तिक अवधारणा सही भएर मात्रै पुग्दैन । त्यसलाई ठीक ढंगले परिचालन गर्न उसको राजनीतिक संगठन, अर्थराजनिित र सांस्कृतिक आचरणहरु पनि सोही अनुरुपका हुनु अनिवार्य हुन्छ । एमाओवादीले महाधिवेशनले पारित गरेको विचारलाई कागजमै थन्क्याएर नेतृत्वले एकमनावादी चिन्तन, राजनिित, सांगठानिक संरचना र संस्कृतिलाई युद्धकालमा झै निरन्तरता दियो । यसले विचार र राजनीतिमा, राजनीति र संगठनमा अनि संगठन र संस्कृति÷प्रवृत्तिमा अन्तरविरोध जन्मायो र एमाओवादी पहिले भन्दा एकतीहाई सानो आकारमा खुम्चिना पुग्यो । आजका दिनमा पनि ऊ यही प्रवृत्तिबाट गुज्रिरहेको छ र यसबाट माओवादी नेपालमा वाम आन्दोलनको केन्द्र बन्न सक्ने सम्भावना सकिएको छ । त्यसैले उसले विकल्प खोज्यो । त्यो उपयुक्त विकल्प नेकपा एमालेसँग वाम एकता गर्दै पार्टी एकिकरण समेत गर्ने । तर नेपाली वाम आन्दोलनका लोभिपापीहरु सजिलै वाम एकतामा अटाउने कुरा प्रति धेरैको आशंका कायमै छ ।
यति बेला अब आउने दिनमा नेपालमा वाम आन्दोलनलाई शान्तिपूर्ण बाटोमा एकतावद्ध गराउँदै समाजवादी क्रान्तिको नेतृत्व गर्ने अवसर नेकपा एमालेलाई प्राप्त भएको छ । त्यसको निम्ति उसले महाधिवेशन पश्चात पार्टीको सांगठानिक संरचनाहरुको सबै तहमा विचार र राजनीति, राजनीति र संगठन अनि संगठन र संस्कृति÷प्रवृत्तिलाई सन्तुलित ढंगले परिचालन गर्नु आवश्यक छ । यसको निम्ति अब नेकपा एमालेले ‘मूखको मदनलाई पिठ्युइँमा र पिठ्युइँको जबज लाई मूखमा ’ गराउन आवश्यक छ । ‘जबज’ लाई नेपाली क्रान्तिको मात्र होइन, एक्काइसौं शताब्दीमा विश्व क्रान्तिको नयाँ दर्शनको रुपमा स्थापीत गराउन सकिन्छ । किनभने ढुंगे युगमा क्रान्ति ढुंगा,भाला,खुकुरी,तरवार बाट गरिन्थ्यो । त्यसपछि बन्दुक,गोलाबारुद बाट हुने क्रान्तिको युग आयो । अनि टयाङ्क, मिसाइल,क्षेप्यास्त्र हुँदै आजको एक्काइसौं शताब्दीमा इन्टरनेटबाट प्रयोग गरिने सामाजिक सञ्जाल तथा साइबरवार बाट गरिने क्रान्ति स्वभाविक रुपमा माक्र्सवादको पुरानो मान्यता क्रान्तिको बल प्रयोगको बाटो बाट संभव छैन । क्रान्तिको शान्तिपूर्ण बाटोबाट नेपालमा समाजवादी क्रान्ति सम्पन्न भयो भने नेपाली क्रान्ति संसारमा एक्काइसौं शताब्दीका समाजवादी क्रान्तिको मार्गदर्शनको रुपमा सार्वभौम बन्ने छ । त्यो कार्यभार नेकपा एमालेले पुरा गर्न सक्छ कि सक्दैन भविश्यले देखाउला नै ।

प्रकाशित मितिः बिहिबार, अशोज २६, २०७४     9:16:07 AM  |