घोराही, २५-असोज / घोराही उपमहानगरपालिकाले बजारका मासु पसलहरुलाई तीन दिन भित्रै व्यवस्थितरुपले सञ्चालन गर्न निर्देशन दिएको छ । व्यवसायीहरुले नियम विपरित मासु विक्रि गर्दै आएको अनुगमनका क्रममा फेला परेपछि उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले तीन दिन भित्र व्यवस्थितरुपमा पसल सञ्चालन गर्न निर्देशन दिएका छन् ।

आगामी २८ गते देखी अनिवार्यरुपमा डिफ्रिजमा मासु राखेर बिक्रि गर्ने, बाहिरै नझुण्डाउने, जाली वा सिसा प्रयोग नगर्नेमा मासु व्यवसायीहरुले सहमति जनाएका छन् । मासु बजारको बेतिथीका बिषयमा तुलसीपुर अनलाईनले निरन्तर फलोअप समाचार प्रकाशन गर्दै आएको छ ।

मासु व्यवसायीहरुले नियमक निकायको निर्देशनलाई अटेरी गरेपछि नगर प्रमुख चौधरीले खसी, राँगा र बंगुरका मासु व्यवसायीलाई कार्यालयमा बोलाएर तत्काल नियम अनुसार चल्न निर्देशन दिएका हुन् ।

अब मासु सबै मासु व्यवसायीहरुले अंकुशमा बाहिर झुण्ड्याउन पाउने छैनन् भने सबै मासुलाई फ्रिजमा राखेर बिक्रि गर्ने छन् । पसलको होडिङबोर्डमा मासु देखाउनुस तर खुलारुपमा मासु नफिज्नुस नगर प्रमुख चौधरीले मासु व्यवसायीलाई भने, — स्वच्छ मासु बिक्रि गरेर उपभोक्ता अधिकारलाई संरक्षण गर्ने जिम्मा तपाईहरुको हो ।

तपाईको व्यवसायले मानव स्वास्थ्य र वाताबरणमा कुनै असर नगरोस सोही अनुरुप अघि बढ्नुस चौधरीले भने । छलफलमा मासु पसल सबैले दर्ता गर्ने, सफा राख्ने, नझुण्डाउने, सबै फ्रिजमा राख्ने, जाली, सिसाको प्रयोग नगर्ने, मूल्य सूचि राख्ने, खसी, बोका र बाख्राको मासु छुट्टा छुट्टै राख्ने लगाएतका बिषयमा व्यवसायीहरु सहमत भएका छन् ।

उक्त निर्णयहरुको कार्यान्वयन भए नभएको अनुगमन गर्न वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगीको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा जिल्ला प्रशासन, जिल्ला प्रहरी, जिल्ला पशु सेवा, मेयरका प्रेस संयोजक निमुसंगम घर्ती, खसी मासु व्यवसायी असलम ईद्रिसी, राँगा मासु व्यवसायी किशोर बिक, बंगुर मासु व्यवसायी पूर्णप्रकाश घर्ती र कुखुरा मासु व्यवसायी जगत चौधरी रहेका छन् ।

अनुगमनका क्रममा उक्त निर्णयहरु कार्यान्वयन नभएको पाईए मासु जफत गर्ने र कानुन बमोजिक कार्वाही भोग्न व्यवसायीहरु तयार समेत भएका छन् ।