20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

बाँकेमा फेरी बढ्यो गुण्डागर्दी, हतियारधारी युवाहरुद्वारा हुलाकी राजमार्गको काम नगर्न ठेकेदारलाई धम्की

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, अशोज २४, २०७४  

नेपालगन्ज ।
बाँकेमा निर्माणाधीन हुलाकी राजमार्गमा शनिवार राति एउटा समूह पुगेर डोजर लगायत निर्माण उपकरणहरु नियन्त्रणमा लिंदै काम नगर्न धम्की दिएको छ ।
केहि महिना अघि मात्रै कम्पनीको काम अवरुद्ध गरेको विषयमा जिल्ला प्रहरी कार्यालय बाँकेले आधा दर्जन गुण्डाहरुलाई कारवाही चलाइसकेको छ । शनिवार राति ११ बजेको समयमा दुई दर्जनको संख्यामा पुगेको युवाहरुको एउटा समूहले निर्माण कम्पनीले कमिशन तिर्नु पर्ने माग अघि सारेको खुलेको छ ।
सपना ट्रेडर्स नामको फर्मले जिल्ला भरिको नदीजन्य सामाग्री निकासी, उत्खनन्मा राजश्व असूलीको ठेक्का लिएपछि हुलाकी सडक निर्माणमा अवरोध उत्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । अहिले फत्तेपुरको सोनपुर देखि मटेहिया सम्म ग्राभेलको काम गरिरहेको गणपति ग्रुप अफ कन्सट्रक्सन कम्पनीले गत वर्ष राजश्व तिरेर स्टक गरेको ग्राभेल पनि सपना टे«डर्सका प्रोप्राइटर गोपाल अधिकारीले रोकेको कम्पनीका साईट इन्चार्ज इन्द्र केसीले आरोप लगाए ।
‘नयाँ उत्खनन् गर्ने विषयमा मात्रै अधिकार क्षेत्र रहेको सपना ट्रेडर्सले गुण्डा नै परिचालन गरेर हूलहुज्जत गरेर ट्रकहरु नियन्त्रणमा लिएको थियो’, साईट इन्चार्ज केसीले भने, ‘स्थानीय स्तरमा चौतर्फी त्रासको वातावरणले काम गर्ने स्थित नै छैन ।’ उनले दुईदर्जन बढि युवाहरुले प्रति टिप्पर कमिशनको माग गरेको खुलासा गरे ।
‘हात हतियार, खुडा सहित पुगेका युवाहरुले कामदारलाई नियन्त्रणमा लिएका थिए’, केसीले भने, ‘असुरक्षाको अवस्था निकै बढि भयो ।’ सपना ट्रेडर्सको प्रोप्राइटर गोपाल अधिकारीले घटनास्थलमा छिटपुट हूलहुज्जत भएको स्वीकारेका छन् । हामीले कर तिरेको प्रमाण पेश गर्न निर्माण कम्पनीको प्रतिनिधीलाई भनेकोमा पेश नगरेकोले चालक, सहचालकले त्यस्तो गरेको अधिकारीले बताए । ‘एक पटक कर तिरेको ग्राभेलबाट दोस्रो पटक कर लिने कुरै छैन’, उनले भने, ‘प्रमाण देखाए समस्या आफै समाधान हुन्छ ।’
यद्यपि स्टक चेक गर्ने अधिकार क्षेत्र सपना ट्रेडर्सको नभएको समन्वय समितिले बताएको छ । ‘स्टकको विषयमा के कस्तो कर तिरे नतिरेको अवस्था समन्वय समितिले आफै हेर्छ’, समन्वय समितिका अध्यक्ष अजय श्रीवास्तवले भने, ‘सम्झौता भएको मिति देखि नयाँ उत्खनन्, र सो को कर मात्रै सम्झौता गरेको फर्मले हेर्न पाउँछ ।’
‘जिल्ला भित्र विकास निर्माण कार्यमा कहिंपनि अवरोध हुनु हुँदैन’, अध्यक्ष श्रीवास्तवले भने, ‘निर्माण कम्पनीलाई भएको समस्या बारे उजुरी नआएकोले अधिकाँश कुराहरु जानकारी हुन सकेको छैन ।’ राप्ती सोनारी गाउँपालिका स्थित ढलैयाबाट गत वर्ष निकाले ग्राभेल स्टक राखिएको र सो स्टकबाटै हाल निर्माण कार्य जारी रहेको कम्पनीले जनाएको छ । ईन्जिनियर केसीले आफु संग कर तिरेको प्रमाण भएपनि विचौलियाको माध्यमबाट रकम असूल गर्ने प्रयास भइरहेको बताए ।
१३ करोड ५० लाख रुपैयामा २०७५ जेष्ठ मसान्त सम्मका लागि सपना ट्रेडर्सले बाँकेको नदीजन्य उत्खनन् हेर्न र त्यसमा कर असूल गर्न असोज १० गते सम्झौता गरेको छ । विदा परेका कारण १६ गतेबाट मात्र काम सुरु गरिएको संचालक गोपाल अधिकारीले बताए । ‘विवाद मिलाउन हामी तयार नै छौं, यसमा खासै विवाद पनि होइन’, अधिकारीले भने, ‘निर्माण कम्पनीले अटेरी गरेकोले विवाद उत्पन्न भएको हो ।’ फत्तेपुरका स्थानीय युवा नेता लवराज खरेलले भने निर्माण कम्पनीले स्टक प्रमाणित नगरेकोले विवाद उत्पन्न भएको बताएका छन् ।
‘विकासको काममा अवरोध गर्न खोजिएको होइन’, खरेलले भने, ‘निर्माण कम्पनीले कानून बमोजिम पूरा गर्नु पर्ने दायित्व पूरा नगरेकोले असमझदारीको स्थिति देखा परेको हो ।’ जिल्ला प्रहरी कार्यालयमा उजुरी आएकोले विवादमा संलग्न मानिएका सबैलाई छलफलका लागि बोलाइएको प्रहरी प्रमुख एसपी टेक बहादुर तामांगले बताए ।
‘यसरी काम अवरोध गर्न मिल्दैन’, एसपी तामांगले भने, ‘यसमा भएको वास्तविकता बुझ्न हामीले दुबै पक्षलाई संगै आउन भनेका हौं ।’ शान्ति सुरक्षा कायम गर्ने हाम्रो पाटो भएकोले यसरी अवरोध गर्नेलाई कारवाहीको दायरामा ल्याइने उनले बताए ।
#दैनिक नेपालगन्जबाट ।

प्रकाशित मितिः मङ्लबार, अशोज २४, २०७४     5:26:59 PM  |