26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

नेकपा एमालेका वर्तमान सांसद नै परेनन् सिफारिसमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, अशोज २०, २०७४  

मिसन समाचारदाता कोहलपुर, १९असोज / नेकपा एमाले बाँकेले आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा (संघ) को निर्वाचनका लागि उम्मेदवार सिफारिस टुङ्ग्याएको छ । तर सिफारिसमा वर्तमान संसदमा प्रत्यक्ष तर्फ निर्वाचित सांसदहरु कोही पनि पर्न सकेनन् ।
बिहिबार सम्पन्न भएका उम्मेदवार सिफारिस छनौट समितिका बैठकमा बाँके क्षेत्र नं.१ का सांसद देवराज भारले अन्तिम समयमा आफ्नो उम्मेदवारी फिर्ता लिएपछि सर्वसम्मत रुपमा जिल्ला अध्यक्ष अशोक कोइराला, सचिवालय सदस्य सूर्य ढकाल र महिला नेतृ भारती खनाललाई सिफारिस गरेको छ ।
त्यस्तै क्षेत्र नं.२ बाट वर्तमान सांसद दिनेशचन्द्र यादव पनि सिफारिसमा पर्न सकेनन् । सो निर्वाचन क्षेत्रमा एमालेले लोकतान्त्रिक फोरम हुँदै राजपाका केन्द्रीय सह–महामन्त्री समेत रहेका र हालै एमाले प्रवेश गरेका पशुपतिदयाल मिश्रलाई सर्वसम्मत रुपमा सिफारिस गरेको छ ।
त्यस्तै क्षेत्र नं.३ बाट वर्तमान सांसद दलबहादुर सुनार सिफारिसमा मतदान हुँदा पराजित भएका छन् । सो क्षेत्रमा बिहिबार मतदानद्वारा सिफारिस टुङ्ग्याउनु परेको थियो । मतदान हुँदा त्यस क्षेत्रका पुराना वामपन्थी नेता एवम् एमाले बाँकेका जिल्ला अध्यक्ष नन्दलाल रोकायले सबै भन्दा बढी ३५ मत र कमल बस्नेतले २९ मत प्राप्त गरी सिफारिसमा पर्न सफल भए ।
वर्तमान सांसद एवम् त्यस क्षेत्रका लोकप्रिय नेता दलबहादुर सुनारले २९ मत प्राप्त गरी सिफारिसमा पराजित भए । महिलामा एकता शाह सर्वसम्मत रुपले सिफारिसमा परेकी हुन् ।
बाँकेमा गत २०७० को दोस्रो संविधान सभाको निर्वाचनमा ४ निर्वाचन क्षेत्रमध्ये ३ निर्वाचन क्षेत्रमा प्रत्यक्ष तर्फ एमाले विजयी भएको थियो ।
आगामी २०७४ मंसिर २१ गते हुने प्रतिनिधि सभा (संघ) को निर्वाचनमा एमालेका वर्तमान सांसदहरु कोही पनि नपर्नुको सम्वन्धमा बाँके एमालेका युवा नेता सूर्य ढकालले ‘एमालेमा सबै नेता कार्यकर्ताहरु सक्षम छन्, पार्टी, संगठन र आन्दोलनमा गरेको त्याग, समर्पण र क्रियाशीलताको आधारमा सबैलाई क्रमशः कहिँ न कहिँ अवसर दिनुपर्छ भन्ने सचेत मान्यताका कारण पुराना नदोहोरिएको बताए’ ।

प्रकाशित मितिः शुक्रबार, अशोज २०, २०७४     8:05:50 AM  |