26 September 2021  |   आइतवार, अशोज १०, २०७८

को हुन् एमाले-माओवादी एकताका सूत्रधार ? कसरी मिले ओली र प्रचण्ड ?

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, अशोज १८, २०७४  

प्रधानमन्त्री देउवाले गृहमन्त्री शर्मालाई फोनबाटै भने–त्यति सिट त मै दिइहाल्थेँ नि

१८ असोज, काठमाडौं । ०६४ सालको संविधानसभा निर्वाचनबाट माओवादी ठूलो मतान्तरसहित मुलुकको पहिलो दल बनेपछि प्रचण्डले आन्तरिक भेलाहरुमा भनेका थिए, अब सके एमालेलाई निल्ने नत्र ऊसँग मिल्ने नीतिअनुरुप नेपालमा एउटै कम्युनिस्ट केन्द्र बनाउनुपर्छ ।

‘सके मिल्ने नसके निल्ने’ नीति कुनैबेला माओवादीले लियो भने त्यही नीति एमालेले ०७० को संविधानसभा चुनावपछि लियो । एकले अर्कोलाई निल्ने नीति असफल भएपछि अन्ततः सबैलाई ‘सर्प्राइज’ दिँदै यी दुई ठूला कम्युनिस्ट पार्टी मिल्ने निर्णयमा पुगे ।

यी हुन् एकताका निरन्तर सूत्रधार

एमाले-माओवादी एकता केही दिन वा महिनाको प्रयासबाट भएको होइन । दुवै पार्टीका केही नेताको १० वर्षदेखिको निरन्तर प्रयासबाट चुनावी तालमेल हुँदै एउटै पार्टी निर्माणतर्फ अगाडि बढेको हो ।

कम्युनिस्ट पार्टी स्थापनाको ६८ वर्षपछि नेपालमा एकीकृत कम्युनिस्ट पार्टी बनाउने अभियानका पर्दा पछाडिका खेलाडी को को हुन् ? हामीले दुवैतिरका सूत्रहरुसँगको चरणबद्ध छलफलपछि निकालेको निष्कर्ष हो- यो एकताका १० वर्षदेखिका निरन्तर सूत्रधार एमालेका बामदेव गौतम र विष्णु पौडेल हुन् । माओवादीबाट भने समयक्रममा पात्रहरु फेरिएका छन् ।

पछिल्लो ‘सर्प्राइज एकता’का सूत्रधार माओवादीबाट जनार्दन शर्मा बने भने एमालेबाट गौतम र पौडेल नै थिए । गौतम र पौडेलले केपी ओलीको दूतका रुपमा काम गरे, शर्माले प्रचण्डको दूतका रुपमा । उनीहरुबीच दर्जनौं पटक भेटघाट र छलफल भए ।

ओलीले माओवादीसँग एकताका लागि ‘ट्रयाक-वान’मा गौतम र पौडेललाई निरन्तर लगाएकै थिए । ‘ट्रयाक-टु’मा उनले महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई पनि लगाइरहेका थिए, जसले माओवादीका विभिन्न तहका नेतालाई ‘इंगेज’ गराए ।

उपमहासचिव घनश्याम भुसाल र सचिव योगेश भट्टराईले आ-आफ्नै ढंगबाट माओवादीलाई कांग्रेससँगको सहकार्यबाट अलग गराउने प्रयास जारी राखेका थिए । कांग्रेसको आँखा छलेर गरिएका वार्ताहरु निष्कर्षमा पुग्ने बेला मात्र एमालेका झलनाथ खनाल, माधव नेपाल तथा माओवादीका नारायणकाजी श्रेष्ठ, रामबहादुर थापाहरुलाई सहभागी गराइयो ।

जो असन्तुष्ट भए, विरोध गर्न सकेनन्

एमालेसँगको एकता प्रक्रियामा कृष्णबहादुर महरा र वर्षमान पुन असन्तुष्ट रहे पनि उनीहरुले सार्वजनिक विरोध गरेनन् । १६ बुँदे सम्झौताका बेला एमालेसँग पार्टी एकीकरण गर्नुपर्छ भनेर लागेका पुन पछिल्लो प्रक्रियामा प्रचण्डले जनार्दन शर्मालाई अगाडि सारेपछि चुपचाप रोल्पातिर व्यस्त भए । उनी एकता घोषणासभामा समेत उपस्थित भएनन् ।

एमालेमा माओवादीसँग पार्टी एकता गर्नेसम्मको ओलीको प्रस्तावको कोही पनि विरोधमा देखिएनन् । तर, माधव नेपालले आफ्नो भूमिका कमजोर पार्न खोजिएको आशंकामा चित्त दुःखाएको स्रोतको दाबी छ । शान्ति प्रक्रियादेखि अहिलेसम्मको आफ्नो भूमिकालाई नजरअन्दाज नगर्न उनले ओलीलाई पटक-पटक चेतावनी समेत दिएका छन् ।

पार्टी एकीकरण संयोजन समितिमा एमालेबाट चार जना सदस्य रहने भनिए पनि झलनाथ खनाल र ईश्वर पोखरेलमध्ये को रहने भन्ने प्रश्न उठेपछि खनाल पनि खिन्न भएका छन् । समितिमा ओली, नेपाल र गौतम रहनेमा कुनै विवाद छैन । तर, चौथो सदस्यमा पूर्वप्रधानमन्त्री र पूर्वपार्टी अध्यक्षका हैसियतमा खनाल रहने भन्ने एउटा र पार्टीको कार्यकारी महासचिव भएकाले पोखरेल रहनुपर्छ भन्ने दोस्रो तर्क छ ।

ओलीको रुची पोखरेललाई राख्ने छ । नेपालले पोखरेललाई आफ्नो प्रतिस्पर्धी ठानेका कारण उनी पोखरेल संयोजन समितिमा नरहुन् भन्ने चाहन्छन् । नेपाल जसरी पनि दशौं महाधिवेशनपछि अध्यक्ष बन्न चाहन्छन् । तर, यसबीचमा पार्टी नै एकीकरण भयो भने आफ्नो भूमिका के हुने भन्ने चिसो पनि नेपालको मनमा पसेको छ ।

ओली र प्रचण्डको चमत्कार

ओली र प्रचण्डबीच एउटै पार्टी र एउटै चुनाव चिन्ह (सूर्य) लिएर चुनावमा जाने सहमति भएको थियो । तर, निर्वाचन आयोगले दल दर्ता गरिसकेको र मतपत्र छपाइ थालिसकेको अवस्थामा एउटै दल दर्ता गर्ने कानूनी अड्चन रहेका कारणले मात्र चुनावअघि पार्टी एकीकरण रोकिएको यसका सूत्राधार तथा गृहमन्त्री शर्माले अनलाइनखबरलाई बताए ।

ओली र प्रचण्ड दुवै साहसी र कठोरतामा अति कठोर अनि लचक पनि हुन सक्ने स्वभावका भएकै कारण एकता सम्भव भएको सूत्राधारहरुको निष्कर्ष छ । उनीहरु भन्छन्, ‘प्रचण्डले त पटक-पटक चमत्कार गर्थे नै, ओलीले एक कदम बढेर सर्जिकल अट्याक नै गरे ।’

पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी र चुनाव चिन्ह सूर्य रहने निर्णय तत्काललाई रोकिए पनि एमाले-माओवादी एकता अब नरोकिने स्पष्ट भएको छ । यो निर्णयमा पुग्न के कस्ता सिलसिला चले ? एकताका सूत्राधारहरुसँगको कुराकानीका आधारमा हामीले यहाँ सूत्रबद्ध गरेका छौं ।

१० वर्ष, १० उल्लेखनीय सिलसिला

सिलसिला १ः ०६३ सालमा माओवादी शान्ति प्रक्रियामा आएर शान्ति सम्झौता हुनासाथ एक दिन एमालेका तत्कालीन स्थायी कमिटी सदस्य वामदेव गौतम र विष्णु पौडेल बागबजारस्थित एक होटेलमा प्रचण्डलाई भेट्न गए । त्यतिबेला माओवादी नेताहरुको स्थायी आवास व्यवस्था भइसकेको थिएन ।

उनीहरुले त्यहाँ प्रचण्डले अब माओवादी आन्दोलन सकिएकाले अलग पार्टी भएर बस्नुको औचित्य छैन भन्दै एकताको प्रस्ताव गरे । यो नै एमाले र माओवादीबीच एकताको पहिलो शुरुवाती छलफल थियो ।

सिलसिला २ः ०६४ को चुनावअघि एमाले र माओवादीबीच पहिलो पटक औपचारिक रुपमै एकताको वार्ता भयो । नयाँबानेश्वरस्थित एक घरमा भएको त्यो वार्तामा एमालेबाट तत्कालीन महासचिव नेपाल, ओली, खनाल, गौतम, पोखरेल र पौडेल थिए ।

माओवादीबाट प्रचण्ड, मोहन वैद्य, बाबुराम भट्टराई, रामवहादुर थापा, महरा र देव गुरुङ सहभागी थिए । सुकुलमा बसेर उनीहरुबीच लामो छलफल भयो । एउटै कम्युनिस्ट पार्टी निर्माण गर्न दुवै पार्टीका नेताहरु नीतिगत रुपमा सहमत भएर उठेका थिए ।

सिलसिला ३ः बानेश्वर बैठकलगत्तै एमालेले केन्द्रीय कमिटी डाकेर एउटै कम्युनिस्ट पार्टी निर्माणमा अगाडि बढ्ने निर्णय नै गरायो । एमाले बैठकपछि विष्णु पौडेललाई अन्तरपार्टी निर्देशन तयार गर्न लगाइयो । संगठित सदस्यसम्म जाने अन्तरपार्टी निर्देशनको एउटा कपी बोकेर गौतम र पौडेल प्रचण्डलाई भेट्न गए ।

त्यतिबेला प्रचण्ड बौद्धको एक होटेलमा बस्थे । त्यही होटेलको एउटा कोठामा प्रचण्ड, बाबुराम र वैद्यलाई गौतम र पौडेलले एमालेको अन्तरपार्टी दिर्नेशन नै देखाए । यो विल्कुल नयाँ परिघटना थियो ।

एमालेको निर्णयपछि तत्कालीन नेकपा माओवादीको काभ्रे फूलबारी रिसोर्टमा बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको मार्गनिर्देशक सिद्धान्तबाट प्रचण्डपथ हटाएर एमालेसँग एकताको ढोका खोल्यो । दुई पार्टीबीच एकताका लागि कागजात नै आदानप्रदान भए पनि त्यसबेला एमालेको दम्भ र माओवादीको अति महत्वाकांक्षाका कारण एकता होइन, तालमेलसमेत हुन सकेन ।

सिलसिला ४ः पहिलो संविधानसभामा तालमेल गर्ने र त्यसपछि पार्टी एकता गर्ने प्रयास असफल भएपछि एमालेका पौडेल र माओवादीका टोपबहादुर रायमाझीले लुम्बिनीमा मात्रै भने पनि तालमेल गर्न खोजे । लुम्बिनीका २६ मध्ये १३/१३ सिट बाँड्ने सहमति भयो । प्रचण्ड निवासमा एमालेका पौडेल र रामनाथ ढकाल गएर वार्ता गरे ।

गुल्मी ३ मा पौडेलले गोकर्ण विष्ट र प्रचण्डले चन्द्रबहादुर थापा ‘सागर’लाई छाड्न नसक्ने अवस्थामा पनि अन्तिममा प्रचण्ड पछाडि हटे । तर, त्यो तालमेल पनि अन्तिममा भाँडियो ।

चुनावबाट माओवादी ठूलो दल बनेर आएपछि एमालेका गौतम र पौडेलले नै माओवादीसँग पुनः वार्ता थाले । प्रचण्ड नेतृत्वको सरकारमा दुवै एमाले नेता मन्त्री बनेर गए ।

तर, प्रधानसेनापति काण्डका कारण यो एकता पनि लामो समय चल्न सकेन । पछि जनार्दन शर्माहरुको पहलमा झलनाथ खनाललाई प्रधानमन्त्री बनाउन प्रचण्ड सहमत भए । खनालले निर्णय क्षमता देखाउन नसकेपछि एमाले-माओवादी एकताको प्रक्रिया अगाडि बढ्न सकेन ।

सिलसिला ५ः १२ वैशाख ०७२ को विनासकारी भूकम्पको धक्काले नदीको दुई किनारामा रहेका ओली र प्रचण्डलाई एउटै धारमा ल्याइदियो । त्यस अघिसम्म ओली र प्रचण्ड आमने सामने भएर दुई धारको नेतृत्व गरिरहेका थिए ।

कसैले सोचेकै थिएनन्, यी दुई नेता मिल्छन् भनेर । तर, उनीहरु मिलेर १६ बुँदे सम्झौता हुँदै भारत र देशभित्रकै शक्तिहरुको असहमतिबीच संविधान जारी भयो । यसबीचमा प्रचण्डको समर्थनमा ओली प्रधानमन्त्री मात्र भएनन्, दुई पार्टी एकीकरणको प्रक्रियासमेत अगाडि बढेको थियो ।

सिलसिला ६ः आलोपालो प्रधानमन्त्री बन्ने सहमतिअनुरुप ओलीले आफूलाई सत्ता हस्तान्तरणमा आनाकानी गरेपछि प्रचण्डले ओलीकै शब्दमा ‘छापामार शैलीमा झ्याप्पै’ अविश्वास प्रस्ताव ल्याएर कांग्रेसको समर्थनमा प्रधानमन्त्री बने । यो घटनापछि एमाले र माओवादीको आरोप/प्रत्यारोप निकृष्ट तहमा पुग्यो । यो तिक्तता स्थानीय तहको चुनावसम्म पुग्दा कांग्रेससँगै माओवादीको तालमेलसम्म पुग्यो ।

सिलसिला ७ः भरतपुरलगायत केही ठाउँबाहेक कांग्रेससँगको तालमेल माओवादीका लागि लाभदायक नभएपछि जनार्दन शर्माले पुनः एमालेसँग छलफल अगाडि बढाएका थिए । हुन त, स्थानीय तहमा तालमेलका लागि एमालेले माओवादीसँग निकैपटक छलफल गरेको थियो ।

तर, सत्ता गठबन्धन छाडेर एमालेसँग तालमेल गर्न माओवादीले नचाहेको शर्माले हामीसँगको कुराकानीमा पनि स्वीकार गरेका छन् । एमालेसँग तालमेल गर्ने भए माओवादीले चारमध्ये दुई महानगर मागेको थियो, जुन ओलीले अस्वीकार गरे ।

केही ठाउँमा स्थानीय आवश्यकताका आधारमा एमालेसँग तालमेल गरे पनि आम रुपमा कांग्रेस माओवादी तालमेल भयो । यसले एमाले-माओवादी तिक्तता विशेषगरी भरतपुर प्रकरणले झनै बढायो ।

सिलसिला ८ः कांग्रेस-माओवादी तालमेलको प्रक्रिया प्रदेश २ को चुनावसम्म आउँदा लगभग भत्कियो । माओवादीलाई अत्यन्तै कम आँकेर कांग्रेसले हेपेको र भरतपुर महानगरको कार्यपालिका चुनावमा कांग्रेसले घात गरेर एमालेलाई जिताएपछि प्रचण्ड झस्किए ।

उनले भरतपुर प्रकरणलाई लिएर देउवासँग यसले भविष्यको गठबन्धनलाई नै असर पार्न सक्ने चेतावनी दिए । तर, देउवाले प्रचण्डको कुरालाई गम्भीरतापूर्वक लिएनन् । उनले माओवादीलाई केही सिट दिएर एमाले हराउने दाउ खेलेका थिए ।

यहीबीचमा एमालेले राम्रैसँग खेल्यो । स्थानीय तहको चुनावमा माओवादी कांग्रेससँग मिलेकै कारण धेरै ठाउँ गुमाउनुपरेको र आउने चुनावमा कांग्रेस-माओवादी तालमेल हुँदा पहिलो पार्टी बन्ने लक्ष्यमा धक्का लाग्ने देखेपछि एमालेले माओवादीसँग तालमेल होइन, एकताकै प्रस्ताव अघि सार्‍यो । देउवाले जतिबेला यो कुरा थाहा पाए, त्यतिन्जेलसम्म धेरै ढिला भइसकेको थियो ।

वामदेवले त्यतिबेलै प्रचण्डले गम्भीर भूल गरेको, अधैर्य बनेको, देउवादेखि देउवासम्म भनेर निरन्तर एकता र सघर्षको नीति लिए । सात जुनीसम्म पाप लाग्ने कुरा पनि गरे । तर, स्थानीय चुनावकै बेला उनले अनलाइनखबरमार्फत् एउटै चुनाव चिन्हबाट लड्ने प्रस्ताव मात्र राखेनन्, ढिलो चाँडो आफ्नो लाइनमा एमाले र माओवादी आउने ठोकुवा गरे ।

सिलसिला ९ः अधिकांश नेपाली दशैंको टीकामा रमाइरहेका बेला ओली र प्रचण्ड माइतीघरस्थित एक माओवादी समर्थकको घरमा वार्ता गरिरहेका थिए । वामदेव, विष्णु पौडेल र जनार्दन शर्माहरुको निरन्तर छलफलपछि दुई शीर्ष नेता निर्णायक वार्तामा बसेका थिए ।

त्यहाँ पार्टी एकीकरण गरेर एउटै पार्टी र सूर्य चिन्ह लिएर चुनावमा जानेसम्मको निर्णय भयो । दुवै नेता सहमतिको मस्यौदा बोकेर आ-आफ्नो पार्टीबाट अनुमोदन गराउन हिँडे । यद्यपि, यो कुरा सीमित नेताबाहेक अरुलाई थाहा दिइएन ।

सिलसिला १०ः एकता माओवादीको आवश्यकता र एमालेको बाध्यता बनिसकेको थियो । आन्तरिक र बाह्य चलखेलले एकता भाँडिने डरले रातारात दुई पार्टीबीच लिखित सहमति भयो ।

एमालेले एकादशीकै दिन ओलीको प्रस्तावलाई कमा र फुलिस्टपसमेत परिवर्तन नगरी हुबहु अनुमोदन गर्‍यो । माओवादीमा भने गोपाल किराती, मणी थापा, मात्रिका यादवलगायत नेताले असहमति जनाए । अन्य नेेताले मुखले विरोध गरेनन् ।

एकताको निर्णय गर्ने जिम्मा प्रचण्ड, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले पाए । यसबीचमा एमालेले हृदयेश त्रिपाठी नेतृत्वमा राजपाको एउटा हिस्सालाई पनि आफूतिर तान्यो ।

बाबुराम भट्टराईको नयाँशक्ति पनि एमालेकै सूर्य चिन्हमा विलिन भयो । जसले गर्दा एम्ााले माओवादी एकताको आधार झनै बलियो भयो र पार्टी एकीकरणको सहमतिमा हस्ताक्षर भयो ।

यससँगै १० वर्ष लामो एकता, संघर्ष र फेरि एकताको परम्परागत ‘बामपन्थी जार्गन’ व्यवहारमा प्रयोग भयो ।

देउवाको फोन जनार्दनलाई- मै दिन्थेँ नि त्यति सिट

यति अन्तरकथा उल्लेख गरिसकेपछि एउटा रमाइलो प्रसंग छुटाउन मिलेन । विजया दशमीको दिन प्रचण्ड र ओलीबीच सहमतिको सुइँको बालुवाटारमा पनि पुग्यो । प्रधानमन्त्री देउवाले त्यहींबाट गृहमन्त्री जनार्दन शर्मालाई फोन गरेर सोधे- यो के भा’को हो ?

शर्माले जवाफ दिए- पार्टी एकता हुन लागेको ।

देउवाले बुझेनछन् । उनले फेरि सोधे- दुई पार्टी एकीकरण गर्ने भनेको हो ?

गृहमन्त्री शर्माले ‘हो’ भनेपछि देउवाले भने- लौ के गरेको ? त्यति सिट त मै दिइहाल्थें नि ।

शर्माले भने- प्रधानमन्त्रीज्यू, एक यो सिटको तालमेलको कुरा होइन । दुइटा कम्युनिस्ट पार्टी एक हुने कुरा हो । माओवादी र कांग्रेसको पार्टी एकता हुन्छ त ?

त्यसपछि देउवाले फोन राखे । कांग्रेसमा खैलाबैला मच्चियो । एमालेले माओवादीलाई चोर्‍यो कि कांग्रेसले माओवादीलाई आफूसँग राख्न सकेन ? यो प्रश्नको जवाफ खोज्दाखोज्दै राष्ट्रिय सभागृहमा वामपन्थी एकताको घोषणा भइसकेको थियो ।                                       अनलाइनखबर

प्रकाशित मितिः बुधबार, अशोज १८, २०७४     8:26:44 PM  |