24 September 2023  |   सोमवार, अशोज ८, २०८०

चीनले इन्धन निर्यात घटाउने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, अशोज १८, २०७४  

बेइजिङः चीनले उत्तर कोरियातर्फ गर्ने गरेको पेट्रोलियम पदार्थ आपूर्तिलाई आगामी अक्टोबर १ देखि नियन्त्रण गर्ने भएको चिनियाँ वाणिज्य मन्त्रालयले जनाएको छ ।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले उत्तर कोरियाद्वारा निरन्तर रूपमा गर्दै आएका आणविक अस्त्र परीक्षणलाई लिएर आर्थिक प्रतिबन्ध लगाउने विषयप्रति लक्षित गर्दै उक्त निर्णय गरेको हो ।चीनले उत्तर कोरियामाथि प्रतिबन्ध कडा पार्दै उक्त मुलुकबाट आफूले गर्ने कपडाको आयातलाई शनिबार (सेप्टम्बर २३) बाट नै बन्द गर्ने घोषणा गरेको छ ।

संयुक्त राष्ट्रसंघले तयार पारेको चीन तथा उत्तर कोरियाबीचको भन्सार तथ्यांकअनुसार सन् २०१६ मा चीनबाट प्रतिदिन ६ हजार ब्यारेल इन्धन उत्तर कोरिया निर्यात गरिएको थियो । तर, चीनले सन् २०१४ पछि उत्तर कोरियालाई दिने गरेको इन्धनको तथ्यांक सार्वजनिक नगरेका कारण इन्धन निर्यातको वास्तविक तथ्यांक भने सार्वजनिक हुन नसकेको बताइएको छ ।

संयुक्त राष्ट्रसंघले ११ दिनअघि पहिले पारित गरेको नयाँ प्रतिबन्धअनुसार पछिल्लो चिनियाँ घोषणा आएका भए पनि यस विषयमा विश्व समुदायलाई विश्वस्त पार्न खुला नाकाको फाइदा लिँदै हुन सक्ने चोरी–निकासीमा नियन्त्रण गरेको सुनिश्चित गर्नुपर्नेछ ।

चीनको उत्तर कोरियामाथिको प्रतिबन्धपछि कपडाको व्यापारबाट गर्ने प्रमुख आम्दानीमा ठूलो घाटा हुने देखिएको छ । किनभने उत्तर कोरियाको आम्दानीको दोस्रो प्रमुख आधार कपडाको बिक्री हो । चीनको प्रतिबन्धपछि प्योङ्याङ्ले वार्षिक ७० करोड डलरबराबरको आम्दानीको स्रोत भने गुमाउने अनुमान गरिएको छ ।

सुरुमा वासिङ्टनले उत्तर कोरियामाथि पूर्ण प्रतिबन्ध लगाउन आग्रह गरे पनि पछि चीन र रसियाको समर्थन लिन उक्त अडानमा अमेरिका केही लचिलो बनेको हो । चीन उत्तर कोरियाको एक मात्र र प्रमुख व्यापार सहयोगी रहेको र उत्तर चीनमाथि करिब ९० प्रतिशत आर्थिक क्रियाकलापमा जिम्मेवार रहँदै आएको छ ।

प्रकाशित मितिः बुधबार, अशोज १८, २०७४     10:37:37 AM  |