19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

चाडपर्वमा सुरक्षा व्यवस्थामा कडाई

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, भदौ २७, २०७४  

कोहलपुर, २७ भदौ / हिन्दुहरुका ठुला चाड दशै तथा तिहारलाई मध्यनजर गर्दै क्षेत्रीय ट्राफिक प्रहरीले सुरक्षा व्यवस्तामा कडाई गर्ने भएको छ । चाडपर्वमा हुन सक्ने दुर्घटनालाई मध्यनजर गर्दै चेक जाँचमा कडाई गर्न लागिएको मध्यपश्चिम क्षेत्रीय ट्राफिक कार्यालय कोहलपुरका प्रहरी प्रमुख राजेन्द्र सिंह खड्काले बताए ।
सोमबार पत्रकारहरुसँगको अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रममा बोल्दै खड्काले यस्तो बताएका हुन् । चाडपर्वमा हुने यात्रुहरुको चापलाई मध्यनजर
गर्दै यात्रुवाहाक सवारी साधनमा अनुगमनलाई नियमित र प्रभावकारी बनाउने साथै आवश्यक परेमा ट्राफिक हेल्प डेस्क समेत संचालन गरिने बताए ।
यात्रुहरुलाई छतमा राख्न नदिने, दिवा सेवामा चल्ने गाडीलाई दिवा सेवा र रात्री सेवाका गाडीहरुलाई रात्री सेवामा मात्र संचालन गर्न गराउन लगाउने ट्राफिक प्रमुखले बताए ।
चाडपर्वमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनेलाई मापसे चेकमा कडाई गरिने समेत उनले बताए । मादक पदार्थ सेवन गरेको पाइएमा सवारी चालक अनुमति पत्र प्वाल पारिने पनि बताएका छन् । कोहलपुरमा देखिएको अव्यवस्थित अटो तथा ई–रिक्सालाई व्यवसायी र नगरपालिकासँगको समन्वयमा जग्गाको व्यवस्थापन गरेर इ–रिक्साहरुलाई व्यवस्थित गरिने बताए । पत्रकारको एक प्रश्नको जवाफ दिदै ट्राफिक प्रमुख खड्काले सवारी साधनको ब्लुबुक तथा सवारी चालक अनुमति पत्र नबोकी सवारी चलाउन कसैलाई पनि छुट नहुने हुँदा नागरिक स्वयंले आफ्नो कर्तव्य पूरा गर्नुपर्ने बताए ।
साथै भेरी डाइर्भसन कार्यको लागि भारतबाट ल्याइएका ट्रिपरहरु ठुला र लामा साइजका भएका र तीन किलोमिटर प्रतिघण्टा मात्र गुडाउन सकिने भएकाले ती ट्रिपरहरुलाई सोमबार राती जमुना नाकाबाट कोहलपुरको गोल्छा नजिक राखिने ट्राफिक प्रमुखले बताए । ती ट्रिपरहरु मंगलबार राती नौ बजेपछि गोल्छाबाट बबई लैजाने हुँदा मंगलबार नौ बजे देखि बुधबार विहान ६ बजे सम्म उक्त सडक खण्डमा अन्य कुनै पनि सवारी साधनहरुको आवगमन नहुने बताएका छन् ।

प्रकाशित मितिः मङ्लबार, भदौ २७, २०७४     12:34:35 PM  |