15 April 2021  |   बिहिबार, बैशाख २, २०७८

कोहलपुरमा राष्ट्र बैंकको क्षेत्रीय कार्यालय निर्माण हुने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, भदौ २६, २०७४  

भदौ २६ / नेपाल राष्ट्र बैंकले कोेहलपुर नगर विकाससँग लिएको जग्गामा आफ्नो क्षेत्रीय कार्यालय निर्माण गर्ने काम शुरु गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले संघीय संरचना नबन्दै मध्यपश्चिम क्षेत्रीय कार्यालयको रुपमा निर्माण गर्ने उद्धेश्यले कोहलपुर नगर विकास समितिसँग पाँच विगाह जग्गा लिएको थियो ।
जग्गा प्राप्त गरेसँगै प्रारम्भिक चरणमा जग्गाको सिमाना छुट्याउने र बाउन्डरी वाल गर्न शुरु गरेको थियो । तर सो जग्गाको दक्षिणमा पूर्व–पश्चिम बाटो खोल्न लाग्दा शिव मन्दिरको केही भाग परेको र मन्दिर व्यवस्थापन समितिले तत्काल सो स्थान खाली नगरिदिएपछि नगर विकासले बाटो खोल्ने सकेको थिएन ।

बाटो नखोलेको भन्दै बैंकले पनि आफ्नो बाउन्डरीवाल गर्ने काम रोकेको थियो । राष्ट्र बैंकले त्यही कारणले कोहलपुर नगर विकास समितिलाई जग्गा वापतको बाँकी झन्डै रु ८ करोड ५० लाख रकम पनि रोकिदिएको थियो । हाल नेकपा माओवादी केन्द्रको तर्फबाट अवराज खड्का नगर विकास समितिको अध्यक्षमा नियूक्त भएर आएपश्चात शिव मन्दिरलाई अनेत्र स्थानान्तर गर्ने सहमति भएपछि राष्ट्र बैंकले पनि आफ्नो काममा चासो देखाएको छ ।

आइतबार मात्रै नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुवाटारबाट सामान्य सेवा विभागका उपनिर्देशक हिम प्रसाद न्यौपानेको नेतृत्वमा प्राविधिक सहितको टोली आई जग्गाको अवलोकन र शिव मन्दिरको बारेमा नगर विकास समितिले गरेको सहमती समेत अध्ययन गरेको थियो ।
अनुुगमनमा आएका उपनिर्देशक न्यौपानेले शिव मन्दिर अनेत्र स्थानान्तर गर्ने सहमती गरेकोले अब नगर विकास समितिले राष्ट्र बैंकको जग्गाको दक्षिणतर्फको बाटो पनि खोल्ने छ भने आफ्नो जग्गाको चारैतिर बाउन्डरी निर्माणको काम सुरु गर्ने बताए । साथै न्यौपानेले जग्गाको लेभल मिलाउनलाई डिजाइनिङ भइसकेको छ, अब बाँकी काम पनि छिट्टै पूरा गरी दशै तिहारको लगत्तै निर्माणको टेण्डर खोलिने
बताए ।

उता राष्ट्र बैंकले कोहलपुर नगर विकास समितिलाई दिने बाँकी रकम पनि केही प्रक्रिया पूरा गरेर नगर विकास समितिलाई प्राप्त हुने नगर विकास समितिका अध्यक्ष अवराज खड्काले बताए ।

प्रकाशित मितिः सोमवार, भदौ २६, २०७४     5:51:50 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *