22 September 2023  |   शुक्रबार, अशोज ५, २०८०

आवासका लागि नयाँ परियोजना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, भदौ २४, २०७४  

यान बि साहु

कोहलपुर, २४ भदौ 

कोहलपुर क्षेत्रमा आवास अवस्थाको सम्भाव्यता अध्ययनबारे शुक्रबार कोहलपुरमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । सेवा प्रा.ली. नामक एक गैरसरकारी संस्थाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा कोहलपुर क्षेत्रको आवास अवस्थाको बारेमा गरिएको अध्ययनको प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । कोहलपुर क्षेत्रमा आवासको अवस्था कस्तो छ भन्ने विषयमा केही महिना अघिदेखि संस्थाले अध्ययन गरिरहेको र सोही अध्ययनको प्रतिवेदन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका पूर्व निर्देशक उमेश मल्लले कार्यक्रममा प्रस्तुत गरेका थिए । संस्थाले पहिलो चरणमा पूर्वको इटहरी र पश्चिमको बाँकेमा सो आवास कार्यक्रम लागु गरिने बताएको छ ।
संस्थाले गुणस्तरीय आवासीय घर सस्तो र सुपथ मूल्यमा उपलब्ध गराउने मूख्य उद्देश्य रहेको संस्थाले जनाएको छ । आवासीय डिजाइनमा वातावरण मैत्री र भुकम्प प्रतिरोधी घर बनाई सुपथ मूल्यमा बेच्ने संस्थाले जाकारी गराएको छ । संस्थाकी निर्देशक समा बज्राचार्यले लक्ष्मी बैंक सँगको सहकार्यमा ७ प्रतिशत ब्याजदरमा रु ४ लाख सम्म ऋण उपलब्ध समेत संस्थाले गराइदिने बताइन् । त्यस्तै संस्थाका प्राविधिज्ञले आधुनिक अवस्थामा आवासीय घर निर्माण गर्दा प्रयोग गर्ने निर्माण सामग्री कस्तो प्रयोग गर्ने , कुन प्रविधिबाट निर्माण गर्ने , कस्तो जनशक्तीबाट निर्माण गर्ने बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले निम्न आयस्तर भएका स्थानीय जनतालाई संस्थाले भरपर्दो , आधुनिक र भुकम्प प्रतिरोधी आवासीय घर बनाई सुपथ मूल्यमा उपलब्ध गराउने कार्य राम्रो भएकोले नगरपालिकाको कार्यक्षेत्र भित्र त्यस्तो योजना ल्याएमा आफूले सकदो सहयोग गर्ने बताए । संस्थाले पहिलो चरणमा कोहलपुर नगरपालिका –३ मैटहवामा एक सय चौंतीस घर बनाई बिक्री गर्ने योजना रहेको जानकारी समेत गराएको छ ।

प्रकाशित मितिः शनिबार, भदौ २४, २०७४     12:16:20 PM  |