19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

मानव वेचविखन विरुद्धको ११ औं दिवस देशैभर मनाईदै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, भदौ २०, २०७४  

बर्दिया, २० भदौ,  अबको गन्तब्यः मानव बेचबिखनको अन्त्य भन्ने मुलनाराका साथ मंगलवार देशैभर मानव बेचबिखन विरुद्धको ११ औं दिवस बर्दिया, बाँके लागयत देशैभर विविध कार्यक्रम गरी मनाइदैछ ।महिला तथा बालबालिका कार्यालय,मानव बेचबिखन विरुद्धको जिल्ला समिति,प्रेस क्लब अफ
नेपाल लगायतका संघ संस्थाहरुको आयोजनामा दिवस मनाउन लागिएको हो । नेपालमा प्रत्येक वर्ष भदौ २० गते मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवस मनाउने गरिन्छ । तत्कालीन व्यवस्थापिका संसद्बाट २०६३ भदौ २० गते अनुमोदन भएपछि सोही दिनको स्मरणमा २०६४ जेठ ११ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार दिवस मनाउन सुरुवात गरिएको  हो ।
सार्क राष्ट्र बीच यौन शोषणको लागि महिला तथा बालबालिका वेचविखन गर्ने कार्यको विरुद्धमा आपसी सहयोग तथा ऐक्यवद्धता जनाउन मानवता विरोधी अपराधको रोकथाम, नियन्त्रण र प्रभावितको अधिकारको विषय समेटी सार्कको ११औँ सम्मेलनबाट बेश्यावृत्तिका लागि हुने महिला तथा बालबालिका वेचविखन विरुद्धको सार्क महासन्धि, २००२ पारित भएको  थियो ।
नेपाल सरकारले मानव वेचविखन नियन्त्रणका मानव वेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ र नियमावली, २०६५, वैदेशिक रोजगार सम्बन्धी ऐन, २०६४, घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६ र नियमावली २०६७ , महिला तथा बालबालिकाको वेचविखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय कार्ययोजना, २०६८ कार्यान्वयन योजना, २०७१, पुनस्र्थापना केन्द्र सञ्चालन निर्देशिका, २०६८ लगायत विभिन्न नीतिगत एवं कानुनी प्रावधान तयार गरी कार्यान्वयनमा ल्याइसकेको छ ।  यसैगरी अन्तर्राष्ट्रिय स्तरमा पनि मानव वेचविखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी विभिन्न महासन्धि, अनुबन्धपत्र साथै  ऐच्छिक आलेख निर्माण गरिएका  छन् ।
उद्धार गरिएका वा वेचविखनमा परी फर्केका पीडितहरूलाई सेवा दिनसक्ने गरी हालसम्म झापा, काठमाडौँ, सिन्धुपाल्चोक, पर्सा, चितवन, रूपन्देही, कैलाली र बाँकेमा एक–एक वटा पुनस्र्थापना गृह सञ्चालन भइरहेका छन् । यस्तै नेपालको चौधौँ योजना  (२०७३÷७४–२०७५÷७६) ले पनि मानव वेचविखन तथा ओसारपसार कार्यको पूर्णतः नियन्त्रणबाट आत्मसम्मानयुक्त समाजको स्थापना गर्ने सोच पनि राखेको छ ।
मानव वेचविखन विरुद्ध विभिन्न नीति, नियम, ऐन, कानुन एवं योजनाको तर्जुमा गरी कार्यान्वयनमा ल्याउँदा–ल्याउँदै पनि वेचविखनका घटना कम हुन सकिरहेका  छैनन ।  पछिल्लो समयमा मोबाईल प्रविधि र सामाजिक संजालको प्रयोग गरी रोजगारी ,शिक्षा र व्यापारको प्रलोभन देखाई दलालहरुद्धारा महिला तथा बालबालिकाहरुलाई वेचविखन गर्ने क्रम बढिरहेको छ ।

प्रकाशित मितिः मङ्लबार, भदौ २०, २०७४     11:42:04 AM  |