8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

बर्दियामा २० हजार बढी मतदाता थपिए

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, भदौ १०, २०७४  

बर्दिया, १०  भदौ / बर्दिया जिल्लामा २० हजार बढी मतदाताहरु थपिएका छन् । स्थानीय तहको निर्वाचन सकिए लगतै श्रावन १ गते देखि जिल्ला निर्वाचन कार्यालय बर्दियाले फोटो सहितको  मतदाता नामावली दर्ता अद्यावधिक गरिएसँगै २० हजार ७ सय ८८ जनाले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
भदौ ३ गते सम्म ११ हजार २ सय ४९ जना महिला, ९ हजार ५ सय ३८ जना पुरुष र एक जना तेस्रोलिंगी गरी २० हजार ७ सय ८८ जनाले मतदाता नामवलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत पवन कुमार शाहीले बताए ।
यसरी फोटो सहितको मतदाता नामावलीमा समावेश गरिएको मध्ये साउन १५ गते सम्म जिल्ला निर्वाचन कार्यालयमा दर्ता गरिएको मतदाता संख्या महिला १ हजार ६ सय ६२ जना, पुुरुष १ हजार ७ सय ८८ जना गरी जम्मा ३ हजार ४ सय ५० जनाले आफ्नो नाम समावेश गरेका थिए ।
त्यसैगरी निर्वाचन आयोगको निर्णय अनुसार साउन १६ गते देखि भदौ ३ गते सम्म जिल्ला निर्वाचन कार्यालय र ६ वटा नगरपालिका तथा २ वटा गाँउपलिकामा नामावली संकलन तथा दर्ता गर्नेमा महिला ९ हजार ४ सय ८७ जना, पुरुष ७ हजार ७ सय ५२ र तेस्रोलिंगी १ गरी जम्मा १७ हजार १ सय ४० जना रहेका छन् ।
गएको स्थनीय तहको निर्वाचनमा बर्दिया जिल्लामा पुरुष १ लाख २४ हजार ९ सय ६५ जना, महिला १ लाख २८ हजार २ सय १८ जना र तेस्रोलिंगी ५ जना गरी जम्मा २ लाख ५३ हजार १ सय ८८ जना मतदाता रहेका थिए ।
उक्त मतदाता संख्या भन्दा यस पटक अद्याबधिक गरिएकोमा मतदाता संख्या ८.२१ प्रतिशतले वृद्धि भएको जिल्ला निर्वाचन अधिकृत शाहीले बताए ।
अब हुने प्रदेश तथा संघीय संसदको निर्वाचनको लागि बर्दिया जिल्लामा कुल २ लाख ७३ हजार ८ सय ७६ जना मतदाता भएका छन् ।

प्रकाशित मितिः शनिबार, भदौ १०, २०७४     10:30:31 AM  |