2 October 2023  |   मङ्लबार, अशोज १६, २०८०

शिक्षक पेशा छोडेर भैैंसी पालन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, भदौ २, २०७४  

कविन्द्र परियार, कोहलपुर, ०२  भदौ / कोहलपुर नगरपालिका–३ का अर्जुन पौडेल शिक्षक पेशा छोडेर व्यावसायिक रुपमा भैंसी पालन व्यवसायमा लागेका छन् । करिव २५ वर्षको अध्यापन पेशा छोडेर उनी व्यवसायिक भैंसी पालनमा व्यवसायमा लागेका हुन् । २५ वर्ष शिक्षण पेशामा रहेर सेवा गरियो, अब कृषि क्षेत्रमा नयाँपन दिनुपर्छ भन्ने लागेर यो पेशा अंगालेको हुँ उनले भने । अन्य देशहरु पशुपालन क्षेत्रबाटै अगाडि बढि सके र आधुनिकीकरण नहुँदा हामी पछाडि छौ उनले थपे । अंग्रेजी र अर्थशास्त्र विषयमा स्नातकोत्तर गरेका पौडेल ७० लाखको लागतमा शारदा ऋषि पशुपालन फर्मको नाममा भैंसी पालन व्यवसाय सुरु गरेका हुन् ।
हाल फर्ममा मूर्रा र लोकल जातका १८ ओटा भैंसी र १० ओटा पाडापाडी रहेका छन् । उनले दैनिक ७० लिटर दुध बजारमा बेच्ने गरेका छन् भने चार जनालाई रोजगारी समेत दिनु दिएका छन् । पौडेल मासिक डेढ लाख बरावरको दुध बेच्ने गरेको बताउँछन् । जिल्ला पशु सेवा कार्यालयबाट दुई लाख अनुदान सहयोग प्राप्त गरेका कारण उनलाई भैंसी पालन व्यवसायमा सहयोग पुगेको छ ।
कृषि क्षेत्रको हब बनाउँने उदेश्यका साथ लागेका पौडेल आफै घाँस काट्न नियमित खटिने गरेको बताउँछन् । जिल्ला पशु सेवा कार्यालय प्रमुख भिषण गजमेरले पशु सेवा कार्यालय बाँकेले नियमित पशु स्वास्थ्य परिक्षण, भ्याक्सिन तथा प्राविधिक सहयोग गरेको बताए ।
सगरमाथा ज्ञानपुञ्ज माविका संस्थापक प्राचार्य, निम्वल कलेजका संस्थापक समेत रहेका पौडेलले विभिन्न कलेजहरुमा समेत अध्यापन गराइ सकेका
छन् । उनको छिमेकीहरुले उनको कामलाई प्रशंसा गर्ने गरेको पौडेल बताउँछन् ।
कृषि पेशालई नै व्यवसायिकरण गरेर लैजाने हो भने युवाहरु विदेश जानु नपर्ने र स्थानीय तहमा कृषि क्षेत्रमा आएको बजेट सो क्षेत्रमै खर्च गरिनु पर्ने उनको भनाई रहेको छ ।

प्रकाशित मितिः शुक्रबार, भदौ २, २०७४     3:56:52 PM  |