20 May 2024  |   सोमवार, जेष्ठ ७, २०८१

यातायातका कर्मचारी विरुद्ध अख्तियारद्वारा आरोपपत्र दायर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, असार १९, २०७४  

कोहलपुर, १९ असार / यातायात व्यवस्था कार्यालय भेरी अञ्चल नेपालगञ्जका कर्मचारी विरुद्ध अख्तियार अनुसन्धान आयोगले आइतबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
कार्यालय प्रमुख पवन सुवेदी, शाखा अधिकृतहरु सीताराम खनाल, डेकराज पोखरेल, विष्णु सहानी, धुव्रप्रसाद देवकोटा, मेकानिकल इन्जिनियर अर्जुनकुमार चौधरी, नायब सुब्बाहरु ललितबहादुर वली, केशवराज डाँगी, हुतराज पौडेल, सतानन्द उपाध्याय, अरुणकुमार गैतम, डिलाराम खरेल, ओमबहादुर बस्नेत, गणेशमान आचार्य, पश्चिमाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक बिमलकुमार उपाध्याय र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी नायव निरीक्षक दिपेन्द्रबहादुर सिंह विरुद्ध अख्तियारले आरोपपत्र दायर गरेको हो ।
चारपांग्रे सवारीसाधनको लाइसेन्सको लिखित परीक्षामा भ्रष्टाचार गरेको पुष्टि भएको भन्दै विशेष अदालतमा आरोप पत्र दायर गरिएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आवेदकको कापी नै जाँच नगरी पास गराएको खुलेको छ ।
२०७३ साल कार्तिक ५,६,७ र ८ गते भएको लिखित परीक्षामा १२,६३१ परीक्षार्थी सहभागी थिए । जसमा यातायात कार्यालयले ९,४०९ जना उत्तिर्ण गराई नतिजा प्रकाशन गरेको थियो । सो मध्ये ४६५ जना परीक्षार्थीहरू प्रयोगात्मक परीक्षामा समेत उत्तिर्ण गराइएको थियो ।
आर्थिक चलखेल गरी उत्तीर्ण गराएको उजुरी आएपछि चारपाङ्ग्रे सवारी साधनको लिखित परीक्षाको उत्तरपुस्तिकामा प्रदान गरिएको अंकको सम्बन्धमा अख्तियारले अनुसन्धान गर्दा ९० जना परीक्षार्थी अनुतीर्ण र ३३ जनाको उत्तरपुस्तिका नै परीक्षण नगरी उत्तीर्ण गराइएको भेटिएको अख्तियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ । अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिम सजायका लागि माग दाबी गर्दै विशेष अदालतमा आरोप पत्र दायर गरेको हो । लाइसेन्स वितरणमा करौडौंको चलखेल भएको आरोप लगाइएको छ ।

प्रकाशित मितिः सोमवार, असार १९, २०७४     12:24:50 PM  |