18 May 2024  |   आइतवार, जेष्ठ ६, २०८१

भोट हाल्न आतुर छन् बर्दियाका किसान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, असार ६, २०७४  

बाँसगढी, ६ असार  / आफुले निर्वाचित योग्य र सक्षम व्यक्तिले स्थानीय सरकार सञ्चालन गरेको हेर्न आतुर बर्दियाका किसानहरु असार १४ गतेको प्रतीक्षा गर्दै असार १४गते खेत रोपाई छाडेर भोट हाल्ने बताएका छन् । झन्डै दुई दशकपछि हुन लागेको स्थानीय चुनावमा जनप्रतिनिधि चयन गर्न पाउने भएपछि बर्दियाका किसानले मतदानका दिन खेतमा नजाने निर्णय गरेका छन् ।
‘चुनाव ठूलो पर्व हो असार महिना वर्षातको मौसम भएकाले झरीमा रुझेर र खेतको काम छोडेर भोट हाल्न जाने सोच बनाएको छु’ मधुवन नगरपालिका वडा नं १ डल्लाका किसान कालिनाथ थारुले भने ।
अन्नको भण्डार मानिने बर्दिया अहिले निर्वाचनमय भएको छ । बर्दियाको राजापुर, ठाकुरबाबा, मधुवन नगरपालिकाका किसानहरू धानको बीउ छर्ने र खेत जोत्न व्यस्त भएपनि उनीहरूमा चुनावी माहोलले पनि छाएको छ । दिउँसो प्रचण्ड गर्मीमा रुखमुनि शीतल खाँदै गर्दा किसानमा कसलाई भोट हाल्ने भन्ने विषयमा छलफल हुने गरेको स्थानीय खिमलाल थारुले बताए ।
५ नम्बर प्रदेशको प्रस्तावित प्रदेश सदरमुकाम बुटवलबाट करिब ३ सय किलोमिटरमा बस्दै आएका जिल्लावासीहरु स्थानीय तहको निर्वाचनपछि खेतीपातीका लागि सिचाई,मल,बीउको सहज उपलब्धता हुने, स्वास्थ्य, शिक्षा, पक्की सडकको सुविधा हुने, गुलरियामा थप भन्सार नाका खुलि उधोगधन्दा ब्यापार ब्यवसायको विस्तार भई रोजगारी पाउने र नदी कटान तथा बाढीको जोखिमबाट छुटकारा पाउने आशामा छन् । निर्वाचित जनप्रतिनिधिहरुले चुस्त, दुरुस्त र छिटाछरितो रुपमा विकासका काम अघि बढाउने बर्दियाका किसानहरुमा विश्वास छ ।
१२ बर्षे सरकार माओवादी सशस्त्र द्वन्द्वमा सबैभन्दा प्रताडित बनेका बर्दियाका द्वन्द्वपीडितहरु स्थानीय तहमा आउने जनप्रतिनिधिहरुले आफुहरुको समस्या समाधानमा पनि विशेष चासो देखाउने आशामा छन् ।

प्रकाशित मितिः मङ्लबार, असार ६, २०७४     11:50:41 AM  |