एमाले र माओवादीका कार्यकर्ताबीच ढुंगा हानाहान
कोहलपुर, ४ असार / बैजनाथ गाउँपालिका वनकट्वामा नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताहरुबीच ढुंगा हानाहान हुँदा प्रहरीले १२ राउण्ड हवाई फायर गरेको छ । स्थिति नियन्त्रणमा लिन हवाई फायरका साथै ७ राउण्ड अश्रुग्याँस समेत प्रहार गरिएको कोहलपुर प्रहरी प्रमुख डिएसपी सुरेश प्रसाद काफ्लेले जानकारी दिए ।
मनोनयन दर्ता पछि भएको कार्यक्रममा विवाद हुँदा एमाले र माओवादीका कार्यकर्ताबीच ढुंगा हानाहान भएको थियो । ढुंगा प्रहारबाट २ जना प्रहरी सहित ८ जना घाइते भएका छन् ।
मनोनयन दर्तापछि नेकपा एमालेले सडक पारी कार्यक्रमको गरेको थियो भने माओवादी केन्द्रले सडकवारी । वारीपारी कार्यक्रम गर्दा ‘साउण्ड सिस्टम’ का कारण एक अर्कालाई ‘डिस्टर्ब’ भएपछि विवाद शुरु भएको थियो । विवादपछि ढुंगा हानाहानको स्थिति आएको प्रहरीले जनाएको छ । स्थितिलाई नियन्त्रणमा राख्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना परिचालन गरिएको थियो ।
घटनामा घाइतेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भैरहेको छ ।