बाँकेमा मनोनयन दर्ता



कोहलपुर, ४ असार / बाँकेका ८ वटै स्थानीय तहमा विभिन्न राजनैतिक दलले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन् । कोहलपुर नगरपालिकामा मेयर पदमा ९ जनाको उम्मेदवारी परेको छ भने उपमेयरमा ८ जनाको उम्मेदवारी परेको छ । त्यस्तै ३ वटा वडामा स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
मेयरमा नेपाली कांग्रेसका भानुभक्त भट्टराई, एमालेबाट लुटबहादुर रावत, माओवादी केन्द्रबाट नरेन्द्र न्यौपाने, राप्रपाबाट भगौती थारुले मनोनयन दर्ता गराएका छन् । त्यस्तै नेपाल लोकतान्त्रिक फोरमका फुलाराम थारु, राष्ट्रिय जनमोर्चाकी बालकुमारी आचार्य, मजदुर किसान पार्टीका सुरेशलाल थारु, देशभक्त जनगणतान्त्रिक मोर्चाका मुक्तबहादुर थापा र राष्ट्रिय जनमुक्ति पार्टीका श्रीबहादुर मगरले मेयरमा उम्मेदवारी दिएका छन् । त्यस्तै उपमेयरमा कांग्रेसकी सञ्जुकुमारी थारु, एमालेकी कुष्णाकुमारी थारु, माओवादीकी देवीकुमारी थारु, राप्रपाकी सावित्री भुषाल, नेपाल लोकतान्त्रिक फोरमकी अस्मिता कुमारी थारु, जनमोर्चाका गिताराम कँडेल, मजदुर किसान पार्टीकी जर्मकन्या रोकाया र जनमुक्ति पार्टीकी चन्द्रादेवी पुनले मनोनयन दर्ता गराएका छन् । विभिन्न राजनैतिक दलहरुले कोहलपुरका १५ वटै वडामा वडा अध्यक्ष तथा सदस्यहरुको मनोनयन दर्ता गराएका छन् । तीन वटा वडामा भने वडा अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी परेको छ । स्वतन्त्र उम्मेदवारी दिनेमा वडा नं. ३ मा सूर्यप्रसाद पराजुली, ४ मा पूर्ण प्रसाद अधिकारी र १४ मा पूर्ण सुनार रहेका छन् ।
यसैगरी काँगे्रसका तर्फबाट नेपालगन्ज उपमानगरपालिकाको मेयर पदका उम्मेदवार डा. सुरेश कुमार कानोडिया र उप मेयर पदका उम्मेदवार उमा थापामगर, एमालेका तर्फबाट समसुद्दिन सिद्दिकी मेयरमा र उपमेयरमा शान्ति ढकालको उम्मेदवारी दर्ता गरिएको छ । नेकपा माओबादी केन्द्रका तर्फबाट दामोदर आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टिबाट डा. धवल सम्शेर राणाले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै मधेशवादी दलहरुबाट संघिय समाजवादी फोरमका तर्फबाट कमरुद्धिन राई, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट ऋतु सिंह शाहीले उम्मदवारी दिएका छन् । त्यस्तै अन्य साना राजनितिक दलहरुका तर्फबाट पनि उम्मेदवारी परेको छ । राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टि, एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टि राष्ट्रवादी र केही स्वतन्त्र उम्मेदवारहरुले पनि आफ्नो उम्मेदवारी मनोनयन गराएका छन् ।
राप्ती सोनारी गाउँपालिकामा एक स्वतन्त्र सहित नौवटा राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् । जस अनुसार नेपाली कांग्रेसबाट अध्यक्षमा लाहुराम थारु, उपाध्यक्षमा धनी कुमारी खत्री, नेकपा एमालेबाट अध्यक्षमा तुलसीराम थारु, उपाध्यक्षमा चमेली बाकबल, नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा पट्टु थारु (प्रदीप ), उपाध्यक्षमा अस्माली पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्षमा दीपेन्द्र पौडेल, उपाध्यक्षमा गुलसन चौधरी, नयाँ शक्ति पार्टीबाट अध्यक्ष माहिक्मत बि क, उपाध्यक्षमा देउमा कुमारी पुन, लोकतान्त्रिक फोरमबाट अध्यक्षमा मोहनलाल थारू, राष्ट्रिय जनमोर्चाबाट अध्यक्षमा लोक बहादुर खड्का, ने क पा माक्र्सवादीबाट अध्यक्षमा लौट्न थारू र स्वतन्त्रबाट अध्यक्षमा ऋषीराम थारूले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी अन्य स्थानीय तहमा पनि मनोनयन दर्ता कार्यक्रम शान्तिपूण रुपमा सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०७४ असार ५ गते सोमबार