24 September 2023  |   सोमवार, अशोज ८, २०८०

बाघ संरक्षण गर्न सचेतना अभियान संचालन गर्नुपर्ने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ ३१, २०७४  

कोहलपुर, ३१ जेष्ठ / बाघ संरक्षणका लागि समूदाय स्तरमा सचेतना अभियान संचालन गर्नुपर्ने कोहलपुरमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । मंगलबार बाँके राष्ट्रिय निकुञ्जको आयोजनामा कोहलपुरमा भएको बाघ संरक्षण अन्तरक्रियाका सहभागीले वन्यजन्तु संरक्षणका लागि समुदाय स्तरमा नै जनचेतनामुलक अभियान संचालन गर्नुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा सहभागीले संरक्षणमा युवालाई क्रियाशिल बनाउनुपर्ने, संरक्षण र आयआर्जनलाई संँगै बढाउँदै लैजानुपर्ने, विद्यार्थी, युवाहरुलाई संरक्षण सम्बन्धी प्रशिक्षण दिनुपर्ने लगायत बताएका थिए । यसका साथै बाँके निकुञ्ज सुख्खा भएकाले बाघलाई पानीको समस्या रहेकोमा पानी पोखरी प्रशस्त मात्रामा निर्माण गर्नुपर्ने, छाडा पशु चौपाया नियन्त्रण गर्नुपर्ने, पत्रकारहरुसँग संरक्षण सम्बन्धी अन्तरक्रिया गर्नुपर्ने लगायत बताएका थिए ।
कार्यक्रममा बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापुनले बाघ सम्बन्धी जानकारी दिएका थिए । त्यस्तै जेडएसएल नेपाल बाँके बर्दिया कम्प्लेक्स फिल्ड अधिकृत पवन गौतमले बाघको गणनाका विषयमा जानकारी दिए ।
मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति अध्यक्ष गेहेन्द्रकुमार खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कोहलपुर मध्यवर्ती समूहकी अध्यक्ष सावित्रा पुन, निकुञ्जका सहायक संरक्षण अधिकृत रविन चौधरी, प्रमोदकुमार यादव, सिबिएपियू सञ्जाल बाँके अध्यक्ष कृष्ण चौधरी, रेञ्जरहरु, विभिन्न मध्यवर्ती समूहका प्रतिनिधिहरुको उपस्थिति थियो ।
बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापुनको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन रेञ्जर अनिलकुमार रामले गरेका थिए ।

प्रकाशित मितिः बुधबार, जेष्ठ ३१, २०७४     12:40:13 PM  |