26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

हराइरहेका व्यापारी श्रेष्ठको कार जंगलमा भेटियो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ २९, २०७४  

कोहलपुर, २९ जेष्ठ / शुक्रबार साँझदेखि सम्पर्कविहिन भएका दाङका व्यापारी राजकुमार श्रेष्ठको कार सल्यानको शितलबजारमा फेला परेको छ । शुक्रबार साँझ ६ बजे तुल्सीपुरमा नै रहेका व्यापारी श्रेष्ठ राती ९ बजेदेखि सम्पर्क विहिन भएका थिए ।
संगै रहेका उनका साथीभाईले भने कसैको फोन आएपछि उनी तुल्सीपुर बजारबाट हिँडेको प्रहरीसमक्ष बताएका छन् ।
श्रेष्ठ हराएपछि खोजविन तिब्र पारेको प्रहरीले उनले चलाउँदै आएको बा १२ च १०७१ नम्बरको कार सल्यानको शितलबजारमा फेला परेको छ । चार वटै टायरमा हावा फुस्काएको अवस्थामा गाडी भेटिएको हो ।
गाडीमा महिलाको जुत्तासमेत फेला परेको छ । महिला प्रयोग गरेर उनको अपहरण भएको हुन सक्ने दाङका ब्यापारीहरुले अनुमान गरेका छन् । दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहका अनुसार श्रेष्ठको कार फेला परेको स्थान धना जंगल छेउमा हो । ‘अहिलेसम्म अपहरण गर्यौं भनेर कसैले परिवारलाई खबर गरेका छैनन्’ एसपी सिंहले भने ‘श्रेष्ठ अपहरणमा परेको भए अहिलेसम्म केही न केही पत्ता त लागिसक्नु पर्ने हो ।’
प्रहरीले श्रेष्ठको परिवारसँग थप सोधखोज गरेको छ। ‘श्रेष्ठको कसैसँग व्यक्तिगत दुश्मनी पनि नभएको परिवारले बताएका छन्’ एसपी सिंहले भने ‘व्यक्तिगत र घरायसी कारण पनि केही छैन ।
श्रेष्ठको गाडी भेटिएको घना जंगलमा रिममा अहिले सर्च अभियान चलाइरहेको एसपी सिंहले बताए। ‘दाङ, सल्यान र रोल्पाका ३ सय प्रहरी श्रेष्ठको खोजीमा खटिरहेका छन् ,’ एसपी सिंहले भने ‘स्थानीय नाकाहरु पनि बन्द गरेका छौं ।’
प्रहरीले श्रेष्ठको कल डिटेल पनि हेरेर अनुसन्धान अघि बढाएको छ । त्यस्तै प्रहरीका अनुसार रूकुममा स्काभेटरको पैसा लिन भारतीय नम्बर प्लेटको अर्को गाडीमा भारतीय तीन जना व्यक्तिहरु सँगै रूकुम जाँदै गरेका घोराहीका अर्का एक जना ठेकेदार रणबहादुर घर्ती पनि बेपत्ता छन् ।
यसअघि गत दशैंको समयमा श्रेष्ठका एक कर्मचारीले बोकेको ३० लाख भारतीय रुपैंया तुलसीपुरबाटै लुटपाट भएको
थियो । त्यस्तै बैशाख १९ गते एकाएक बेपत्ता भएर जेठ १६ गते घोराही–लमही सडक खण्डको चौपट्टाको जंगलमा तुलसीपुरका अर्का व्यापारी ३८ वर्षीय रत्नबहादुर ओली मृत अवस्थामा फेला परेका थिए ।
ओलीलाई शुक्रबार बेपत्ता तुलसीपुरकै अर्का व्यापारी राजकुमार श्रेष्ठले एक करोड ऋण दिएको भन्ने खुल्न आएको प्रहरीले बताएको छ ।

प्रकाशित मितिः सोमवार, जेष्ठ २९, २०७४     12:53:10 PM  |