कोहलपुर, २३ जेष्ठ / कोहलपुरस्थित शिवालय टेक्निकल कलेजले अनुमती नलिएरै एक बर्षदेखि कृषि जेटिए, भेटेनरी, होटल म्यानेजमेन्ट र उद्यम विकास सहजकर्ता कक्षा संचालन गरेको भेटिएको छ । छोटो अवधिको छ महिनाको तालिम संचालन अनुमती लिएको कलेजले अवैधानिक रुपमा प्राविधिक शिक्षा कक्षा संचालन गरेको भेटिएको हो ।
१८ महिने सिटिभिटीबाट मान्यता प्राप्त प्राविधिक शिक्षा भन्दै प्रतिव्यक्ति ४० हजार रुपैँया उठाएर सँयौ विद्यार्थी ठगिएका छन् । अनुमती नलिएरै महंगो
शूल्क असूल्दै कलेजले ८२ जना विद्यार्थीलाई १८ महिने प्राविधिक शिक्षा भन्दै लाखौ रकम ठगेको छ । कलेजमा अहिले जेटिए कृषिमा १८, भेटनरीमा २४, होटल म्यानेजमेन्ट २२ र उद्यम विकास सहजकर्तामा १८ जना विद्यार्थी १८ महिने विषय भन्दै पढिरहेका छन् । ४० हजार १८ महिना शूल्क पूरा हुने भन्दै २०७३ भदौ ५ गतेबाट कलेजले सूरुमा प्रतिव्यक्ति २० हजार रुपैँया र मासिक ५ हजार लिदै ठगेको छ ।
शिवालय कलेजले २०७३ मा सिटिभिटीबाट छोटो अवधिको छ महिने सीप विकास तालिम लिने भन्दै अनुमती मात्र लिएको भेटिएको छ । छोटो अवधिको लेबल दुईको अनुमती लिएर बाँकी गैरकानुनी रुपमा १८ महिने प्राविधिक शिक्षा सुरु गरेको हो । व्यवसायीक तथा प्राविधिक शिक्षालय (सिटिभिटी )क्षेत्रीय कार्यालय कोहलपुरका उपनिर्देशक प्रेमनारायण पोखरेलले कलेजले छोटो अवधि तालिम संचालन गर्ने अनुमती लिएर प्राविधिक शिक्षा पढाउनु बद्मासी गरेको बताए ।
‘राष्ट्रिय सीप परीक्षण समितिबाट प्रमाणपत्र उपलब्ध गराउन सक्ने गरि छ महिने छोटो तालिमका लागि अनुमती छ,’ उनले भने, ‘प्राविधिक शिक्षा भन्दै सिटिभीटिबाट परीक्षा लिएर प्रमाणपत्र पाउनु भन्दै कक्षा संचालन गर्नु गलत कार्य हो ।’ कलेजले १३९० घण्टा पढाएर लेबल टु सरह सीप विकास प्रमाणपत्र दिने भएपनि १८ महिनाको भर्ना लिनु नै विवादित र गैरकानुनी भएको उनले भनाई छ । यहाँ गत भदौदेखि अध्ययनरत ८२ जना विद्यार्थीले आफूहरुलाई १५ महिने सैद्धान्तिक र तीन महिने अभ्यासका लागि भन्दै भर्ना लिएको दावी गर्छन् । १८ महिनो प्राविधिक शिक्षा उर्तीण भए लोकसेवा आयोग लड्न पाउने तर छ महिनो छोटो अवधिको तालिमबाट त्यो सूविधा छैन् ।
अछाम कमलबजारबाट उद्यम विकास सहजकर्तामा १० महिनादेखि अध्ययन गर्दै आएका रामबहादुर विष्टले आफूहरु अहिले आएर ठगिएको बताए । ‘सूरुमा भर्ना गर्दा १८ महिना कोर्स हो एकमुष्ट ४० हजारमा प्राविधिक शिक्षा पूरा हुन्छ भनियो,’ उनले भने, ‘१० महिनापछि आएर छ महिने लेबल टु कक्षा भन्दै ठगियो ।’ आफूहरुको सपना र योजना छ महिने सीप तालिम लिने नभएर प्राविधिक शिक्षा रहेको बताउँदै उनले भने, ‘अहिले आएर लाखौ रकम र मेहेनत बर्वाद भएको जानकारी पायौ ।’ कलेजले १० महिना अघि सूरुमै भर्ना शूल्क भन्दै २० हजार नगद, प्राविधिक शिक्षामा नाम लेखाएवापत प्रतिव्यक्ति चार हजार अतिरिक्त रकम लिएको पाएको छ ।
जेठमा आएर कलेज प्रशासनले रजिष्टेशन शूल्क भन्दै १० हजार रुपैँया मागेपछि विद्यार्थीले ठगिएको चाल पाएका हुन् । यहाँ अध्ययनरत विद्यार्थीले १० महिनाको अवधिमा खान, बस्न, शिक्षा शूल्क र अतिरिक्त खर्च भन्दै तीन लाख खर्च भएको बताउँछन् ।
मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ २३, २०७४