20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

कक्षा ११ को परीक्षा असार १ देखि १० गतेसम्म सञ्चालन गर्ने बोर्डको निर्णय

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ १७, २०७४  

जेष्ठ १७, २०७४- कक्षा ११ को परीक्षा आगामी असार १ देखि हुने भएको छ ।

राष्ट्रिय परिक्षा बोर्ड (एनइबी) को बुधबार बसेको बैठकले ११ कक्षाको परीक्षा १ असारदेखि १० गतेसम्म गर्ने निर्णय गरेको सदस्य सचिव डिल्ली रिमालले जानकारी दिए । बोर्डका अनुसार कक्षा ११ को परीक्षा दिन ४ लाख ४९ हजार विद्यार्थीले फाराम भरेका छन् ।

निर्वाचनका कारण पटक पटक सारिँदै आएको परीक्षा यसअघि असार ८ गतेदेखि सुरु हुने तालिका थियो ।

वैशाख ३१ मा पहिलो चरणको निर्वाचन हुने भएपछि असार १ गते सारिएको थियो । सरकारले दोस्रो चरणको निर्वाचन जेठ ३१ गतेलाई तोकेपछि एनइबीले असार ८ गतेलाई परीक्षा सारेको थियो । सरकारले पुन: जेठ ३१ मा तय गरेको निर्वाचन असार ९ मा सारेपछि अन्योलमा परेको बोर्ड बुधबार बसेको मन्त्रिपरिषद् बैठकले १४ असारमा चुनाव गर्ने निर्णयसँगै  असार १ गते नै परीक्षा गर्ने निर्णयमा पुगेको हो ।

चैत दोस्रो साता कोर्स सकाएर परीक्षाको तयारीमा जुटेका विद्यार्थीहरु परीक्षा पटक पटक सार्दा अन्योलमा परेका थिए । असार पहिलो सातादेखि १२ कक्षाको सहभागी हुनुपर्ने विद्यार्थीले बल्ल ११ कक्षाको अन्तिम परीक्षा दिने तिथि तय भएको छ ।

राष्ट्रिय परिक्षा बोर्ड (एनइबी) को शैक्षिक क्यालेन्डर अनुसार वैशाख २४ देखि यी विद्यार्थी परिक्षामा सहभागी हुनुपर्ने हो । तर, सरकारले स्थानीय तहको निर्वाचनका कारणले पटकपटक परिक्षा सार्दा विद्यार्थी अन्योलमा परे ।

प्रकाशित मितिः बुधबार, जेष्ठ १७, २०७४     3:03:14 PM  |