बर्दिया, १० जेष्ठ / निकुञ्ज, मध्यवर्ती क्षेत्र र जैविक मार्गमा संचालन हुने राष्ट्रिय गौरवका आयोजना अन्तर्गत विभिन्न संरचनाहरुको डिजाइन तयार गर्दा वन्यजन्तु मैत्री हुनुपर्नेमा सरोकारवालाहरुको ध्यानाकर्षण भएको छ ।
वन्यजन्तुलाई निर्वाध आवागमनमा प्रतिकुल असर नपर्ने र बैकल्पिक उपायहरुको सुनिश्चितता हुने गरी संरचना निर्माणमा सरोकारवालले जोड दिएका छन् ।
बर्दिया राष्ट्रिय निकुञ्जले आयोजना गरेको वन्यजन्तु मैत्री भौतिक पूर्वाधार निर्माण (स्मार्ट ग्रिन इन्फा स्टक्चर) कार्याशाला गोष्ठीका सहभागीेले बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ति क्षेत्र तथा जैविक मार्गमा वन, वन्यजन्तु र प्राकृतिक सम्पदा संरक्षणका लागि सरोकारवाला निकाय बीच समन्वय र सहकार्य गरेर काम सहमति जनाएका छन् ।
निकुञ्ज तथा मध्यवर्तीमा क्षेत्रमा आयोजना संचालन भइरहेको भेरी बबई डाईर्भसन, बबई सिँचाई आयोजनाका, सडक डिभिजन कार्यालय, सडक बिभाग, रानीजमरा कुलरीया सिँचाई आयोजना, कर्णाली नदी नियन्त्रण आयोजना, डिभिजन सिँचाई आयोजना, नेपाल टेलिकम, भुमिगत जलउत्पन्न प्रकोप नियन्त्रण आयोजना र डब्लु डब्लु एफ लगायतका सरोकारवाला निकायले वन्यजन्तु मैत्री संरचाना निर्माणमा प्रतिवद्धता जनाएका छन् ।
निकुञ्ज भित्र पर्ने पूर्व पश्चिम राजमार्गमा चल्ने सवारी साधनको ठक्करबाट वन्यजन्तु मारिने घटना नियन्त्रणका लागि निकुञ्ज भित्रको राजमार्गमा ४० किमी प्रति घण्टा भन्दा बढि गतिमा गाडी चलाउन नमिल्ने गरी ठाउ ठाउमा स्पीड ब्रेकर निर्माण गर्ने, बबई सिँचाइ नहर र दुबै तर्फको स्लोपमा पक्की ढलान गरिएको हुँदा वन्यजन्तु ओहोरदोहोर गर्दा तथा पानी खानका लागि नहरमा पस्दा भिरालो पक्की ढलानका कारण बाहिर निस्कन नसक्ने समस्या देखिएकोले उक्त नहरको ठाउँठाउँमा वन्यजन्तु सजिलै ओहोरदोहोर गर्न सक्ने, आहाल बस्न र पानी खान मिल्ने गरी कम भिरालो पोखरी आकारको संरचनाहरु निर्माण गर्ने, सिँचाई नहर निर्माणले वन्यजन्तुको वासस्थान बिभाजित भई आवागमन र ओहोरदोहोर गर्न बाधा पर्ने हुँदा ठाउ ठाउमा सबै खाले वन्यजन्तु सहज हिड्न सक्ने खालका संरचना (पुल) निर्माण गरी माथिबाट माटोले पुरेर प्राकृतिक स्वरुप दिने ब्यवस्था मिलाउने कार्यमा सरोकारवाला निकायले प्रतिवद्धता जनाएको छ ।
यसैगरी निकुञ्जको बबई उपत्यका र पूर्व पश्चिम राजमार्गको अम्रेनी कर्णाली तथा सैनावार रम्भापुर खण्डमा नेपाल टेलिकमको नेटवर्कले काम नगर्ने भएकोले नेपाल टेलिकमबाट ति क्षेत्रमा सहज सुबिधा उपलब्ध गराउन प्राथमिकताका साथ ब्यवस्था मिलाउनेलगाएतका विषयमा सरोकारवालाहरुले प्रतिबद्धता जनाएको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले थापाले जानकारी दिए ।
मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ १०, २०७४