1 December 2023  |   शनिबार, मंसिर १६, २०८०

कमजोर सडक !

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ ८, २०७४  

कम गुणस्तरका छन् कोहलपुर टाउनप्लानि·का बाटा 

कोहलपुर, ८ जेष्ठ / कोहलपुर दिनप्रतिदिन विकास हुँदै गइरहेको छ । यहाँ उद्योगी, व्यवसायीहरुको संख्या बढ्दै गइरहेको छ । विभिन्न क्षेत्रबाट मानिसहरु कोहलपुर थुप्रिने क्रम ह्वात्तै बढेको छ । हिजोको कोहलपुर र आजको कोहलपुरमा निकै ठूलो अन्तर छ । मध्य तथा सुदूरपश्चिमको केन्द्रका रुपमा कोहलपुर चिनिएको छ ।
यसरी दिनप्रतिदिन विकासोन्मुख शहरका रुपमा आफ्नो पहिचान बनाउँदै लगेको कोहलपुरका सडकहरु भने कम गुणस्तरका छन् । विशेषगरी कोहलपुर नगरविकासको टाउनप्लानिङ्गभित्रका सडकहरु कमजोर छन् । नगरविकासको धेरै पहिलेको योजना अनुरुप नै बाटाहरु निर्माण हुँदा उद्योगी, व्यवसायीहरुलाई समस्या भएको छ ।
पहिलेको कोहलपुरलाई लक्षित गरी बनाइएका योजनाहरु अहिले आएर कार्यान्वयन गर्दा बाटाहरु कमजोर भएका हुन् । यति सम्मकी बाटाका अगाडि यति टन भन्दा माथिका गाडी चल्न नपाउने भनेर बोर्ड लगाउनुपरेको छ ।
करिब एक वर्षअघि मार्बल बोकेको गाडीले रेडक्रस मार्गको बाटो भत्काएको थियो । आइतबार मात्रै रेडक्रस मार्ग र न्यूरोड जोड्ने बाटो (नागरिक रेष्टुरेन्ट भएको बाटो) बालुवा बोकेको टिप्परले भत्काएको छ । लु १ क १३५८ नम्बरको टिप्परले बाटोको छेउको भाग भत्काएको हो । टायरको आधा भाग सडकमा गडेको छ ।
यो त एउटा प्रतिनिधि घटना मात्रै हो । कोहलपुर टाउनप्लानिङ्गभित्रका प्रायः बाटाहरु कम गुणस्तरका छन् । कोहलपुरको न्यूरोडकै हालत हेर्ने हो भनेपनि प्रष्ट हुन्छ । न्यूरोडको ठाउँ ठाउँमा भएका खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढेको छ । नगरविकासले न्यूरोडमा टालो हाल्दै बजेट खर्च गरेपनि उपलब्धिमूलक भने हुन सकेको छैन ।
कोहलपुरमा व्यापार, व्यवसाय बढ्दै गएकाले टाउनप्लानिङ्गका बाटाहरु गुणस्तरीय बनाउनुपर्ने व्यवसायीहरुको माग छ । महंगोमा घडेरी विक्री गर्ने तर, बाटाहरु गुणस्तरीय नबनाउँदा व्यवसायीहरु मर्कामा परेको कोहलपुर उद्योग व्यापार संघ अध्यक्ष नरेन्द्र प्रसाद शर्माले बताए ।
‘टाउनप्लानिङ्गमा कुनै व्यवसाय गर्नकै लागि थूप्रै रकम हालेर घडेरी किनेका हुन्छन्’ उनले भने ‘बाटो भत्कियो भनेर व्यवसायीलाई दोष लगाउन पाइदैन, टाउनप्लानिङ्गका सम्पूर्ण बाटाहरु गुणस्तरीय हुनुपर्छ ।’ नगरविकासले अब बाटाहरु बनाउँदा सबै किसिमका लोड बोकेका गाडीहरु चल्न सक्ने बाटो बनाउनुपर्ने उनको भनाई छ ।
यता कोहलपुर नगरविकास समिति अध्यक्ष लक्ष्मणराज पौडेलले पनि टाउनप्लानिङ्गका बाटाहरु कम गुणस्तरीय भएको स्वीकार्छन् । पुरानो योजना अनुसार नै बाटो बनाएका कारण कम गुणस्तरीय भएको उनको भनाई छ ।
आगामी योजनाहरुमा सडकहरु गुणस्तरीय बनाइने उनले बताएका छन् । ‘बरु कम बाटो बनाउने तर, गुणस्तरीय बनाउने योजना ल्याएका छौं’ उनले भने ‘आगामी दिनमा यति टन् भनेर लेखिरहनुपर्ने बाध्यताको अन्त्य हुनेछ ।’

प्रकाशित मितिः सोमवार, जेष्ठ ८, २०७४     2:08:40 PM  |