26 September 2021  |   आइतवार, अशोज १०, २०७८

विद्यार्थीबीच चुनाव

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ ६, २०७४  

बर्दिया, ६ जेष्ठ / सरकारले स्थानीय तहको निर्वाचन गरिरहेका बेला कृष्णसार विद्या निकेतन मैनापोखर बर्दियाले प्रजातान्त्रिक तरिकाबाट विद्यालयमा निर्वाचन गराएको
छ । निर्वाचनका सबै प्रक्रिया पुरा गरी विद्यालयले क्यापटेन र भाईस क्यापटेनको लागि उम्मेद्वारी आह्वान गरी बिधिवत् रुपमा शुक्रबार निर्वाचन गराएको हो ।
निर्वाचनमा क्याप्टेनका लागि कक्षा १० बाट एैन दर्शन श्री रिजाल, अनिष डाँगी, एलिना बराल र बिबेक बि.क. प्रतिस्पर्धामा रहेका थिए । भार्ईस क्यापटेनमा अच्युत खड्का, विकास मण्डल, सन्ध्या भट्टराई, सौगात भट्टराई र स्वरुपराज सुबेदी चुनाबी प्रतिस्पर्धामा रहेका थिए ।
क्यापटेनमा एैन दर्शन श्री रिजालले १ सय ६५ मत ल्याएर विजय भएका छन् भने उनका प्रतिद्वन्द्वी बिबेक बिकले १ सय २२ मत प्राप्त गरेका थिए ।
त्यस्तै भाईस क्यापटेनमा १ सय ३८ मत ल्याएर स्वरुपराज सुबेदी निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी सौगात भट्टराईले १ सय २१ मत प्राप्त गरेका थिए । विद्यालयका प्रबन्ध निर्देशक ईश्वरी प्रसाद रिजालका अनुसार विद्यालयमा निर्वाचन सफल बनाउन प्रिन्सिपल नगेन्द्र भण्डारीलाई निर्वाचन अधिकृत र भाईस प्रिन्सिपल ओम प्रसाद तामाङलाई मतदान अधिकृत र विद्यार्थीहरुबाट पर्यवेक्षकहरु तोकी निर्वाचन गराइएको थियो । उनका अनुसार विद्यार्थी(मतदाता)हरुलाई मतदाता शिक्षा दिइएको, उमेद्वारहरुको चुनाव चिन्ह सहित मतपत्र र मतपेटीका पनि बनाइएको थियो ।
विद्यालयका प्रिन्सिपल तथा निर्वाचन अधिकृत नगेन्द्र भण्डारीले निर्वाचन र निर्वाचनको प्रक्रियाका बारेमा विद्यार्थीहरुलाई सिकाउन विद्यालयमा निर्वाचन गराइएको बताए ।
त्यस्तै विद्यार्थीहरुलाई निर्वाचन भनेको के हो ? निर्वाचन कसरी हुन्छ ? मतदाता नामावली कसरी प्रकाशित गरिन्छ ? र उमेद्वार भनेको के हो भन्ने कुराको जानकारी दिनको लागि पनि विद्यालयमा निर्वाचन गराइएको विद्यालयका भाईस प्रिन्सिपल तथा मतदान अधिकृत ओम प्रसाद तामाङले बताए ।
निर्वाचनबाट निर्वाचित क्यापटेन र भाईस क्यापटेनले विद्यालय र विद्यार्थीहरुको हक हितको लागि काम गर्ने प्रतिवद्धता जनाएका छन् । विद्यालयको निर्वाचनबाट निर्वाचन भए पछि उनीहरुलाई विद्यालयले छात्रवृत्ति पनि दिने गरेको छ ।
विद्यालयमा यसरी निर्वाचन गराउँदा विद्यार्थीहरुले निर्वाचन प्रक्रियाका बारेमा जानकारी पाएका छन् । ४ सय १० जना विद्यार्थी (मतदाता) रहेकोमा ३ सय ९९ मत खसेको थियो भने १ मत मात्रै बदर भएको जनाइएको छ ।

प्रकाशित मितिः शनिबार, जेष्ठ ६, २०७४     12:55:58 PM  |