19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

हराउँदै पठन संस्कृति

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख २५, २०७४  

कोहलपुर, २५ बैशाख  / घोराहीको ब्यस्त बजार गौतमनगर टोल । बाटो माथि वर्षौं पुरानो लाग्ने परम्परागत सेतो घर । त्यो घर जिल्लाकै सबैभन्दा पुरानो सर्वोदय पुस्तकालय तथा वाचनालय हो । पुस्तकालयभित्रका पुस्तकहरु पाठक खोज्छन् । तर, मानिसहरु भने छिटफुट बाहेक प्राय सुनसान रहन्छ ।
दराजहरुमा सजाएर राखिएका पुस्तकहरु जस्ताको तस्तै छन् । कोही आउँदैनन् । खोज्दैनन् । पढ्ने पाठकहरु नआएका कारण ती पुस्तकहरु सजावटका लागि मात्र भएझै देखिन्छन् । ४ हजार भन्दा बढी पुस्तकहरु अहिले त्यतिकै थन्किएझैं लाग्छन् । पुस्तकहरुप्रति मानिसहरुको आकर्षण कम हँुदै गएको देखिन्छ । जसका कारण महत्वपूर्ण पुस्तकहरु भित्रको ज्ञान गुमनाम छ । पाठकहरुले पुस्तक खोज्ने समयमा पुस्तकहरुले पाठक खोजिरहेको भान हुन्छ ।
जिल्लाको सबै भन्दा पुरानो पुस्तकालयका रुपमा रहेको सर्वोदयमा महत्वपूर्ण पुस्तकहरु छन् । नेपाली साहित्य, ऐतिहासिक पुस्तकहरु, राजनीतिक दस्ताबेज तथा पुस्तकहरु, बाल साहित्य र अन्तर्राष्ट्रिय पुस्तकहरु सहित दैनिक पत्रपत्रिकाहरु सर्वोदयमा संकलित अवस्थामा छन् । तर, त्यसको उपयोग भने हुन सकेको छैन । पुस्तकको महत्व अझै कम नहुँदा नहुँदै पनि सर्वोदय भने सुनसान अवस्थाबाटै गुज्रिदै आइरहेको छ । सुचना केन्द्रको रुपमा विकास भएको सर्वोदय बजारको प्रमुख केन्द्रमा भए पनि पाठकको आँखामा पर्ने गरेको छैन ।
पुस्तकालयकी परिचारिका लक्ष्मी गुप्ताले काम गर्न थालेको ७ महिना भयो । तर, साँच्चिकै पुस्तक पढ्न वा पुस्तक खोज्न आउने गरेको उनलाई थाहा छैन ।
सर्वोदय पुस्तकालयको राम्रो उपयोग स्थानीय बालक्लवले गरिरहेको छ । फ्रेन्स बालक्लवको प्रत्यक्ष निगरानी रहदै आएको पुस्कालयमा क्लवकै सहयोगले धेरै बालबालिकाहरुको उपस्थिति हुन्छ । तर, बालबालिकाहरु शनिबार बढी उपस्थित
हुन्छन् ।
अन्य बार विद्यालयको समय हुने भएकाले पुस्कालय प्रायः सुनसान देखिने गरेको बाल क्लवका सदस्य अमृत नेपालीले बताए । ‘बालबालिकाहरुले अरु किताब पढ्ने सक्दैनन् । उनीहरुले बाल साहित्यका किताबहरु बढी खोज्छन् ।’
सर्वोदय पुस्तकालयको जन्म हुँदा देशमा भर्खर प्रजातन्त्रको सुरुवात भएको थियो । देशमा प्रजातन्त्रको सुरुवातसँगै चेतना र सामाजिक सोचमा परिवर्तनको खाँचो थियो । शिक्षा र चेतनाको आवश्यकता महसुस गरेर दाङका तत्कालिन सचेत व्यक्तिहरुको पहलमा सर्वोदय पुस्तकालयको स्थापना भएको थियो । नारायण गुरु उर्फ नारायणप्रसाद शर्मा नेतृत्वको तत्कालिन समूहले पुस्कालयको स्थापना गरिएको हो । साढे १५ धुर जग्गामा निर्माण गरिएको घरमा ऐतिहासिक पुस्तकहरुको भण्डार छ । पुस्कालयका संस्थापक अध्यक्ष नारायणप्रसाद शर्मा बेला–बेला गुनासो गर्नुहुन्छ । ६४ वर्ष पुरानो पुस्कालय अहिले क्रमशः धरासायी बन्दै गएको प्रति संस्थापकहरु चिन्तित हुनु स्वभाविकै हो । तर, त्यसलाई समय सापेक्ष बनाउन कसैको पहल भएन भन्छन् शर्मा । ‘जमाना कहाँबाट कहाँ पुगिसक्यो । डिजिटल दुनियामा हो यो । कसैलाई किताब पढ्ने फुर्सद छैन’, शर्मा भन्छन् ‘यस्तो अवस्थामा पुस्तकालयको स्वरुप र सेवामा परिवर्तन आवश्यक छ ।’
पुस्तक पढ्ने संस्कृति हराएर गएको लेखक तथा साहित्यकारहरु बताउँछन् । ‘अहिले सबैको हातहातमा स्मार्ट फोन छ । एक क्लिकको भरमा संसार पढ्न पाउने सुविधा हुँदाहुँदै पुस्कालयमा पुगेर पुस्तक पढ्न को जानु ?’ कवि टीकाराम उदासीले भने, ‘खोज, अनुसन्धान गर्नेहरुले ईन्टरनेटमा नपाउने विषय थाहा पाउन मात्र पुस्तकालय जाने अवस्था आयो ।’ पुस्तकालयमा बालबालिकाहरुको उपस्थिति बढी देखिन्छ भने युवा पुस्ता ईन्टरनेटका खोज गर्न चाहेको देखिन्छ । पुरानो पुस्ता पुस्तकालयसम्म पुगेर अध्ययन गर्ने अवस्थामा छैन ।
कुरा सर्वोदय पुस्तकालय तथा वाचनालयको मात्र होइन । सम्पूर्ण पुस्तकालयको अवस्था करिब–करिब उस्तै छ । पुस्तक पढ्ने संस्कृतिको विकास नहुनु एकातिर समस्या छ, भने अर्को्तिर डिजिटल प्रविधिको जमानामा पुस्तक पढ्ने फुर्सद कसैलाई छैन । यस्तो अवस्थामा पुस्तकालयको स्वरुपमा परिवर्तन गरी प्रविधियुक्त बनाउनुपर्ने जानकारहरु बताउँछन् । तर, त्यसका लागि सर्वोदय पुस्तकालयहरुले मात्र परिवर्तन गर्न सक्ने अवस्था छैन । त्यसमा स्थानीय जिम्मेवार निकायहरुले प्राथमिकतामा पार्नु जरुरी देखिएको छ ।

प्रकाशित मितिः सोमवार, बैशाख २५, २०७४     1:17:21 PM  |