4 March 2021  |   बिहिबार, फाल्गुन २०, २०७७

गर्मीले जनजीवन प्रभावित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख २५, २०७४  

चिसो पेय पदार्थको माग बढ्यो

कोहलपुर, २५ बैशाख  / उखरमाउलो गर्मीका कारण बाँकेको जनजीवन दिनप्रतिदिन प्रभावित हुँदै गएको छ । दिउँसोको समयमा बजारहरु पनि सुनसान जस्तै हुने गरेका छन् । बजारमा मानिसहरुको चहलपहल कम हुन थालेको छ ।
पछिल्लो समय गर्मी ह्वात्तै बढेपछि जीवनयापनमा समस्या देखा परेको छ । करिब ४० डिग्री सेल्सीयसको हाराहारीमा तापक्रम पुगेको छ । आइतबार नेपालगञ्जको न्युनतम तापक्रम २३ डिग्री सेल्सीयस थियो भने अधिकतम तापक्रम ३९ डिग्री सेल्सीयस रहेको मौसम विभागले जनाएको छ ।
प्रचण्ड गर्मीका कारण पछिल्ला दिनहरुमा मानिसहरु अत्यावश्यक काममा मात्रै बाहिर निस्कने गरेका छन् । बढ्दो गर्मीले मानिसहरु बजार आउन छाडेपछि व्यापारी, यातायात व्यवसायीहरु पनि मर्कामा परेका छन् । अन्य व्यवसायीलाई यसको मारमा परेपनि चिसो पेय पदार्थ विक्री गर्ने व्यवसायीहरु भने लाभान्वित भएका छन् ।
गर्मीयाम बढ्दै गएपछि चिसो पेय पदार्थको माग ह्वात्तै बढेको छ । कोहलपुर, नेपालगञ्ज बजारका चोक चोकमा लस्सी, आइसक्रिम, उखुको जुस लगायतका चिसो पेय पदार्थका अस्थायी पसलहरु, ठेलाहरु पनि राखिएका छन् ।
कोहलपुर बसपार्कमा आइसक्रिम बिक्री गर्ने नौवस्ताका खिमराज बुढाले आइसक्रिमको माग बढेको बताए । आइसक्रिम बेचेर दैनिक पच्चीस सय बढी आम्दानी हुने गरेको उनी बताउँछन् । अन्य समय मिस्त्री काम गर्ने उनले गर्मीयाम लागेसँगै आइसक्रिमको व्यापार गर्ने गरेको बताए । त्यस्तै कोहलपुर चौराहामा लस्सी विक्री गर्ने कोहलपुर मदनचोकका प्रेम बहादुर थापाको ठेलामा लस्सी पिउनेको भिड हुन्छ । जाडोयाममा फलफुल, तरकारी विक्री गर्ने उनले गर्मीयाममा लस्सीको व्यापार गर्ने गरेको बताए । उनले दैनिक कम्तीमा चार हजार आम्दानी हुने गरेको बताएका छन् ।
गर्मी याम लागेसँगै नेपालीहरु मात्रै होइन भारतीयहरु पनि चिसो पेयपदार्थको विक्री गर्न यस क्षेत्रमा आउने गरेका छन् । भारतको नवावगञ्ज बस्ने रियाज खान उखुको जुसको व्यापार गर्छन् । कोहलपुर एनटिभीरोडमा व्यापार गर्ने उनले दैनिक ३ हजार रुपैंया आम्दानी गर्छन् । जाडोयाममा भारतस्थित एक होटलमा काम गर्ने गरेको उनी बताउँछन् । गर्मी हुने वित्तिकै चिसो पेय पदार्थ अधिक पिउने बानी पनि हुने गर्छ । त्यो बानी भने स्वास्थ्यमा हानी पु¥याउने सक्ने चिकित्सकहरु बताउँछन् । ‘रेडिमेड’ चिसो
पेय पदार्थ पिउँदा सचेत हुनुपर्ने चिकित्सकहरुको सुझाव छ ।

प्रकाशित मितिः सोमवार, बैशाख २५, २०७४     1:07:23 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *