कनोडिया पेट्रोल पम्पमा पुनः सिल



कोहलपुर, २० बैशाख / कोहलपुर १२ चप्परगौडीस्थित कानोडिया अटोमाबाईल्स पेट्रोल पम्पमा पुनः सिल गरिएको छ । पम्पबाट तोकिएको परिमाण भन्दा कम तेल दिएर उपभोक्ता ठगी गरेको भन्दै अटोमोबाइल्सको एउटा पम्पमा मंगलबार सिल गरिएको हो ।
उपभोक्ताको उजुरीपछि चेकजाँच गर्दा कम तेल दिएर उपभोक्ता ठगि गरिरहेको भेटिएपछि पम्प सिल गरिएको गुणस्तर तथा नापतौल क्षेत्रिय कार्यालय नेपालगञ्जका प्रमुख शम्भु कुमार झाले बताए ।
‘१० लिटर पेट्रोल चेक गर्दा ५५० मिलिलिटर घटी देखियो’ झाले भने ‘उपभोक्ता ठगि गरेको देखिएपछि सिल गरेका हौं ।’
पम्प खोलेर अनुसन्धान गर्ने भनिएपनि पम्पको साँचो सञ्चालक सञ्जय कानोडियाले लिएर बाहिर गएका कारण सिल गरिएको हो । सञ्चालककी श्रीमतीले साँचो सञ्जयसँग भएको बताएपछि अनुगमन टोलीले सिल गरेर अनुसन्धान अगाडि बढाएको छ ।
‘सञ्चालक साँचो लिएर आएपछि मात्रै अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाउँछौं’ झाले भने । गुणस्तर तथा नापतौल क्षेत्रिय कार्यालय नेपालगञ्ज र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले पम्पको अनुगमन गरेको थियो ।
बाँकेका केही पेट्रोल पम्प सञ्चालकहरुले चिप्सको प्रयोग गरी कम पेट्रोलियम पदार्थ विक्री गर्ने गरेका छन् । यसअघि पनि कनोडिया पेट्रोल पम्पमा कम तेल दिने गरेको भन्दै पम्प सिल गरिएको थियो । त्यस्तै तोकिएको परिमाण भन्दा कम तेल दिने बाँकेका अन्य केही पेट्रोल पम्पहरु पनि सिल गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ वैशाख २० गते बुधबार