19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

विद्यालयमा घोडालाई बोकाएर ल्याइन्छ पानी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, चैत्र २१, २०७३  

विद्यालयमा घोडालाई बोकाएर ल्याइन्छ पानी

सल्यान ,चैत्र २१ / सल्यान कुमाख मालिका गाउँपालिका-७ जिमाली विर्केनेटीमा रहेको विर्केनेटी आधारभुत विद्यालयले घोडालाई पानी बोकाएर विद्यालय मर्मत गरिरहेको छ ।

विद्यालयदेखि झण्डै एक किलोमिटर तलबाट घोडाले बोकेर ल्याएको पानीले विद्यालयको मर्मतको काम भैरहेको विद्यालयका प्रधानाध्यापक डिल्लीबहादुर बुढाथोकीले बताउनुभयो । गएको वर्षको हावाहुरीले विद्यालय भवनलाई जिर्ण बनाएपछि अहिलेसम्म पनि विद्यालयले भवन मर्मत गर्न सकिएको थिएन ।

घोडाले एकपटकमा दुईघण्टा लगाएर ७० लिटर पानि ल्याउँछ र १ सय ५० रुपैयाँ लैजान्छ । एक दिनमा एउटा घोडाले ३ सय ५० लिटर पानी बोक्ने गरेको बुढाथोकीले बताउनुभयो । ‘दिनमा ३ वटा घोडाले पानी बोक्छन्’ उहाँले भन्नुभयो, ‘खोलोको पानी भनेर के गर्नु दैनिक प्रति लिटर साढे दुई रुपैयाँका दरले पानी किनेर विद्यालय मर्मत गरिरहेका छौँ ।’

विद्यालय मर्मतका लागी सेभ द चिल्ड्रेनसँगको साझदोरीमा संचालित एकीकृत परियोजना अन्तर्गत सबैका लागि सिकाइ कार्यक्रमले झण्डै २ लाख रुपैयाँ सहयोग गरेको उहाँले बताउनुभयो । ‘मानिसले एक किलोमिटर टाढाबाट बोकेको पानीले विद्यालय मर्मत गर्न सम्भव भएन’ उहाँले भन्नुभयो, ‘विद्यालयको श्रोत नहुँदा जनश्रमदानले सिमेन्ट, वालुवा विद्यालयसम्म लैजान नै हैरान छ ।’

‘विद्यालयको श्रोत निजीश्रोत शिक्षकहरुलाई तलव खुवाउन नै ठिक्क हुन्छ’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीले भन्नुभयो, ‘श्रोत जुटाउन नसक्दा विद्यालयका दुईवटै जिर्ण भैसकेका भवनहरुलाई मर्मत गर्न सकेका थिएनौँ ।’ अहिले कार्यक्रमको सहयोग र अविभावकहरुको जनश्रमदानले विद्यालय मर्मत सम्भव भएको उहाँले बताउनुभयो ।

विद्यालय मर्मत अन्तर्गत बाहिरी र भित्रि प्लास्टर, छाना अड्याउने र रङ्ग लगाउने काम भैरहेको उहाँले बताउनुभयो । विद्यालयमा पिउने पानीको समेत उचित व्यवस्था नहुँदा विद्यार्थीले पिउने पानी घरबाटै ल्याउने गरेको विद्यालयले जनाएको छ । ‘दिनमा कार्यालय सहायकले तीन घण्टा लगाएर पानी बोक्छन्’ विद्यालयका प्रधानाध्यापक बुढाथोकीले भन्नुभयो, ‘विद्यार्थीले चाँही पिउने पानी घरबाटै बोकेर ल्याउँछन् ।’ कक्षा ८ सम्म सञ्चालित विद्यालयमा डेढ सय विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित मितिः सोमवार, चैत्र २१, २०७३     1:54:52 PM  |