23 September 2021  |   बिहिबार, अशोज ७, २०७८

कैलालीमा प्राकृतिक ताल सुक्दै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, फाल्गुन २२, २०७३  

कैलाली, २२ फागुन / कैलाली बसन्ता जैविक मार्गमा रहेको रखौना र आसपासको ठूला प्राकृतिक ताल सुख्खा याम नलाग्दै सुकेका छन् । माछा पालन गरेर ताललाई आम्दानीको रुपमा सदुपयोग गर्ने पक्षले जथाभावी दोहन गरेपछि हिउँदमै प्राकृतिक तालहरु सुकेका हुन । ठेकेदारले माछा मार्नका लागि पानी फाल्ने गरेकाले हरेक वर्ष यी तालहरु हिउँदमै
सुक्ने गरेको स्थानीयबासीको भनाइ छ ।
माछा पालन गर्ने ठेकेदारले आफू अनुकूल पानी राख्ने र सुकाउने गरेपछि बसन्ता जैविक मार्गमा महत्वपूर्ण मानिने यी सीमसार क्षेत्र नासिने खतरा पनि बढेको छ । तालतलैयाको जिल्ला भनेर चिनिने कैलालीको बसन्ता जैविक मार्गमा मात्रै दशक अगाडि १ सय १५ वटा प्राकृति ताल रहेका थिए । जसमध्ये हाल कतिपयको अस्तित्व समाप्त भइसकेको छ ।
ताललाई आम्दानीको रुपमा सदुपयोग गरिए पनि संरक्षणमा ध्यान नदिंदा नाशिने खतरा बढ्दै गएको स्थानीय संरक्षणकर्मी हिरुलाल डङ्गौराको भनाइ छ । वन तथा वन्यजन्तु र सिमसारको संरक्षण गर्ने उद्देश्यका साथ बसन्तालाई २०६४ सालमा संरक्षित क्षेत्र घोषणा गरिए पनि संरक्षण हुन सकेको
छैन ।

प्रकाशित मितिः आइतवार, फाल्गुन २२, २०७३     1:07:50 PM  |